धरान फागुन १४,
'मिस पूर्वाञ्चल' पाँचौं संस्करण मोरङ, राजघाटकी नेमिता आङबुहाङ लिम्बूले जितेकी छन् । धरान सभागृहमा सोमबार साँझ भएको फाइनलमा १४ सुन्दरीलाई पछि पार्दै नेमिताले स्कुटी र विभिन्न गिफ्ट ह्याम्पर हात पारेकी थिइन ।
उनले मिस पब्लिक च्वाइस अवार्ड समेत पाइन् । 'मिस पूर्वाञ्चलको टाइटलसँगै मैले थप सामाजिक जिम्मेवारी पनि पाएकी छु,' उनले भनिन्, 'ती जिम्मेवारीलाई आफ्नो बल-बुद्धिले भ्याएसम्म पूरा गर्नेछु ।'
सिल्भर इन्टरटेन्मेन्टद्वारा आयोजित प्रतियोगितामा धरानकी तेन्जिङ मोक्तान तामाङ फस्ट रनरअप घोषित भइन् । मिस पर्सनालिटी टाइटलसमेत जितेकी उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् । उदयपुर बेलटारकी नीलम थापा सेकेन्ड रनरअप बन्दै २० हजार रुपैयाँ पाउन सफल भइन् । उनले मिस ट्यालेन्ट टाइटल पनि पाइन् ।
नेमितासहित तीनैजनालाई ललितपुरको एसियन कलेज अफ म्यानेजमेन्टबाट ब्याचलर लेभलको छात्रवृत्ति दिने घोषणा गरेको छ । प्रतियोगितामा माला सिंगक लिम्बूले मिस फोटोजेनिक, मेलिना रुम्बाले तामाङ बेस्ट वाक, सञ्जिता राईले मिस चार्मिङ टाइटल पाए । कार्यक्रममा गायकहरू राजेशपायल राई, एपी शेर्पा, सोनम पाखि्रन, बबिन लिम्बू लगायतले प्रस्तुति दिएका थिए ।