काठमान्डू चैत्र १४,
अमेरिकी अस्पतालमा भर्ना भएका प्रत्येक २५ मध्ये एकजना अस्पतालजन्य संक्रमणको शिकार हुने गरेको एक अध्ययनल देखाएको छ ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन) का अनुसार सन् २०११ मा मात्र ७० हजार बिरामीमा संक्रमण देखा परेको थियो ।
केन्द्रका उपनिर्देशक डा. माइकल बेल भन्छन्, ‘यो एउटा राष्ट्रिय संकट नै हो, यद्यपि संख्यालाई हेर्दा केही सुधार भने भएका छन्, तर यो पर्याप्त छैन ।’
‘तपाईं अस्पताल जानुको अर्थ हो निको हुनु’ डा. बेल भन्छन्, ‘तर, दुर्भाग्य, त्यो सधैं भइरहेको हुँदैंन’ । केन्द्रले हालै दुईवटा रिपोर्ट सार्वजनिक गरेको छ । एउटा, सन् २०११ मा १० राज्यमा गरिएका अस्पतालका अनुसन्धान र अर्को अस्पतालमा भएका संक्रमणबारे एक वर्षको रिपोर्ट । केन्द्रले अस्पतालमा कुनै पनि बेला संक्रमण हुन सक्ने उल्लेख गर्दै सरसफाई महत्वपूर्ण भएको उल्लेख गरेको छ ।
‘दिनप्रतिदिन प्रगति भएको त छ, तर, स्वास्थ्यसेवासंग संबन्धित संक्रमणका कारण अस्पताल बसाई अवधिभर २ सय अमेरिकी मर्ने गरेका छन्,’ केन्द्रका निर्देशक डा. टम फ्रिडेनले भने । चिकित्सकका अनुसार हात राम्ररी नधुनु, उपकरणलाई सही तरिकाले संक्रमणरहित नपार्नु, तिनीहरुलाई एकै ठाउँमा लामो समयसम्म राखिराख्नु र एन्टिबायोटिकको बढी प्रयोग गर्नुजस्ता कारण अस्पतालमा संक्रमण निम्तने गरेको छ ।
‘यो एउटा डरलाग्दो समस्या हो, यसलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ’ केन्द्रका उपनिर्देशक डा. बेलले भने ।
यसको समाधानका लागि अस्पतालहरुले निकै सावधानी अपनाउनुपर्ने, उपकरणलाई संक्रमणरहित पार्न ध्यान दिनुपर्ने र हातको सरसफाईका लागि स्पष्ट निर्देशिका बनाउनुपर्ने सुझाव चिकित्सकको छ । ‘यसमा बिरामीको पनि भूमिका हुन्छ’, डा. बेल भन्छन्, ‘राम्रो तरिकाले तपाईंले हात धुनुभयो ? भनेर पनि डाक्टरहरुलाई सोध्न सकिन्छ ।’
रिपोर्टका अनुसार अस्पतालजन्य संक्रमणमध्ये २२ प्रतिशत हिस्सा निमोनियाको हुने गरेको छ ।
निमोनियाका बिरामीमध्ये आधाजसो भेन्टिलेटरसंग संबन्धित हुने गरेका छन् । निमोनियाका साथै शल्यक्रिया गर्ने स्थानमा हुने संक्रमण २२ प्रतिशत, ग्यास्ट्रोइन्टेस्टाइनल संक्रमण १७ प्रतिशत, पिसाब नलीको संक्रमण १३ प्रतिशत, रक्तप्रवाह संक्रमण १० प्रतिशत हुने गरेको न्यू इङल्याण्ड जर्नल अफ मेडिसिन जर्नलमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ । (NBC)