काठमाडौं चैत्र ४,
गर्मी बढ्दैछ। मानिसको शरीरबाट धेरै पसिना पानीका रूपमा निस्किरहन्छ। यसको अनुपातमा टन्न झोल पदार्थ खाइएन भने शरीरमा पानीको मात्रा कम हुन्छ। शरीर सुक्खा हुन्छ। यसबाट बच्ने उपाय छन्।
खर्बुजाको जुस बनाएर पिउँदा शरीरमा पानीको मात्रा सन्तुलित रहन्छ। अदुवा, नासपातीको सर्वत, आँपको जुस, पुदिनाको हरियो आइस चिया, फलफूलको सलाद, हरिया सागपात र सलाद गर्मीमा प्रशस्त खानुपर्छ। अदुवा र नासपातीको जुसले पेटको वायुलाई समन गर्छ।
गर्मीमा छालाको स्याहारसुसार पनि आवश्यक छ। गर्मीमा चाया, एलर्जी, कालो तिल र टनिङजस्ता छालाका समस्याले धेरै नै पिरोल्ने गर्छ। यस्ता समस्याबाट छुटकारा दिलाउन शरीरको सरसफाइ गर्नैपर्छ। अनि केही घरेलु विधि अपनाउनु आवश्यक छ। एलर्जीबाट बच्न बिहान एकपटक र समय मिले साँझ पनि नुहाउनुपर्छ। दिनमा दुईपटक नुहाउनु उत्तम हुन्छ। यसबाट पसिनाका दुर्गन्ध तथा त्यसबाट हुने संक्रमणबाट पनि बच्न सकिन्छ। घामबाट कोठामा पसिसकेपछि केही क्षण आराम गरेर पसिना सुकेपछि मात्र नुहाउनुपर्छ।
फेसियल :
फेसियल मसाजका लागि आफ्नै घरवरपरि उत्पादित वस्तु प्रयोग गर्नुपर्छ। करेसाबारीमा उपलब्ध हुने काँक्रो वा घिउकुमारीको रस, कागती, मिल्क पाउडर, दही, बेसार, चन्दन पाउडर, गाँजर, सक्खर, पुदिना तथा तुलसीका पात प्रयोग गरेर छालामा हुनसक्ने नकारात्मक असर कम गर्न सकिन्छ। अनुहारको हेरचाह गर्न दूध, सक्खर तथा कागतीको रस लगाउन सकिन्छ। यो लेप लगाएपछि १५ मिनेट त्यसै छोड्नुपर्छ।
काँक्रोको रसमा कागती, बेसार तथा चन्दन, पाउडर मिसाएर अनुहारमा लगाउनु फाइदाजनक छ। घामबाट रक्षा गर्न सनब्लक लोसन लगाउन सकिन्छ। खानपिनमा ध्यान पुर्याउनुपर्ने भएकाले फलफूल, हरियो सागसब्जी खानुपर्छ। यसले शरीरमा भिटामिन तथा मिनरलको सन्तुलन कायम राख्न मद्दत गर्छ। भिटामिन ‘सी’ तथा भिटामिन ‘ई’ जस्ता एन्टिअक्सिडेन्टका रूपमा पनि खान सकिन्छ।
शीतली प्राणायाम :
शीतली प्राणायामको अभ्यासले शरीरलाई शीतल बनाइराख्न मद्दत गर्छ। एकदमै गर्मी भई प्यास लागिरहे को छ भने शीतली प्राणायामको अभ्यास गर्दा गर्मी हट्छ। यदि मदिरा र चुरोटको अम्मली हुनुहुन्छ भने पनि यसको अभ्यासबाट त्यस्ता लतबाट छुटकारा दिलाउँछ।
विधि :
सम्म धरातलमा तन्ना वा दरी ओछ्याउनुस्। आफ्नो सुविधाअनुसारको आसनमा बस्नुहोस्। मुटुको धड्कन, श्वासप्रश्वासको चाल र सम्पूर्ण शरीर स्वाभाविक अवस्थामा आएपछि जिब्रोलाई मुखबाट पाइप आकारमा निकाल्नुस्। अनि जिब्रोबाट सम्भव भएजति सास लिनुस्। त्यसपछि जिब्रो मुखभित्र लगी नाकबाट श्वास बाहिर फ्याँक्नुस्। तीन/चार चोटि यो प्रक्रिया दोहोर्याउनुपर्छ।
हरियो तरकारीका फाइदा :
आलु, बन्दा, बोडीलगायतका तरकारीले शरीरमा शक्ति प्रदान गर्छ। अदुवा, धनियाँ, पुदिना, हरियो खुर्सानीले तरकारीको स्वाद बढाउन मद्दत पुर्याउँछ। लसुनले रगत जम्नबाट जोगाउने हुनाले हृदयरोगीलाई फाइदा पुर्याउँछ। पेटका रोगीलाई करेला लाभकारी मानिन्छ। टमाटरले शरीरमा रगतको मात्रा बढाई छाला चम्किलो बनाउँछ।कागतीले शरीरको पाचन पक्रिया बढाउने रसायन उत्पादन गर्छ। पालुंगोको सागले हाडलाई क्याल्सियम प्रदान गर्छ। भिन्डीले शुक्राणु बढाउँछ। लौकाले शीतलता प्रदान गर्छ। काँक्रोले शरीरमा रगतको प्रवाह बढाउँछ। परवलले शरीरमा ऊर्जा प्रदान गर्छ। (अन्नपूर्ण पोस्टबाट)