गज़ल : By, कोमल प्रसाद भट्ट


गज़ल :

समयले धुरुधुरु,रुवाएरै छाड्यो आज
मुटु छेड्ने तीखा वाण,चलाएरै छाड्यो आज

नभए झैं भयो अव,रवि शशि आकाशमा
नयनको ज्योति पनि,हराएरै छाड्यो आज

ठप्प भइन् धर्ती माता,चल्न फिर्न बिर्से जस्तै
हराभरा प्रकृति नि,निदाएरै छाड्यो आज

वगैंचा नै शून्य भयो,चकमन्न छायो सबै
निर्दयीले फूलको बोट,सुकाएरै छाड्यो आज

सुनामी भै उर्लिएर,ढाकी दियो प्रलयले
सारा खुसी सारा हाँसो,बगाएरै छाड्यो आज

स्वर्ग जस्तो संसार त्यो,भताभुङ्ग पार्यो जम्मै
नियतिले कठोरता,देखाएरै छाड्यो आज

कैयौं कैयौं आशाहरू,थिए होलान् संगालेका
अधर्मीले धूलो पिठो,बनाएरै छाड्यो आज

दैव कति निष्ठुरी भो,रिझिएन पूकाराले
लगी हाल्यो चट्ट चुँडी,रिसाएरै छाड्यो आज

कोमल प्रसाद भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल :-न्युयोर्क, अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com