मुस्ताङ, पुस १० ,
चन्द्र बस्ताकोटी : फोटो पत्रकार महासंघ नेपालको आयोजनामा मुस्ताङका फोटोहरु देशैभर प्रदशन गरिने भएको छ । पौष १४ देखि पोखराको लेकसाइडमा फोटो प्रदर्शनी आयोजना गरिने भएको छ । ४ दिन सम्म जारी रहने सो प्रदर्शनीमा फोटो पत्रकार चन्द्रेश्वर वस्ताकोटी लगायतले मुस्ताङ जिल्लाको विभिन्न स्थानमा खिचेका ७५ वटा फोटोहरु राखिने छ ।
विश्वमै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्न सफल मुस्ताङ जिल्लाको धार्मिक, सांस्कृतिक, जैबिक, पर्यटकीय तथा प्राकृतिक अबस्था देखिने फोटोहरु प्रर्दशनीमा राख्दा मुस्ताङको झल्को दिने मेरोजिल्ला डटकमका सम्पादक समेत रहेका बस्ताकोटीको दावी छ । फोटो पत्रकार महासंघ नेपालको आयोजना, महासंघ मुस्ताङको सक्रियता तथा महासंघ कास्कीको व्याबस्थापनमा पोखराको लेकसाईडमा ४ दिन हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
पेमा गुरुङ, कृष्ण गुरुङ, सुर्यबहादुर खत्रि, बिबि फुयाल, दिनेश श्रेष्ठ, बसन्त महर्जन, सरोज कोइराला, बिक्रम श्रेष्ठ, त्रिभुवन पौडेल, कृष्णमणी बराल, सुर्यमोहन दहाल, एक्याप, स्नोलेपर्ड कन्र्जभेन्सीले खिचेका फोटोहरु प्रदशनीमा राखिने छ । पोखराको फोटो प्रर्दशनी पश्चात एक महिनाभित्र काठमाण्डौ र दुई महिना भित्रमा मुस्ताङमा समेत उक्त फोटोहरुको प्रर्दशनी हुने भएको जनाइएको छ ।
फोटो प्रदर्शनीको संयोजनमा जुटेका महासंघ मुस्ताङ शाखाका अध्यक्ष समेत रहेका वस्ताकोटी फोटो मार्फत मुस्ताङलाई स्वदेश तथा विदेशमा चिनाउन यो अभियान अगाडि सारिएको बताउँछन् ।
प्रदर्शनीमा राखिने फोटोहरु प्राकृतिक, धार्मिक, साँस्कृति, ऐतिहासिक, वन्यजन्तु र जैविक विविधतासंग सम्बन्धित फोटोहरु रहने बस्ताकोटीले बताए । यसैबीच फोटो प्रदर्शनीको बारेमा जानकारी दिने उदेश्यले महासंघले बुधबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरयो । सो पत्रकार सम्मेलनमा बोल्दै महासंघका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेल, वरिष्ठ पत्रकार माधव शर्मा, महासंघका महासचिव डम्बर अधिकारी, मुस्ताङका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल र टानका प्रतिनिधी इन्द्र चौहानले पोखरामा हुन गईरहेको फोटो प्रदर्शनीले मुस्ताङको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताएका थिए ।
महासंघले पोखरा पछि काठमाण्डौ र जोमसोममा फोटो प्रदर्शनी आयोजना गर्ने जनाएको छ ।
प्रर्दशनीका लागि जिबिस मुस्ताङ, टान पोखरा, होटल प्राइड एण्ड स्पा जोमसोम, होटल ओम्सहोम, टुरिजम बिकास बैक क्लिन भिलेज माइक्रो फाइनान्स लगायतले सहयोग गरेको जानकारी उक्त पत्रकार सम्मेलनमा दिइएको थियो । होटल प्राइडले फोटो प्रदशनीका लागि उत्साहित बनाएको बस्ताकोटीले बताए ।
महासंघले यस अगाडि महाभारत, चारवेद र अठार पुराणका रचयिता वेदव्यास सम्बन्धी फोटोहरु वेलायत र नेपालका विभिन्न स्थानमा प्रर्दशन गरि सकेको छ ।