पाणाजी मंसिर १६ ,
भारतको गोवा सेसन कोर्टले प्रतिष्ठित पत्रिका तहल्काका प्रधान सम्पादक ५० वर्षे तरुण तेजपालको अगि्रम जमानत अपिललाई शनिबार राति खारेज गरेको छ । सरकारी वकिलले यो गम्भीर प्रकृतिको अपराध भएकोले उनलाई थुनामा राखेर कारबाही चलाउन जोडदार माग गरेको थियो ।
जमानत माग्ने क्रममा देश छाडेर नभाग्ने विश्वास दिलाउन तेजपालले आफ्नो राहदानी र अन्य दस्तावेज अदालतमा जम्मा गर्न तयार भएका थिए । तर, अदालतबाट आउने आदेशको अनुमान गरिसकेका उनी पहिला नै गोवा अपराध शाखामा उपस्थित भएका थिए । उनलाई अबेर रातिसम्म पक्राउ गर्ने औपचारिकता प्रहरीले पूरा गरिसक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सहकर्मीसँग यौनशोषणको आरोपको सुनुवाइका लागि उनी शनिबार बिहान गोवा राज्यको अदालतमा उपस्थित भएका थिए । उनी अनुसन्धानमूलक पत्रिका तहल्काका संस्थापक हुन् ।
उनले भारतमा शक्तिको दुरुपयोग, भ्रष्टाचार तथा महिलाविरुद्ध हिंसाका विषयमा चर्चित अनुसन्धानमूलक पत्रकारिता गरेका छन् । तेजपालले पक्राउपूर्व जमानतका लागि आग्रह गरेका थिए । त्यहाँको कानुनअनुसार पक्राउ हुनबाट बच्न जमानतका लागि आग्रह गर्न सकिन्छ ।
अदालतमा प्रस्तुत हुनुभन्दा अगाडि तेजपाललाई प्रहरीले उक्त आरोपबारे दुई घन्टा सोधपुछ गरेको थियो ।
उनीमाथि यो महिनाको सुरुमा गोवाको एक होटलको लिफ्टमा महिला कर्मचारीमाथि यौन उत्पीडनको आरोप छ । कानुन व्यवसायीका समूहले घेरिएका तेजपालले पत्रकारहरूलाई प्रहरीको अनुसन्धानमा सहयोग गरेको बताए ।
पत्रिकाको प्रसिद्धिका कारण उनी हाल आमसञ्चारको शीर्ष समाचार बनेका छन् । उनले भारतीय पत्रकारितामा भ्रष्टाचार उदांगो पार्ने एक सबल हस्तीका रूपमा
चिनिन्छन् ।
उनको पत्रिकाले हालै लैंगिक असमानता र बलात्कारका विषयमा प्रहरी तथा न्यायिक अधिकारीमा रहेको असंवेदनशीलता तथा अधिकांश भारतीय पुरुषमा रहेको महिलाप्रति घृणाका विषयलाई सार्वजनिक गरेको थियो । गत साता तेजपालले छ महिनाका लागि पद त्यागेका थिए । उनी आडम्बरी भएको आरोप लगाइएको छ । चर्चित उपन्यासकार तथा सेलिब्रेटी पत्रकार तेजपालले बलात्कार नगरेको र आपसी सहमतिमा सम्बन्ध बनेको दाबी गरेका छन् । यो घटना सार्वजनिक भएपछि पीडितले पत्रिकाको नोकरी छोडेकी छन् । एएफपी :