कबिता, आमा '' : By, कल्पना राई"ख़ुशी"



कबिता:-आमा

एक थोपा "म"
अस्तित्व बिहिन मेरो पहिचान 
नौ महीना सम्म निरन्तर
आफ्नै ढुकढुकिको कंम्पन्नले 
स्वर्ग रूपी गर्भको चौतारीमा ओथारेर
ममताको स्पर्शहरुले पटक पटक 
ओल्टाई कोल्टाइ ……ओथार्दै
एउटा प्राणीलाई जन्म दिन्छिन
तत्पश्चात उनि हुन्छिन मेरी "आमा"
हो,आमा…….
अनि म उनैको सन्तानI

उनैको पदचाप पछ्याइ हिड्ने म 
उनैको फरिया समातेर हिड्ने म 
उनैको वरपर रुदै हाँस्दै खेल्ने म 
उनैको आदर्श र स्वाभिमानले 
उनैको ज्ञान र शिदान्तले 
आज,……
हो!आज पूर्ण रुपले एउटा मान्छे भएको छुI
गर्व गर्छु मेरी आमा प्रति ……

जब-जब कोक्रोमा मलाई छोडेर मेरी आमा 
मेला र पर्म जानुहुन्थ्यो 
घाँस र दाउरा गर्नु हुन्थ्यो
त्यही बाट सिकें संघर्ष र त्याग मैले ……

जब साँझ बिहान अंगेनाको वरिपरी
बालबच्चा राखी दुःखको छाक बाड्नु हुन्थ्यो
आफ्नो भोक लुकाई हाम्रो पेट भर्नु हुन्थ्यो 
त्यही बाट सींके आत्म सन्तुष्टि र धैर्यता मैले………

कहिले काँहि न्याय निसाफ गर्नु पर्दा 
हित्त चित्त शुद्ध गरी
राष्ट्र र समाजको हित बोल्नु हुन्थ्यो जब ………
त्यही बाट सींके धर्म र कर्तब्य मैले………

हो,यिनै अमूल्य पाठहरु
यिनै अमूल्य जीवन दर्शनहरु 
यिनै स्वर्णिम क्षणहरु 
मन मुटु र मस्तिष्कको कुना काप्चामा भरेर 
जब आफुलाइ उभ्याउछु 
लाग्छ संसार जितेर 
मेरी आमाको पाउमा चढाउँन सक्छु 
आकाश झारेर 
मेरी आमालाई ओढाउन सक्छु 
मरूभूमी सिचेर हरियाली भर्न सक्छु 
त्यसैले त!
गर्व गर्छु मेरी आमा प्रति ……

कल्पना राई"ख़ुशी"
दोलखा नेपाल
हाल  दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com