पढाइमा अबरोध परिवारबाटै I

पुरैना (बाँके), फाल्गुन २७, 

नेपालगन्जसँगै जोडिएको पुरैनाकी १७ वर्षीया मुन्नी दर्जीको नर्स बन्ने सपना तुहिएको छ । धेरै पढेलेखे त्यहीअनुसारको केटा खोज्न र दाइजो बढी दिनुपर्ने भन्दै परिवारले नपढाएपछि उनको इच्छा रहरमै सीमित भएको हो । 

मध्यम वर्गका परिवारले चाहेको भए पैसा खोजखाज गरी मुन्नीलाई नर्स बनाउन सक्थ्यो । उनी आफूले रोजेको विषय पढ्न नपाएपछि घरमा खाली बसेकी छन् । 'नर्स पढ्ने ठूलो इच्छा थियो । एसएलसीमा राम्रै नम्बर ल्याएकी थिएँ । परिवारले नै नमानेपछि पढाइ रोकियो,' पुरैना आइतबार गाविस कार्यालयमा भेटिएकी मुन्नीले भनिन्, 'अन्य विषय पढ्न मन लागेन । बुबाआमाले खर्च छैन भनेपछि पढाइ रोकियो ।' उनी अझै पनि नर्स पढ्न त्यति नै इच्छुकचाहिँ छन् । 

पुरैना गाविसका लागि मुन्नीका परिवार सम्मानित मानिन्छ । उनका हजुरबुवा असगर अली दर्जी गाविस पूर्वअध्यक्ष हुन् । सबैले असगरलाई नेता मान्छन् । गाउँभरि उनको सम्मान छ । छोरीलाई पढाउनुपर्छ भन्दै सिकाउँछन् तर आफ्नै नातिनीलाई नर्स पढाउनेबारे मौन छन् । 'मुन्नीको नर्स बन्ने धोको छ, त्यो मलाई राम्रै गरी थाहा छ । परिवारका धेरैलाई पढाउनुपर्ने भएकाले सकिएन,' असगर भन्छन्, 'समाजमा बसेपछि धेरै कुरा मान्नुपर्छ । धेरै पढ्यो भने दाइजो पनि धेरै दिनुपर्ने बाध्यता आइपर्छ ।' 

मुन्नीका परिवारलाई भने अरूलाई छोरी पढाउनुपर्छ भन्ने सल्लाह दिन कुनै समस्या छैन । किनभने मुन्नीसमेत गरी गाविसभरि मुस्लिम दुई युवतीले मात्रै एसएलसी पास गरेका छन् । 'त्यसैले पनि अरूलाई सल्लाह दिन उनको परिवारलाई समस्या छैन,' पुरैनाकी सामाजिक परिचालक जानकी बुढाले भनिन्, 'एसएलसी पढ्नु पनि यहाँ ठूलो मानिन्छ ।' मुन्नी र अर्की सवनम दर्जी मुस्लिम समुदायका महिलामध्ये भाग्यमानी मानिन्छन् । उनीहरूले एसएलसी गर्ने अवसर पाएका छन् । 

यी युवती गाउँकै बढी पढेलेखेका हुन् । उनीहरूबाहेक एसएलसी गरेका कोही छैनन् । 'पढे पो भेटिने हुन् । महिलामा हामी दुईबाहेक पढेका अरू छैनन् । हाम्रो समुदायका चार/पाँच कक्षा पढेर छोड्ने चलन छ,' मुन्नीले भनिन् । सवनम अहिले १२ कक्षामा पढ्दै छिन् । परम्परागत मान्यताका कारण उक्त समुदायले छोरीलाई उच्च शिक्षा पढाउन चाहँदैनन् । उनीहरूमा डर छ, छोरी जति धेरै पढ्छन् त्यति धेरै दाइजो दिनुपर्छ । 'दाइजोको प्रचलन नियन्त्रणभन्दा पनि बढिरहेको छ ।  (इकान्तिपुरबाट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com