सुर्खेतबाट पहिलो महिला पाइलट धेरै खुसीछु - सृजना रावत I

केही समय पहिले साउथ अफ्रिकाको जोनेशवर्गबाट पाइलट कोर्ष पास गरेर भरखरै मात्र नेपाल वायु सेवा निगमको को–पाइलटमा नाम निकाल्न सफल, सुर्खेत जिल्लाबाट पहिलो महिला पाइलट हुन सफल भएकी पिता धनबहादुर रावत माता तारा रावतकी एक मात्र सुपुत्री सूश्री सृजना रावतसँग  गरिएको अन्तरंग कुराकानी......

Ø तपाईलाई पाइलट बन्ने सोच कसरी आयो ? कसको प्रेरणाले यो विषय पढ्नु भयो ?

म सानो हुँदा आकाशमा उडिरहेको जहाजलाई हेरी राख्थे । त्यो जहाड त्यति ठूलो छ कसरी आकाशमा सजिलै उड्न सक्छ भन्ने लाग्थ्यो मलाई । मेरो ड्याडीले म सानो हुँदा देखि नै छोराले गर्न सक्ने काम छोरीले पनि गर्न सकोस् भन्ने इच्छा राख्नुहुन्थ्यो । हो त्यही ड्याडीको इच्छा पुरा गर्नका लागि पाइलट पढ्ने इच्छा मेरो मनमा पलाएको हो । प्रेरणा भन्दा पनि ममी ड्याडीको इच्छा र मेरो चाहाना भएकोले यो विषय बढ्ने योजना बन्यो । जुन आज सफल पनि भएको छ ।

Ø यो अवस्थामा आइपुग्न कत्तिको संघर्ष गर्नु प¥यो ?
मान्छेले जुनसुकै कुरा प्राप्ती गर्दा संघर्ष त गर्नु नै पर्दछ । पढाइको लागि मैले त्यति संघर्ष गर्नु परे जस्तो लाग्दैन । मेन्टेन्लि संघर्ष त धेरै नै भयो । पारिवारिक वातावरणले गर्दा मैले गर्नुपरेका संघर्षहरुलाई सहज बनाइदियो । जसका कारण पाइलट पास गर्दा समेत त्यति धेरै दुःख कष्ट भोग्न परेन मलाई ।

Ø पाइलट पढेपछि रोजगारी निश्चित छैन भन्ने गरेको सुनिन्छ , के यो साँचो हो ?
हो , यो साँचो नै हो । नेपालमा जति धेरै पाइलटहरु छन् त्यति धेरै जहाजहरुको संख्या छैन । त्यसको लागि नेपाल सरकारले ध्यान दिनु पर्ने हो । अरु देशहरुमा हेर्ने हो भने पाइलट भन्दा जहाज धेरै हुन्छन् तर हाम्रो देशमा हजाज भन्दा पाइलटहरु धेरै भएको कारण रोजगारीको निश्चित नभएको कुरा सत्य हो ।

Øसानो उमेरमा पाइलट बन्नु भएको छ कस्तो लागेको छ ?
मैले जुन लक्ष्य र उद्देश्यका साथ मिहेनत गरेर पढेकी थिएँ । आज त्यसको फल पाएकी छु । आफूले गरेको दुःखको फल पाउँदा हर्ष त लाग्छ नै । मैले अझै धेरै गर्न बाँकी पनि छ । भरखर त पाइला टेकेको महसुस हुदैछ । मलाई पाइलट भएको हेर्ने चाहाना बोक्नु भएको मेरो ड्याडी–ममी र मेरा शुभचिन्तकहरुले व्यक्त गर्नुभएको खुसीले मलाई अझ बढि हर्षित तुल्याएको छ ।

Øतपाई सानो उमेरका साथै महिला पनि, पाइलट बन्न गाह्रो लागेन ?
आफूले कहाँ र कसरी कस्तो व्यवहार गर्नुपर्छ भन्ने बुझेपछि महिला र पुरुष कसैैलाई पनि फरक पर्दैन । विद्या हाँसिल गर्नका लागि सानो–ठूलो, उमेर–लिंङ्ग, जात–भात, कालो–गोरो, महिला–पुरुष, धनि–गरिब भन्दा पनि व्यक्तिको दक्षता र क्षमतामा भर पर्छ । यसकारण सानो उमेरमा अनि महिला भएर पनि पाइलट बन्नमा मलाई डर होइन गर्व लागेको छ ।

Øतपाईले पाइलट पेशा नै किन रोज्नु भएको ?
पेशामा पाइलट पेशा पनि नराम्रो होइन । मैले अघि नै भने मेरो ड्याडीको चाहाना पूरा गर्नका लागि मलाई यो पेशा नै सबैभन्दा उपयुक्त लाग्यो । पाइलट भन्ने चाहाना राखेपछि दिन प्रतिदिन म यो पेशा प्रति आकर्षित हुदै गए । इच्छाशक्ति भएकै कारण मैले रोजेको पेशामा म सफल भए भन्ने लाग्छ मलाई ।

Ø हवाइ यात्राका लागि नेपालको आकाश असुरक्षित छ भन्ने कुरा मिडियामा आइरहेका बेला तपाईलाई पाइलट बन्न डर लागिरहेको छैन ?
मलाई डर लागेकै छैन । बरु मेरो काँधमा पनि एउटा जिम्मेवारी आएको छ । जुन मैले पुरा गर्नुछ । किनकी जहाँ चाहाना छ त्यहाँ डर हुँदैन । भनिन्छ जो घोडा चढ्छ उ लड्छ तर सबै घोडा चढ्नेहरु लड्दैनन् । आकाश सुरक्षित र असुरक्षित भन्ने पनि हुदैन जस्तो लाग्छ । आकाश भनेको सबै एउटै हो त्यो चाहे नेपालको होस चाहे अमेरिकाको होस् । तर अलिकति फरक पर्ने भनेको मौसमको कारण, भूगोलको कारण पनि हो । 

नेपालीहरुले त्यसमा बढि ध्यान दिन जरुरी छ जस्तो लाग्छ मलाई । अचानक हुने घटना भनेको आकाशमा मात्र होइन धर्तिमा पनि हुन्छ । के एउटा गाडी दुर्घटना भयो भन्दैमा अरु गाडि नै नगुडाउने त ? गुडाउन पर्छ । त्यो गाडि दुर्घटना हुनाका कारणहरु के के हुन् । तिनीहरुलाई पत्ता लगाउनु प¥यो । त्यसको न्यूनिकरण गर्नु प¥यो । त्यसैले मलाई लाग्छ नेपालको आकाश असुरक्षित र अन्य देशको आकाश सुरक्षित त्यसो छैन होला । आकाश एउटै हो जुन जहिले पनि सुरक्षित छ । त्यसैले मलाई डर भन्ने त छदैछैन ।

Ø तपाई केही महिनापछि पहिलो उडान भर्दै हुनुहुन्छ । नेपालमा हुने हवाइ दुर्घटनालाई कम गर्न चालकको भूमिका कति हुन्छ जस्तो लाग्छ ?
हवाई दुर्घटना कम गर्नमा चालकको भूमिका हुँदै हुँदैन भन्न मिल्दैन । पाइलटले उडान भर्नु भन्दा अगाडी राम्ररी ग्राउण्ड प्रिपेरेशन गर्नुपर्छ । मौसमको बारेमा राम्रो जानकारी लिनुपर्छ । यो मौसममा जहाज उड्न सक्षम छ कि छैन भन्ने बारे राम्ररी सोच विचार गर्नुपर्छ ।  अध्ययन गर्नुपर्छ । त्यसले गर्दा एकातिर जहाज उडानमा सहजता आउछ भने अर्कोतिर जहाजलाई पु¥याउनु पर्ने गन्तव्य स्थानमा सजिलै पु¥याउन सकिन्छ । 

त्यसकारण हवाई दुर्घटना कम गर्नमा पाइलटको भूमिका त रहन्छ नै । पाइलट पनि मान्छे हो । उसको पनि मन हुन्छ । उसलाई पनि बाँच्ने रहर हुन्छ । आकाशमा हुने सबै दुर्घटना पाइलटकै कारणले गर्दा मात्र हुन्छ भन्ने चाँही होइन । मेसिनरी गडबढीको कारण, मौमसमा आउने अकस्मातको परिवर्तन लगायतका अन्य थुप्रै कारणहरु पनि छन् ।

Ø तपाईको लाइनमा अध्ययन गर्न चाहाने नयाँ विद्यार्थीहरुलाई के भन्नु हुन्छ ?
यो विषयमा आउने नयाँ भाइबहिनीहरुलाई म के भन्न चाहान्छु भने इच्छा र चाहाना राख्नु नराम्रो होइन । अघि नै भने यो क्षेत्रमा पनि रोजगारीको समस्या छ । अन्य क्षेत्रहरु झै । पहिले आफू सक्षम हुने । इच्छा मात्र भएर पनि हुदैन । त्यो इच्छालाई पूरा गर्नका लागि आफू सबै क्षेत्रबाट सक्षम र योग्य छु भन्ने कुराको निश्चित गर्ने । यसरी सबै कुराको निश्चितता भएपछि अवश्य सफल हुन सकिन्छ । आफूले रोजेको पेशा र विषय उचित छ भन्ने नलागि कसैको मन बुझाउन वा बलजफ्ती लागेर सफलता पाउन गाह्रो छ ।

Ø अन्तमा मैले सोध्न बिर्सेको र तपाईले भन्न बिर्सेको केही छ कि ?
सिर्जनाका लहरहरु परिवारलाई हार्दिक धन्यवाद दिन्छु । विशेष गरी तपाईले मेरो मनमा लागेका कुराहरु यस दैनिकका पाठकहरु समक्ष पु¥याउन पहल गरिदिनु भएकोमा तपाईलाई विशेष धन्यवाद । एउटा भन्नै पर्ने कुरा के भने जहाज कहिले पनि पुरानो हुदैन । चाहे त्यो ४० वर्षको होस् चाहे ५० वर्षको । अनि सुर्खेतबाट म पहिलो महिला पाइलट भएकोमा यति धेरै खुसी व्यक्त गर्ने सम्पूर्ण सुर्खेती दाजुभाइ दिदीबहिनीहरुलाई पनि धन्यवाद भन्न चाहान्छु । म भएको ठाउँमा तपाईहरुलाई मैले गर्न मिल्ने सहयोगमा म कहिल्यै पनि कञ्जुस्याँई गर्ने छैन । (प्रस्तुति-क्विक खबर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com