केन्याः यस्तो एउटा अनुभव I

डन्ट यु थिंक आइ एम म्यान्ली ? 

बबिता बस्नेत : सन २००९ को अप्रील १७ का दिन पूर्वी अफ्रिकी मुलुक केन्या तर्फ लाग्नु अघि सोचें यस पटक सुटकेश आफैले हातमा बोकेर लानु पर्ला, काठमाण्डौ दिल्ली दुवाइ नाइरोबी कनेक्टिङ्ग फ्लाइट भएकोले टन्जीटहरुमा गाह्रो हुने जानकारी हुदा हुदै पनि त्यस्तो सोचका पछाडी पूर्व अनुभव साक्षी थियो । 

एक बर्ष अघि सन २००८ मा पश्चिमी अफ्रिकी मुलुक सेनेगल जादा सुटकेश बाटामै कतै छुटेकोले तिन दिन पछि मात्रै पाएकी थिएँ, आफुसंगसगै गन्तब्यमा आफनो सामान नपुग्नु अफ्रिकी मुलुकहरुमा सामान्य कुरा हो भन्ने थाहा पाएकीले पूर्व सतर्कता अपनाउनु स्वभाविकै थियो । ब्याग साथै लैजाने भनेपछि एयरपोर्टमा सोधियो टुथ पेस्ट छ ? पफर्युम छ ? लोसनहरु ? कुनै पनि प्रकारका लिक्विड ? नेल पोलिस ? रिमोभर ? सोधेका कुरा जति सबै भएपछि ब्याग साथमा लान दिने कुरै भएन । ट्रन्जिटनै पिच्छे बोर्डिङ्ग पास लिँदा भन्न छोडिन मेरो ब्याग नछुटोस है , बरु म छुटेपनि केही छैन भन्ने स्टायलमै भनेकी थिएँ भनेपनि हुन्छ । तर नाइरोबी पुग्दा सामान भने पुगेको थिएन । 

एयरपोर्टमा सुटकेशको हुलिया दर्ता गराएर होटल गएपछि फुर्सदै फुर्सद भयो । सामान मिलाउनु परेन, कपडा फेर्नु परेन, धन्न आफुले प्रस्तुत गर्नु पर्ने सामाग्री भने ल्यापटपमा थियो र साथमा थियो एउटा पुस्तक लिभिड माइक्रोसफट टु चेन्ज द वल्र्डको नेपाली अनुवाद माइक्रोसफट देखि बाहुनडाँडासम्म । छ महिना अघि भएको कार्यक्रमको फलोअप भएकोले साथीहरु सबै परिचत थिए । भनें— हिड जाउँ, नेशनल पार्क, सफारी वाक । आफनो एकजोर कपडा धुलैधुलो हुने निश्चित भएपछि मैलेनै पछि जाने प्रस्ताव राखें , तर मेरो सामान भने चार दिन पछि मात्रै आइपुग्यो । पोशाक सभ्यतासंग जोडिएको कुरा मात्रै नभएर आत्मविश्वस पनि हो भन्ने कुराको जानकारी भएपनि कति सम्म हो भन्ने चाहिँ त्यतिबेलै थाहा भयो । आफु बसेको होटेलकै पसलमा लुगा किन्न खोजेको पनि हो तर साइज र रङ्ग दुबै बिरक्त लाग्ने प्रकारका भएपछि किन्नलाइ खासै उत्साह जागेन । 

सुरक्षाका कारणले हामीलाइ एक्लै दुक्लै नहिडन भनिएको थियो । नाइरोबी स्थित फेयरभ्यु होटेलको सुरक्षा ब्यवस्था हेर्दा जोकोही पनि झस्कीनु स्वभाविकै थियो । ठुला ठुला फलामे पर्खाल र तारहरुबीच जताततै बिधुतिय लक सिस्टम फीट गरिएको थियो । सामुन्ने इजरायली र अन्य राजदुतावासहरु भएकोले त्याहाँको सुरक्षा तामझाम ‘वार जोन’ मै पुगेजस्तो थियो । बिशेषगरी इजरायली एम्बेसीको सुरक्षाका लागि बाटामा फलामका सुइरा , काडे तार लगायतका हेर्दै जीउ सिरिङ्ग हुने कुराहरु बाटामा स्पिड ब्रेकरका रुपमा बिछयाइएका थिए । त्यसोत, नाइरोबी शहरका प्रायः सबै घरहरुमा अग्ला अग्ला फलामे पर्खाल लगाएको देखियो । कति सम्म भने अस्पताल, क्लिनिक, सरकारी कार्यालय सबैनै । करिब ३८ मिलियन जनसंख्या भएको केन्याका वरिपरका छिमेकी मुलुकहरु इथियोपिया, सोमालिया, तान्जानिया, युगान्डा र सुडान हुन ।

विभिन्न धर्म र सम्प्रदायका मानिसहरु बसोवास गर्ने त्याहाको सरकारी कामकाजको भाषा अंग्रेजी र स्वाहिली हो । पहिला बृटिश कोलनी भएकाले प्राय मानिसहरु अंग्रेजी बोल्छन । अंग्रेजी अफिसियल भाषा बन्नुको कारण पनि यहिनै हो । गरिबी, असुरक्षा, एचआइभी एडस, मलेरिया र डरलाग्दो पितृसत्ता त्याहाका प्रमुख समस्या हुन । गरिब र धनीबीचको खाडल यति धेरै छ कि धनीहरु अथाह धनी छन , केन्यामा मात्रै नभएर बिभिन्न मुलुकमा सम्पत्ति र लगानीहरु छ , गरिब यति गरिब छन की एक छाक खानलाइ लुटपाटनै गर्नु पर्छ । पितृसत्ताका अनेकौ अभ्यासहरु जारी छन, जस मध्य सबैभन्दा डर लाग्दो र पीडादायी योनीको भङ्गाकुर छेदन हो, जसबाट बर्षेनी हजारौ युवती र बालिकाहरु पीडित बन्दै आएका छन । महिलाहरुलाइ यौन चाहना नहोस भन्ने उदेश्यले योनी भित्रको भंङ्गाकुर निकालेर बाहिरको भाग सिलाइ योनीलाइ बन्द गरिनुनै योनी छेदन हो जसलाइ अंग्रेजीमा “फिमेल जेनिटल कटिङ्ग” भनिन्छ । 

जहाँ पिसाब फेर्नका लागि सानो प्वाल छोडिएको हुन्छ, महिनावारी हँुदा रगत पनि त्यहीबाट बाहिर निस्किन्छ । यो पीडादायी वास्तविकता भोग्नेहरुसंग भेटेर कुराकानी गरेको रात सुत्न पनि सकिएन । लाग्यो, आफनोे देशमा पीडादायी दृष्यहरु हेर्न र मन दुखी बनाउनलाइ के कमी थियो र यहाँ सम्म आएर यस्तो देख्नु परयो । त्याहाको दृष्य हेरेपछि नेपाली महिलाहरु त निकै भाग्यमानी जस्तो पनि लाग्यो । अफ्रिकन देशहरुमा लोग्नेमान्छेहरुले ४ वटी सम्म महिलालाइ कानूनी रुपमैं बिवाह गर्न पाउछन तर यो चलन आआफनो संस्कृति अनुसार फरक फरक छ । जति बढी बिवाह गर्यो त्यति “म्यानली” मानिंदो रहेछ । हामी यस्तै कुरा गरेर बसि रहेको बेला होटलकै रेष्टुरामा चिनजान भएका एक केन्यान ब्यापारीलाइ एक साथीले भनिन हामीलाइ आशा छ तपाइको त एउटै श्रीमती होलिन । उनले आफुलाइ निकै इन्सल्ट फिल गरेछन, कुर्सीमा यसो पछाडी ढल्कदै भने डन्ट यु थिन्क आइ एम म्यान्ली ? उनका ४ वटी श्रीमती रहेछन । 

यौनजन्य हिंसामा दण्डहिनता यत्ति धेरै छ की बलात्कारीहरुलाइ सजाय भएका कमै उदाहरण छन । बिश्वमा जहाँसुकै जन्मिएको भएपनि बावु केन्यन भए उसले नागरिकता पाउछ तर यो नियम महिलामा लागु हुदैन । बाराक ओबामाले चाहे भने अहिले पनि त्याहाँको नागरिकता लिन र चुनाव लडन सक्छन किनभने उनका बावु केन्यान हुन । केन्यामा धेरै कुरामा ओबामाको उदाहरण दिइदो रहेछ । जस्तो, समुदायको कुरा गर्दा ओबामाको भन्ने, ठाउँको कुरा गर्दा ओबामाको गाउँको नजिक भन्ने, त्यही गाउँको भए त झन कुरै भएन । एचआइभी एडसका बिरुद्ध जनचेतना जगाउन बिभिन्न सेलिब्रेटीहरुको रगत जचाएर त्यसको प्रचार प्रसार गरिदो रहेछ । प्रायः सार्बजनिक ठाउँहरुमा लेखिएको छ “डु यु नो द योर एचआइभी स्टेटस?” ओबामा सिनेटर हुदैखेरी श्रीमती मिसेल सहित नाइरोबी गएका बेला एचआइभी स्टेटस जाँच गराएका रहेछन । त्यसलाइ उदाहरण मानेर मानिसहरुलाइ एचआइभी टेष्ट गर्न उत्साहित गरिंदो रहेछ । प्राकृतिक रुपले सुन्दर केन्या हरियालीले भरिएको छ । 

जताततै गुलाफ र अन्य बिभिन्न जातका बहुरंगी फुलहरु छन । बाटाहरु फराकीला र घरहरु युरोपियन स्टायलका, तर सडकहरु जतिसुकै फराकिला भएपनि ट्राफिकजाम त्याहाँको पनि ठुलै समस्या हुदै गएको रहेछ । काठमाण्डौ छोडदा गरेको कल्पना भन्दा निकै फरक लाग्यो नाइरोबी । प्राय बिदेश जाँदा उक्त देशमा बस्ने कुनै न कुनै नेपालीका बारेमा जनकारी हुन्छनै । तर केन्या जाँदा भने नेपालीहरु छन, छैनन कुनै अत्तोपत्तो थिएन । नाइरोबी स्थित फेमिली हेल्थ इन्टरनेशनलको कार्यालयबाट फर्कन लाग्दा एउटा कोठाको बाहिर टाँसिएको नेम प्लेट मा झट्ट आँखा रोकिए, लेखिएको थियो भोला श्रेष्ठ । हिडदा हिडदै सिनेमामा झैं टक्क रोकिएँ र कोठा भित्र चिहाएँ । कोठा खाली देखेर त्याहाँ काम गर्ने स्टाफहरुलाइ सोधें खोइ त भोला श्रेष्ठ ? बडो उत्साहित भएर उनीहरुले खोजे, को भोला श्रेष्ठ होला भनेर सोच्दै गर्दा उहाँ आउनु भो र देख्ने बितिकै भन्नु भो, ल कसरी तपाइ यहाँ ? उहाँ सोही अफिसको काठमाण्डौ स्थित कार्यालयमा काम गर्नुहुन्थ्यो, त्यतिबेला नाइरोवीमा हुनुहुँदो रहेछ । सबै काला स्टाफहरुकाबीचमा उहाँलाइ त्याहाँ भेटदा अचम्मै लाग्यो । 

भनें—म एउटा कार्यक्रमको सिलसिलामा आएकी , म संगै अन्य १३ वटा देशका बिभिन्न संचार माध्यममा काम गर्ने साथीहरु छन । उहाँसंग कुरा गरेर तल झर्दा साथीहरु गडीमा चढि सकेका थिए । मैले अकस्मात भोलाजीलाइ भेटेको बताएपछि उनीहरुले भने बिश्व धेरै सानो छ । नाइरोबीमा आठ परिवार नेपालीहरु रहेछन, कोही यूएन मा र केही अन्य अन्तराष्ट्रिय संस्थाहरुको जागिरमा । शुक्रबारको साँझ उहाँहरु सबै योगेन्द्र राइजीको घरमा भेला हुनु भो जो युनिसेफमा काम गर्नृ हुदो रहेछ । योगेन्द्रजीको श्रीमती रेखा, भोलाजीकी श्रीमती कृष्णा, मिनिषा ढुंगाना पहिला आइएलओमा काम गर्थिन अहिले श्रीमानको जागिरसंगै उही रहिछन । 

राजदरबारका पुर्व सचिव इश्वरीमान श्रेष्ठ र उहाँकी पत्नी छोराको जागिरका सिलसिलामा त्यहीँ हुनुहुदो रहेछ । बेइजिङ्ग स्थित युनिसेफमा काम गर्ने राजु श्रेष्ठ पनि केही दिनको कार्यक्रमको लागि त्यहाँ पुग्नु भएको रहेछ । पटलक डिनर असाध्यै रमाइलो भयो । परदेशको भूमिमा मलाई उहाँहरुले गर्नु भएको सम्मान र दर्शाउनु भएको मायाँ मनलाई गाह्रो हुने प्रकारको थियो । नेपाली हुनुको आफ्नोपन कति सम्म हुन सक्छ भनेर म त्यो दुर देशमा प्रत्यक्ष अनुभव गरि रहेकी थिएँ । भोलाजी र कृष्णाजीसंग आफु बसेको होटल तिर फर्कदै गर्दा म सोची रहेकी थिए साँच्चै विश्व धेरै सानो छ र हामी नेपालीहरुको मन निकै ठुलो । basnetbabita7@hotmail.com

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com