महान मण्डेलाको यसरि अन्तिम विदाई I

कुनु, दक्षिण अफ्रिका पुस १,

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति तथा प्रजातन्त्रवादी नेता नेल्सन मन्डेलाको आइतबार अपराह्न ४ बजे इस्टर्न केप प्रान्तस्थित उनकै गाउँ कुनुमा राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ । सोही गाउँमा मन्डेलाले बाल्यकाल र किशोरावस्था बिताएका थिए । 

नोबेल शान्ति पुरस्कार विजेता विश्वकै प्रजातान्त्रिक आन्दोलनका अग्रज तथा अश्वेत नेता मन्डेलाको ९५ वर्षको उमेरमा गत ५ डिसेम्बरमा राजधानी पि्रटोरियास्थित निवासमा निधन भएको थियो । उनको पार्थिव शरीरलाई जमिनमा समाधिस्थ गर्नुअघि २१ तोपको सलामी दिइएको थियो । अन्तिम संस्कारमा ४५ सय जनालाई मात्र उपस्थित हुने अनुमति थियो । समारोहमा अफ्रिकी नागरिकलाई मात्र मन्तव्य दिन अनुमति थियो । प्रथम श्रेणीको राजकीय सम्मानका साथ उनलाई समाधिस्थ गरियो । 

उनको पैतृक जोसा संस्कारअनुसार समाधिस्थ गरिएको हो । पारिवारिक आफन्तजनको समाधिनजिक मन्डेलाको शव गाडिएको छ । समाधिस्थल विशेष रूपमा सजाइएको थियो । आमन्त्रितहरूका लागि बैजनी र कालो रङका कुर्सी राखिएका थियो । समारोहमा भाग लिन बेलायती राजकुमार चाल्र्स, मालाबीका राष्ट्रपति जोयन्स बान्डा र तान्जानियाका राष्ट्रपति जकाया किक्वे कुनुसम्म पुगेका थिए । पत्नी ग्रासा मासेल, पूर्वपत्नी विन्नी मादिकिजेला मन्डेला तथा परिवारका अन्य सदस्य उपस्थित थिए । 

मन्डेलाका जेठा छोरा मान्डला मन्डेला आफ्ना पिताको अन्तिम यात्रामा साथसाथ हिँडिरहेका थिए । समारोहमा पारिवारिक प्रतिनिधि नगंगोम्बाला मतांजिमा तथा मन्डेलाका घनिष्ठ मित्र अहमद कथ्रादा पनि सहभागी भए । अर्बपति व्यापारी पेट्रसी मोत्सेप र ओप्रा विफ्रेले पनि हिस्सा लिएका थिए । कुनु गाउँका बासिन्दालाई पनि समारोहमा सहभागी गराइयो । संसारभरका टेलिभिजन च्यानलहरूले अन्त्येष्टि समारोहको प्रत्यक्ष प्रसारण गरेका थिए । भारतीय मूलका रंगभेदविरोधी कार्यकर्ता तथा मन्डेलाका घनिष्ठ मित्र कथ्रादाले उनको अश्रुपूर्ण बिदाइ गरे । उनले भने, 'जब वाल्टर सिसलुको निधन भयो, मैंले एक पिता गुमाएँ, जब तिम्रो निधन भयो, मैले एक दाजु गुमाएँ ।' 

कथ्रादा उनका लामो समयदेखिका घनिष्ठ मित्र थिए । यसले अस्पतालको शय्यामा अन्तिमपटक मन्डेलासँग भेटेका थिए । कथ्रादा र मन्डेला दुवैलाई राबिन द्विपमा बन्दी बनाएर राखिएको थियो । उनले २७ वर्षसम्म काराबासमा कठिन जीवन बिताएका थिए । अन्त्येष्टि समारोहलाई सम्बोधन गर्दै अफ्रिकी नेसनल कंग्रेस (एएनसी) का उपाध्यक्ष सिरिल रामाफोसाले मन्डेला दक्षिण अफ्रिकाका महान् छोरा भएको बताए । रंगभेद नीतिविरुद्ध मन्डेलाको संघर्षमा सहयोगी जर्ज बिजोस र डेसमन्ड टुटु पनि समारोहमा उपस्थित थिए । राष्ट्रपति जुमाले उनलाई भावपूर्ण श्रद्धाञ्जली दिँदै भने, 'हामीलाई सम्भिmरहनेछौं, उनी हाम्रा पिता हुन् र संरक्षक पनि, त्यसैले उनी हाम्रा खास व्यक्ति थिए ।' 

उनको शवलाई जोहानेसबर्गबाट शनिबार राति विशेष सैनिक विमानमा दक्षिण अफ्रिकी झन्डाले ढाकेर कुनुबाट नजिकको मथाथा विमानस्थल पुर्‍याइएको थियो । त्यहाँबाट ३२ किमि टाढाको कुनुसम्म उनको शवलाई विशेष वाहनमा राखेर लगिएको थियो । समाधिस्थ गर्नुअघि शवदान वरिपरि ९५ वटा मैनबत्ती बालिएका थिए । विमानस्थलबाट समाधिस्थलसम्म उनको शवयात्राका क्रममा सडकमा एकत्रित हजारौं दक्षिण अफ्र की नागरिकले हातमा राष्ट्रिय झन्डा बोकेर उनीप्रति भावपूर्ण सम्मान जनाएका थिए । 

मैदानी र डाँडाकाँडाले ढाकिएको रमणीय कुनु गाउँमा वस्तुभाउ चराउँदै रमाउँदै मन्डेलाले किशोरावस्था पार गरेका थिए । त्यसैबेला उनले स्थानीय प्रौढहरूबाट अनुशासन र संस्कार सिकेका थिए । कुनुबाटै उनले स्वतन्त्रताको लामो यात्रा तय गरेका हुन् । स्वतन्त्रता संग्राममा समर्पित हुन मन्डेलालाई कुनुवासी र दक्षिण अपि|mकी काला जातिले पूर्ण ऊर्जा प्रदान गरेका थिए । उनले बीसौं शताब्दीको विश्व राजनीतिका एक शिखर पुरुषका रूपमा प्रसिद्धी कमाएका थिए । 

जीवनको उत्तरार्द्धमा उनी कुनुमै बसोबास गर्न र त्यहीं प्राण त्याग्न चाहन्थे । तर, जीर्ण र दीर्घरोगग्रस्त शरीरका कारण उनलाई पि्रटोरिया र जोहानेसबर्गस्थित अस्पतालमा राखिएको थियो । त्यसैले उनको अन्तिम इच्छा पूरा हुन पाएन । मरणोपरान्त उनको अन्तिम इच्छा पूरा गर्न कुनुमा अन्त्येष्टि गराउने निर्णर्य राष्ट्रपति ज्याकोब जुमाले लिएका थिए । रंगभेदविरोधी आन्दोलन तथा परिवर्तनका सबैभन्दा ठूला नायक 'माडिबा' लाई अन्तिम बिदाइ गर्न देश/विदेशका करिब ४ हजार मानिस उपस्थित थिए । राजधानी पि्रटोरियामा करिब १ लाखले उनको अन्तिम दर्शन गरे । 

तिनैमध्येका ३१ वर्षीय बानगानी जेबीले समाचार एजेन्सी एएफपीसँग भने, 'उनी अन्तिमपटक आफ्नो घरमा विश्राम गर्न फर्केका छन्, म उनले शान्ति पाएकामा खुसी छु ।' मन्डेलाको शवयात्राका क्रममा स्थानीय महिलाहरू भावविह्वल भएर रोइरहेका थिए । उनीहरू मन्डेलाको घरफिर्तीसँगै एक सूर्य अस्ताएको महसुस गरिरहेका थिए । शवयात्रामा सामेल बिबिसी संवाददाताका अनुसार आफ्ना मुक्ति दूतको अन्तिम दर्शन गर्न कुनुवासी आतुर देखिन्थे । एजेन्सी : 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com