चोरीको आरोपमा यस्तो यातना I

इटहरी, फाल्गुन १३ ,

 देवराज पोडेल : फेसबुकलगायत सामाजिक सञ्जालमा तीन बालकलाई एउटा बाँसमा बाँधेको तस्बिर सोमबार अत्यधिक लाइक र सेयर भयो । उक्त तस्बिर सुनसरीको इटहरी-२ आँपगाछी चोकमा चोरी अभियोगमा शनिबार गाउँलेले यातना दिएका तीन बालकको थियो । 

एउटा प्लास्टिकको बोरामा ५ पोका च्याउ, २ पोका नुडल्स र केही तयारी चाउचाउ भेटिएपछि चोरेर ल्याएको भन्दै गाउँलेले एउटा बाँस तीन जनाकै काँधमा राखेर उनीहरूको दुवै हात बाँधी करिब एक घन्टा यातना दिएका थिए । उनीहरूले ल्याएको झोलासमेत बाँसमै झुन्ड्याइएको थियो । उनीहरू आँपगाछीपूर्वको राजदेवी मन्दिरछेउ सुकुम्बासी टोलका ११ वषर्ीय कृष्ण, १३ वर्षका सन्जोग र १४ वर्षका जितबहादुर राई हुन् । स्थानीय विद्यालयमा कक्षा ५ मा पढ्दै गरेका उनीहरू पढाइ छाडेर चोरी गर्दै हिँडेकाले 'गाउँलेले आइन्दा नचोरून् भनेर बाँसमा बाँधेको' स्थानीय पशुपति रिजालले बताए । 

'गाउँमा पटक-पटक चोरेर हैरान गर्ने उनीहरूलाई एकपटक दच्काउन त्यसो गरिएको उनले जनाए । तरहराका प्रहरी सहायक निरीक्षक राजकुमार राईले 'गाउँलेले चोर पक्राउ गरेको छ' भनेर टेलिफोन गरेपछि गाडी लिएर गई बालकलाई मुक्त गरेर इलाका प्रहरी इटहरीमा बुझाएको बताए । कृष्णका बाबु कमल रिक्सा चलाउँछन् । कमलले छोरा बिगि्रएकामा चिन्ता व्यक्त गरे । आफूले भनेको नटेर्ने र घरमै नआउने गरेकाले बाहिर के गर्छ केही थाहा नभएको उनले बताए । 

गाउँलेले छोरालाई बाँधेकोमा दुःख लागे पनि गलत काम गरेर सजाय पाएकामा पछुतो नलागेको उनी बताउँछन् । छोराको संगत बिगि्रएकाले सुधारगृहमा राखिदिन उनले अनुरोधसमेत गरे । स्थानीय राजेन्द्र बजगाईंले तीनै बालकका बाबुआमा रिक्सा चलाएर गुजारा गर्ने भएकाले बिहानैदेखि मादकपदार्थ सेवन गरी राति अबेर मात्र घर जाने गरेको उनले बताए । ती किशोरले गाउँमा चोरेर दिक्क बनाएकाले बाध्य भएर यातना दिनुपरेको गाउँलेको भनाइ छ । 

इलाका प्रहरी कार्यालयका डीएसपी विद्यानन्द माझीले नाबालक भएकाले चोरीमा कारबाही गर्न नमिल्ने हुँदा घर लगेर अभिभावकको जिम्मा लगाएको जनाए । बाबुआमासमेत भएकाले उनीहरूलाई बाल सुधारगृहमा राख्नसमेत नमिल्ने उनले बताए । माझीका अनुसार उनीहरू घरमा नगई बाँसघारीमै सुत्ने र मध्यरातमा चोरी गर्न हिँड्ने गरेको अनुसन्धानबाट खुलेको छ । (इकान्तिपुर बाट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com