वासिङटन वैशाख २८ ,
अमेरिकाकी प्रथम महिला मिसेल ओबामाले नाइजेरियामा हालै भएको सामूहिक अपहरणको घटनालाई पढाइ जारी राख्न चाहने संसारभरका बालबालिकाले भोगिरहेका अनेकन धम्की र अवरोधको ठूलो पाटो भएको बताएकी छन् ।
गत १४ अपि्रलमा २ सयभन्दा बढी बालबालिकाको अपहरणको घटनाबाट आफू र श्रीमान् बराक ओबामा दिक्क र मर्माहत भएको उनले भनेकी छन् । साप्ताहिक राष्ट्रपतीय सम्बोधनमा उनी श्रीमान्को साटो बोल्दै थिइन् । आफूलाई इस्लाम धर्मको रक्षक बताउने विद्रोही समूह बोको हरामले उक्त अपहरण गरेको दाबी गरेको छ ।
उनीहरू पश्चिमा शिक्षाको विरोध गर्दै आएका छन् ।
अमेरिकामा आइतबार मनाउन लागिएको मातृ दिवसको पूर्वसन्ध्यामा ओबामाले अपहरित बालिकाहरू आफू र ओबामाका लािग आफ्नै छोरीजस्तै भएको धारणा राखिन् । 'नाइजेरियामा भएको यो घटनालाई अलग राखेर हेर्न सकिन्नँ, यो दैनिक जोखिम मोलेर विद्यालय जाने विश्वभरका सम्पूर्ण बालिकाको कथा हो,' उनले भनिन् ।
उनले उक्त अवसरमा तालिवानको गोली प्रहारबाट घाइते भएकी पाकिस्तानकी बालिका शिक्षा अभियन्ता मलाला युुसुफजाईको पनि उदाहरण दिइन् । उनी र उनीजस्ता विश्वभरका बालबालिकाले एकजुट भएर आवाज उठाउने बेला भएको ओबामाले जोड दिएर भनिन् ।
ती बालिकाको रिहाइका लागि अभियान चलाएकी ओबामाद्वारा विदेश नीतिलाई लिएर दिइएको यो सम्बोधनलाई असाधारण मानिएको छ । साप्ताहिक सम्बोधनमा श्रीमान्सँग देखिँदै आए पनि उनले यसअघि बोलेकी थिइनन् ।
उनले यो साता एक प्ले कार्डमा 'हाम्रा नानीलाई फिर्ता गर' सन्देशसहित ट्वीटेकी थिइन् । राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि उक्त घटनाप्रति आक्रोश व्यक्त गर्दै बोको हरामविरुद्ध उचित कदम चाल्ने भनेको छ । अमेरिका उक्त समूहमाथि राष्ट्रसंघीय प्रतिबन्ध लगाउने प्रयासमा छ । बीबीसी :