काठमाडौँ, फागुन २५ ,
वसन्तपुरमा विधिपूर्वक आज चिर ठड्याइएसँगै यस वर्षको फागु पर्व सुरु भएको छ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुहेश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई आज बिहान विशेष पूजा गरी ठड्याइएको हो ।
सो अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिएको थियो । असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रुपमा चिर उठाउने र एकसातापछि फागु पूर्णिमाका दिन सो चिर ढलाएर टँुडिखेलमा पु¥याई दहन गर्ने परम्परा रहेको स्थानीयवासी राजन महर्जनले बताउनुभयो ।
हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई हत्या गर्ने उद्देश्यले होलिका आगोमा जाँदा होलिकाको दहन भई प्रह्लाद बाँचेको पौराणिक कथा सन्दर्भलाई लिएर होली मनाइने गरिन्छ । काठमाडौँलगायतका पहाडी भेगमा फागु पूर्णिमाका दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ । रासस :