काठमाण्डू फागुन ३०,
सङ्गीता शाहकी १९ वर्षीया छोरी मुस्लिम समुदायको युवाले भगाएको भन्दै दुई दिनदेखि सुनसरीको दुहवी बजार बन्द गरिएको छ । एक महिनाअघि दुहवी निवासी मोसिम मियाँ नाम गरेका युवासँग प्रेम सम्बन्धमा गाँसिएकी स्थानीय युवती अमृता शाह हलुवाईलाई भगाइएको थियो ।
सो घटनासँगै दुई परिवारबीच भएको छलफलमा भारतको मद्रासमा लुकिछिपी बसेको युवायुवतीलाई घर फर्काउने सहमति भएको थियो ।
सहमतिअनुसार छोरी फिर्ता नगरेको भन्दै छोरीका आफन्त तथा दुहवीका स्थानीय बासिन्दाले युवकका अविभावकलाई छलफलमा बोलाएको थियो ।
छलफसँगै भएको विवाद कुटाकुटको अवस्थामा पुगेपछि केटी पक्षले बजार बन्दको आह्वान गरेर बजार बन्द गराएपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
त्यसलगत्तै स्थानीय बासिन्दाले मुस्लिम युवासँग भागेको युवती फिर्ता हुनुपर्ने माग गर्दै अनिश्चितकालीन दुहवीबजार बन्द गराएका छन् ।
बन्दका कारण स्थानीय बजार पूर्ण रुपले बन्द भएका छन् । युवती फिर्ता नभएसम्म बजार नखोल्ने स्थानीय रञ्जित गोस्वामीले बताउनुभयो । उता युवतीकी आमा सञ्जीता शाह हलुवाईले आफ्नो छोरीलाइ जसरी पनि भारतबाट फिर्ता गर्नुपर्ने भन्दै प्रशासनसँग हारगुहार गरिरहेको बताएकी छिन् ।
घरपरिवारमा मिलनका लािग केटा र केटीलाई ल्याउने सहमति बने पनि प्रहरीले केटा र केटीलाई झिकाएर सोनापुरको कुनै गाउँमा लुकाएर कानुनी विवाह गरिदिएपछि केटी पक्षका हिन्दु समुदाय र मुस्लिम समुदायबीचको विवाद अरू चर्किन थालेको पाइएको छ ।
मुस्लिम समुदायसँग मिलेर प्रहरीले समेत अन्याय गरेको भन्दै दुहवीवासीले केटाकेटी समाजमा उपस्थित नगराएसम्म बन्द बजार नखोल्ने घोषणा गरेपछि दुहवी बजारमा अरू तनाव सिर्जना भएको छ । (नेपालब्रिटेन)