वासिङ्टन चैत्र १९ ,
बन्दीसँग सोधपुछ गरिने अमानवीय तरिकाबारे केन्द्रीय जाँच एजेन्सी (सीआईए) ले अमेरिकी सरकारलाई भ्रममा राख्दै आएको वासिङ्टन पोस्टले आफ्नो रिपोर्टमा जनाएको छ । उक्त एजेन्सीले गोप्य अन्धकार कोठामा क्रूरताका साथ सोधपुछ गर्दै आएको अमेरिकी सिनेटको बहुप्रतीक्षित रिपोर्टमा उल्लेख छ ।
यसअघि यसबारे जानकारी थिएन ।
उक्त रिपोर्टमा अनुसन्धानका क्रममा बन्दीलाई बरफको पानीमा डुबाउने र भित्तामा टाउको ठोकाउनेजस्ता क्रियाकलापबारे भनिएको छ । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज बुसको पालादेखि यस्ता गतिविधि सुरु भएको त्यसमा उल्लेख छ । सन् २००९ देखि थालिएको सीआईएको गतिविधिबारे सिनेटको गुप्तचर समितिले गरेको विस्तृत अनुसन्धानपछि यो खुलासा भएको हो ।
कैदीसँग थप सूचना नभए पनि यस्तो कडा सोधपुछ जारी राख्न सीआईएका केन्द्रीय अधिकारीहरूले मातहतलाई निर्देशन दिने गरेको वासिङ्टन पोस्टले भनेको छ ।
यस्तो वार्ताबारे सीआईएमा समेत मत भिन्नता रहेको उक्त पत्रिकाले जनाएको छ । यसबारेमा सीआईए प्रवक्ताले अहिलेसम्म केही बोलेका छैनन् । बीबीसी :