नयाँदिल्ली, मंसिर १५ ,
सहकर्मीसँग यौन शोषणको आरोप लागेका भारतको प्रतिष्ठित पत्रिका तहल्काका पूर्वप्रधान सम्पादक तरुण तेजपालले शुक्रबार साँझ अदालतबाट राहत पाएका छन् । उनको जमानत अपिलमाथिको सुनुवाइलाई सेसन कोर्टले शनिबार बिहान १० बजेसम्मकोलागि स्थगित गरेको छ ।
यो निवेदनमाथि अदालतको फैसला नआउन्जेल प्रहरीले तेजपाललाई पक्राउ गर्न पाउने छैन ।
साँझ गोवा पुग्नेबितिकै प्रहरीले उनलाई सुरक्षा कारणले नियन्त्रणमा लिएको थियो । उनलाई प्रहरीले अदालतसम्म लगेको थियो । जमानत नपाएमा उनलाई पक्राउ गरिनेछ । उनीविरुद्ध राजनीतिक षड्यन्त्र भएको वकिलको तर्कलाई न्यायाधीशले अस्वीकार गरेका थिए । न्यायाधीशले तेजपालको वकिललाई पीडित महिला पत्रकारको नामको प्रयोगमा रोक लगाएको छ । पीडितलाई बदनाम गर्ने षड्यन्त्रतर्फ नलाग्न न्यायाधीशले वकिललाई सुझाव दिएका थिए ।
गोवा र दिल्लीको अपराध शाखाको प्रहरीले बिहानदेखि पक्राउ गर्ने प्रयासमा उनको र आफन्तजनको घरमा घन्टौं खोजतलास गरेको थियो । उनको श्रीमतीले तेजपाल २४ घन्टादेखि सम्पर्कविहीन भएको र बहिनीले आफूलाई केही थाहा नपाएको जवाफ दिएपछि प्रहरी रित्तै फर्केको थियो । उनलाई प्रहरीले दिउँसो साढे दुई बजेसम्म उपस्थित हुन अघिल्लो राति आदेश दिएको थियो ।
उनले शनिबारसम्म उपस्थित हुन मागेको म्यादलाई प्रहरीले अस्वीकार गरेको थियो । उनीविरुद्ध गैरजमानती वारेन्ट जारी भएको थियो ।
उनले बिहीबार दिल्ली हाई कोर्टमा दर्ता गराएको अगि्रम जमानतको अपिल फिर्ता लिनुपरेको थियो । कुनै विकल्प बाँकी नरहेपछि उनी बडो नाटकीय ढंगले श्रीमती, छोरी, भाइ र तीन वकिलका साथ दिउँसै दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
उनी चढेको विमानमै गोवा प्रहरी टोली पनि बसेको थियो । पत्रकारको बाक्लो उपस्थितले विमानस्थलको प्रवेशद्वारमा अड्केकी छोरीभित्र आउन नपाउँदा उनी आक्रोशित पनि बनेका थिए । तेजपाल र पत्रकारबीच यो क्रममा हल्का विवाद पनि भएको थियो । उनी तनावलाई लुकाउन मुस्कुराइरहेका देखिन्थे ।
'सत्यता स्वयं छर्लङ हुनेछ, प्रहरी जाँचमा सहभागी हुन बोलाएको थियो, त्यसैका लागि गइरहेको छु,' उनले भने । उनी सताधारी कंग्रेस निकट मानिने हुनाले विपक्षी भारतीय जनता पार्टी (भाजपा) र उनका सहयोगीहरू पूरै विरोधमा लागेका छ् । कंग्रेसी नेता तथा कानुन मन्त्री कपिल सिब्बलले आफू तहल्काको संस्थापक सदस्य एवं सहयोगदाता भएको स्वीकारेका छन् ।
ँमसँग बलात्कार भएको हो’ पीडित युवतीले एक टेलिभिजन च्यानलसँग तेजपालले बलात्कार गरेको बताएकी छन् । उनले आफ्नो सम्मानका लागि लडिरहेको र यसमा कुनै राजनीतिक षड्यन्त्र नभएको दाबी गरेकी छ् ।
उनले प्रहरी र मजिस्टे्रटसमक्ष पनि यही बयान दिएकी थिइन् । उनले अन्तसम्म यो चुनौतीपूर्ण लडाइँ जारी राख्ने बताएकी छन् । सिसीटिभी फुटेजमा पनि तेजपालले उनलाई लिफ्टभित्र तानिरहेको देखिएको छ । उक्त फुटेजमा दुई मिनेटमै हतास भएर युवती बाहिरिएको र तेजपालले उनलाई पछ्याइरहेको देखिन्छ । पीडितले बलात्कार भएको प्रमाणित गर्ने जिम्मेवारी कानुनको भएको बताएकी छन्् । एजेन्सीहरू :