हङकङ, वैशाख १ ,
फ्रान्सको राजधानी पेरिसस्थित युनेस्को मुख्यालयमा बुद्ध प्रतिमा राखिने भएको छ । युनेस्कोको सदस्यता लिएको ६० वर्ष पुगेका अवसरमा केही महिनाअघि नेपालले बुद्ध मूर्ति उपहार दिने प्रस्ताव राखेको थियो ।
प्रस्तावबारे अन्तर्राष्ट्रिय विशेषज्ञहरूको एक स्वतन्त्र प्लानलले जाँच गरेर युनेस्को महानिर्देशकसमक्ष गरेको सिफारिस स्वीकृत भएपछि प्रतिमा राख्ने बाटो खुलेको हो ।
मुख्यालयले हालै पेरिसस्थित नेपाली दूतावासलाई पत्र पठाई यससम्बन्धी जानकारी गराएको छ । शिक्षा मन्त्रालय, मन्त्रिपरिषद् हुँदै अर्थ मन्त्रालयले समेत बजेट स्वीकृत गरेपछि मूर्ति राख्ने पक्का भएको हो ।
५ फिटको मूर्तिको तौल असीदेखि सय किलो हुनेछ । नेपालको नक्सा समेत कुँदिने प्रतिमामा 'वर्थ प्लेस अफ लर्ड बुद्ध' लेखिनेछ । आगामी बुद्ध जयन्तीका दिन प्रतिमा प्रतिस्थापन गर्ने तयारी गरिएको पेरिसस्थित नेपाली दूतावासले जनाएको छ ।
'नेपाल युनेस्कोमा सामेल भएको साठी वर्ष पुगेका अवसरमा केही विशेष गर्ने सोच थियो,'फ्रान्सन्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले भने, 'मुख्यालयमा हरेक वर्ष संसारभरका हजारौं लब्ध प्रतिष्ठितहरू आवतजावत गर्ने हुँदा बुद्ध मूर्ति नै प्रदान गर्नु उपयुक्त हुने ठहर गरेका हौं ।' श्रेष्ठ नेपालका लागि युनेस्कोका स्थायी प्रतिनिधि समेत हुन् ।
युनेस्कोले लुम्बिनी विकासमा समेत सघाइरहेको उल्लेख गर्दै राजदूत श्रेष्ठले यस्तो महत्त्वपूर्ण ठाउँमा मूर्ति राखिँदा बुद्धको जन्मथलोबारे भ्रम हटाउन योगदान पुग्ने बताए ।
'नेपाली कालिगढहरू काठ, ढुंगा र धातु मूर्तिकलाका लागि विश्वप्रसिद्ध छन्,' उनले भने, 'नेपाली कला प्रवर्द्धनका लागि समेत यो संसारमै उपयुक्त थलोमध्येको हुनेछ ।'
गत अक्टोबरमा युनेस्कोले 'लुम्बिनी बर्थ प्लेस अफ बुद्ध' र 'द सेक्रेड गार्डेन अफ लुम्बिनी' नामका दुई पुस्तक प्रकाशित गरेको थियो । पिस प्यालेसका नामले समेत चिनिने नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा समेत यसअघि गतवर्ष बुद्ध प्रतिमा राखिएको छ । (निर्मल श्रेठ-इकान्तिपुर)