जनकपुर, चैत्र १७ ,
श्याम सुन्दर शशि : जनकपुर क्षेत्रमा ५२ मठमन्दिर र ७२ तलाउ छन् । विभिन्न ग्रन्थहरूमा यी धार्मिक क्षेत्रहरूको आ-आफ्नै विशेषता उल्लेख छ । केही वर्षयता भने त्यसलाई नामेट पार्ने गरी यो क्षेत्र कुख्यात हुन थालेको छ ।
मठमन्दिर र पोखरीका जग्गामा कब्जा जमाउने हानथापले संगठित अपराध मौलाएको छ ।
मठमन्दिरको जग्गा किनबेच र बन्दोबस्तीमा झन्डै आधा दर्जन साधु, सन्त, महन्थ र तिनका आफन्तको हत्या भइसकेको छ । 'सस्तोमा जग्गा लिएर महगोमा बेच्ने प्रतिस्पर्धाका कारण अपराध बढेको हो,' जनकपुर अञ्चल प्रहरी प्रमुखका रूपमा लामो समय रही हाल नेपालगन्जमा कार्यरत एसएसपी माधव जोशीले भने ।
०६७ कात्तिक ११ मा जनकपुरको पगलाबाबास्थित निजी निवास अगाडि गोली हानी हत्या गरिएका महोत्तरी शिक्षा कार्यालयका अधिकृत लालकिशोर झा मठिहानी मठका मान महन्थ जगन्नाथ दास वैष्णवका भतिजा थिए । हत्याको जिम्मा लिएका जनतान्त्रिक तराई मुक्ति मोर्चाका रञ्जित झाले प्रहरीलाई दिएको बयानमा उनी मठिहानी मठको जग्गा किनबेचमा सक्रिय रहेको बताएका छन् । झाको बयानमा लालकिशोरको हत्या गराउन रत्नसागर मठका महन्थ बैकुण्ठ दास वैष्णवले ७ लाख रुपैयाँको सुपारी दिएको उल्लेख छ ।
सम्पत्ति विवादकै कारण महोत्तरीको मठिहानीस्थित लक्ष्मीनारायण मठका मान महन्थ देवा दासको सीमावर्ती भारतीय भूभागमा हत्या गरिएको थियो । झन्डै ८ दशकअघि भएको उक्त हत्यापछि लक्ष्मीनारायण मठका महन्थको सम्प्रदाय नै फेरिएका थिए । देवा दाससम्म यस मन्दिरमा लस्करी सम्प्रदायका साधु महन्थ हुन्थे भने त्यसपछि चतुर्भुजी सम्प्रदायबाट हुन थालेको पुजारी फूल दासले जानकारी दिए ।
२०३० सालतिर जनकपुरको पेठियागाछीस्थित गिरनारी कुटीका महन्थ रवि गिरी र उनका चेला वीर गिरीको एकै रात हत्या गरी मन्दिरकै सन्दुकमा राखिएको अवस्थामा शव फेला परेको थियो ।
२०३८ मा जानकी मन्दिरको उत्तरी ढोकास्थित इनारमा स्थानीय जोगी साहको शव पाइएको थियो । विहारकुण्डका महन्थ रामपुकार शरणलाई गोली हानी हत्या गरिनुमा पनि सम्पत्ति विवाद नै कारण रहेको स्थानीयवासी बताउँछन् ।
गुठी संस्थान शाखा कार्यालय जनकपुरका सञ्चालक समितिका पूर्वअध्यक्ष मनोज साहका अनुसार जानकी मन्दिरका निवर्तमान महन्थ स्वर्गीय रामशरण दास तथा बेला कुटीका पूर्वमहन्थ धनेश्वर दासको मृत्यु पनि शंकास्पद थियो । रामशरणको मृत्युपछि रामतपेश्वर दास जानकी मन्दिरका र धनेश्वरको मृत्युपछि रामएकवाल दास बेला कुटीको महन्थ बने ।
'सप्रमाण भन्न नसकिए पनि मठमन्दिरको जग्गा किनबेचकै कारण यहाँ अपराध बढेको हो,' गुठी संस्थान जनकपुर शाखाका प्रमुख राजुबाबु पाण्डेले भने । संस्थानको जनकपुर प्रमुख भई पुनः यहाँ आएयता आफूलाई समेत पटकपटक टेलिफोनमार्फत हत्याको धम्की आएको उनले जनाए ।
लालकिशोर झा हत्याको अनुसन्धान गरेका तत्कालीन धनुषा प्रहरी प्रमुख दिनेश अमात्यले मठमन्दिरको जग्गा हडप्ने र बिक्रीवितरण गर्ने हानथापकै कारण उनको हत्या गरिएको बताए । हाल सप्तरी प्रहरी प्रमुखका रूपमा कार्यरत एसपी अमात्यकै कार्यकालमा झालाई गोली प्रहार गर्ने सुटरसहित ३ जना पक्राउ परेका थिए ।
मठमन्दिरका महन्थसँगको मिलेमतोमा जग्गा मनखप -वाषिर्क एक कठ्ठाको एक मन धान दिने सर्त) मा लिने र त्यसमा घर बनाएर बस्ने यहाँको पुरानो परम्परा हो । पछि गएर यस्ता अधिकांश जग्गा मोही वा रजिस्ट्रेसन पास हुने गरेको पाइएको छ । स्थानीय अमरचन्द अनिलका अनुसार मिलेमतोमा जग्गा बिक्रीवितरण गर्ने क्रम २०४६ यता झन् बढेको छ ।
भूमाफियाहरू महन्थलाई प्रभावमा पारेर सस्तोमा जग्गा किन्छन् र महँगोमा बेच्छन् । केही महन्थ आफैं पनि यस्ता धन्दामा सक्रिय छन् । उनीहरूको सम्बन्ध स्थानीय सशस्त्र समूहका नाइकेहरूसँग पनि हुन्छ ।
जनकपुरका मठमन्दिरको सम्पत्तिको अवस्थाबारे अध्ययन गर्न २०६२ मा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले सोही साल दिएको प्रतिवेदनमा २०४४ पुस मसान्त पहिलेको मनखप कागज बनाई महन्तहरूले अनधिकृत तवरबाट गुठी रैतानी जग्गामा घर बनाउन लगाएको उल्लेख छ । यी ३ मन्दिरका महन्थले करिब १४ बिघा जग्गामा घर बनाउन लगाएको र २० करोड रुपैयाँको जग्गा बिक्री गरिसकेको प्रतिवेदनमा छ । उक्त प्रतिवेदन सरकारलाई बुझाएपछि पनि मठमन्दिरको जग्गा अतिक्रमण र मिलेमतोमा बेचबिखन रोकिएको छैन, बरु बढेको छ ।
जानकी मन्दिर, राम मन्दिर, रत्नसागर मठ, लक्ष्मण मन्दिर, मठिहानी मठ, विहार कुण्ड, अग्निकुण्ड, गिरनारी कुटी, बेला कुटी, इटहर्वालगायतका मठमन्दिर पर्याप्त सम्पत्ति भएकामा पर्छन् । प्रतिवेदनमा जानकी मन्दिरसँग १ सय ४१ बिघा, राम मन्दिरसँग १ हजार २ सय २० बिघा, लक्ष्मण मन्दिरसँग ३८ बिघा, हनुमान मन्दिर कुवारामपुरसँग २९ बिघा, कुपेश्वरनाथ महादेव मन्दिरसँग ७२ बिघा र रत्नसागर मठसँग ५५ बिघाभन्दा बढी जमिन छ । 'यिनै सम्पत्तिका कारण महन्थ बन्न हानथाप हुने गरेको छ,' अनिलले भने ।
'जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक विकाससँगै देवस्थलप्रति जनताको आस्था बढाउन मठमन्दिरलाई ट्रस्ट बनाउनुपर्छ,' परिषद् अध्यक्ष रामकुमार शर्माले भने । घिमिरे प्रतिवेदनले पनि मन्दिर सुव्यवस्थापका लागि ट्रस्ट वा कोष बनाउनुपर्ने सुझाव दिएको थियो । (इकान्तिपुरबाट)