साँचो सुन्दरता आत्मविश्वासबाट उत्पन्न हुन्छ-जेसिका I

काठमाडौ वैशाख ४ ,

सुन्दरता वास्तवमा हो के ? बाहिर देखिने आवरण वा आन्तरिक/मानसिक स्वच्छता ? सुन्दरताका लागि कहलिएकी जेसिका अल्बा दोस्रो विकल्प रोज्दी रहिछन् । उनको विचारमा सुन्दरता र आत्मविश्वास एकअर्काका पर्याय हुन् । 

आत्मविश्वास सकारात्मक सोचबाट आउँछ । सकारात्मक सोच भनेकै स्वच्छ मानसिकता हो नि, हैन ? 'सुन्दर देखिनको लागि हामी सबैले आफ्ना असल कर्महरूमा मन लगाउनुपर्छ,' आफूलाई नराम्रा ठान्ने महिलाहरूका लागि मागिएको टिप्सबारे ३२ वर्षीया अभिनेत्रीले भनेकी छन्, 'नकारात्मक विषयहरूबारे नसोच्नुस् । आफूले मन पराउने, माया गर्ने व्यक्तिहरूसँग बिताएका मिठा क्षणहरूको सम्झना गर्नुस् । सबैले राम्री भनून् भन्ने चाहनुहुन्छ भने, त्यस्तो रंगरूप पाउन कडा मिहिनेत गर्नबाट नतर्सिनुस् । तर सुत्ने बेला सधैं आफ्ना राम्रा विशेषतालाई स्मरण गर्ने गर्नुस् । 

किनकि, साँचो सुन्दरता आफ्नै आत्मविश्वास, खुसी र दयालुताबाट उत्पन्न हुने गर्छ ।' दुई छोरीकी आमा जेसिका हलिउडका मादक महिलाहरूमा गनिने गरेकी छन् । उनका अनुसार, उनी जहिले फिट देखिनुको रहस्य त्यो पाउन वर्षौंदेखि गरिएको कठिन परिश्रम हो । उनले भनेकी छन्, 'मेरो जीउडाल मैलाई चाहिँ त्यति राम्रो लाग्दैन । तर सुहाउँदो पहिरनले शरीरको अस्वाभाविकतालाई ढाक्ने गरेकी छु । आफूलाई सुहाउँदो पहिरन छान्न पनि वर्षौं लाग्छ । म योगासन र व्यायाम पनि गर्ने गर्छु, नाच्छु । स्वस्थ खानेकुरा र पर्याप्त पानी खान्छु । शरीर राम्रो बनाउन कम्तीमा म यति प्रयास त गर्छु नि, तपाईं पनि गर्नुस् ।'

जीवनमा अगाडि बढ्न आत्मविश्वासको कति महत्त्व हुन्छ भन्नेबारे जेसिकालाई पनि कम थाहा छैन । १३ वर्षको उमेरमै अभिनय यात्रामा हिँडेकी उनलाई आफूमा विश्वास गर्दै गरिएको मेहनतले नै यो स्थानमा पुर्‍याएको हो । ओस्कार जस्तो कुनै ठूलो अवार्ड अहिलेसम्म नपाए पनि उनको अभिनयको तारिफ हुँदै गरेको छ । उनलाई कामको खाँचो छैन । सन् २०१४ मा मात्रै उनी अभिनीत तीन फिल्म पोस्ट प्रोडक्सनमा छन् भने, दुइटाको सुटिङ चलिरहेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com