अमेरिका फागुन १२ ,
“आगामी मार्च १ र २ न्युयोर्क जाऔं, अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन सफल पारौं ।”
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा अन्तर्राष्ट्रिय नेपाली
महिला साहित्य सम्मेलन आगामी मार्च १ देखि २ सम्म अमेरिकाका न्युयोर्कमा
भव्य रुपमा सम्पन्न हुन गइरहेको छ । भरखरै डिसीमा सम्पन्न भएको
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको थकान मेटाउन नपाउँदै न्युयोर्कमा
नेपाली महिला साहित्य सम्मेलनको आयोजना
हुनु अर्को गौरवको कुरा हो । एकपछि अर्को रुपमा अन्तर्राष्ट्रिय स्तरका
यस्ता विशिष्ट कार्यक्रमहरुले अनेसास र विश्वभरमा रहेका नेपालीहरुलाई आफ्नो
नेपाली भाषा एवम् साहित्यको विस्तारले खुसी तुल्याइरहेको र विदेशमा पनि
नेपाली पहिचानको आभास भइरहेको छ ।
अझ हामी अमेरिकाली नेपालीहरुको
लागि अनेसासको नेतृत्वमा न्युयोर्कमा सम्पन्न हुने यो महिला साहित्य
सम्मेलन एउटा अवसर पनि हो । हामी बसेको सहरमा यति भव्य रुपमा सम्पन्न हुन
गइरहेको यस सम्मेलनमा हामीले भाग नलिए कसले लिने ? हामी सहभागी नभए को हुने
? नेपाल लगायत विश्वका विभिन्न मुलुकहरुमा बसेर पनि नेपाली भाषा एवम्
सँस्कृतिको विकास र विस्तारमा योगदान पुर्याएवापत विभिन्न महिला तथा पुरुष
स्रष्टाहरुलाई विदेशी भूमिमा पुरस्कृत तथा सम्मान गर्न पाउने गौरवलाई
हामीले शिरोधार्य गर्नै पर्दछ ।
अयोजक संस्थाको अध्यक्ष एवम्
सम्मेलन समितिको सदस्यको नाताले म अमेरिकावासी नेपाली दाजुभाइ तथा
दिदीबहिनीहरुलाई यस सम्मेलनमा सक्रिय सहभागिता भई दुई दिने कार्यक्रम सफल
बनाइदिनुहुन मनदेखि अनुरोध गर्दछु । पहिलो र दोस्रो दिनका दुवै
कार्यक्रमहरुमा सहभागिताका लागि नेपाली दाजुभाइ–दिदीबहिनीहरुलाई चुह्लै
निम्तो गरेकी छु ।
दुई दिने कार्यक्रममा उद्घाटनको पहिलो दिनमा
निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । उक्त दिन नेपाली साहित्यमा विशिष्ट
योगदान पुर्याउनुहुने महिला साहित्यकारहरुलाई सम्मानपत्र प्रदान गरिनेछ ।
साथै, विभिन्न स्रष्टाहरुका पुस्तक, गीति संग्रहका सिडी तथा अन्य
प्रकाशनहरुको लोकार्पण हुनेछ ।
कार्यक्रमको दोस्रो दिन वृहत
कविता–गोष्ठी तथा नेपाली साहित्यमा विशिष्ट योगदान गर्नुहुने
महानुभावहरुलाई सम्मानपत्र दिने कार्यक्रम रहेको छ । ३५ डलर शुल्क लाग्ने
यो दोस्रो दिनको कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमसहित रात्रीभोजको
पनि व्यवस्था गरिएको जानकारी गराउँदछु ।
अन्तमा, हाम्रो भाषा र हाम्रो साहित्य हाम्रो प्राण हो, यसमा सहभागिता हाम्रो कर्तव्य हो ।
धन्यवाद ।
गीता खत्री
(अध्यक्ष)
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कमिटी ।
[भगवती बस्नेतको वाल बाट]