भर्जिनिया मङ्सिर १३,
विजय थापा : भर्जिनिया
दोश्रो संबिधान सभाको निर्वाचन सफलता पूर्वक समाप्त भै सकेको छ । अब सरकार बनाउने तरखरमा बढी स्थान र मत प्राप्त गर्ने दल कसरतहरु गुणा भागमा व्यस्त छन् । यस पालिको निर्वाचनमा जनताले वागी उम्मेदवारलाई मात्र नभई जनजातिका ,संघियता र मधेशका मुद्दा उठाउने दल तथा उम्मेदवारहरुलाई गालामा चड्कन लगाई दिएका छन ।
वागी उम्मेदवारको जमानत जफ्त र लज्जाजनक पराजयको ठुलो धक्का लागेको छ । जनताले गालामा नील डाम बस्ने गरि मतदान द्वारा चड्कन हानी दिएका छन् । यिनीहरु राजनैतिक दलका सिपाही कदापी हैनन् ,दलको सिद्धान्त र आदर्श प्रति प्रतिबद्ध नभई केवल आफ्नो निजि स्वार्थ परिपूर्तिको दलमा प्रवेश गरिएको देखियो । एक बर्षको अन्तरालमा नेताहरुले झापड खाएको समाचारले डढेलो लागेको थियो भने आज यिनीहरुको जमानत जफ्त भएको समाचारले पनि बिश्व भर दनदनी आगो लागेको छ ।
वागीले त्यो भन्दा पनि ठुलो झापड बाघे झापु रन्थनिने गरि पाएका छन् । प्रजातन्त्रमा वाक स्वतन्त्रलाई प्रत्याभूति गरेको हुन्छ र मानिस स्वतन्त्र हुन्छ । उस्ले जे गर्न पनि ईक्षा राख्न सक्छ तर कुनै पनि दल भित्र प्रवेश गरेको छ भने दलको सिद्धान्त ,लक्ष्य ,अनुशासन र आचार संहिता संग चल्न सक्नु पर्छ नत्र उ घरको न घाटको हुन् जान्छ । दोश्रो संबिधान सभाको चुनाबमा जनताले वागी उम्मेदवारलाई घरको न घाटको बनाई दिएका छन् ।
वागी उम्मेदवारहरुको हैसियत र दल बिनाको वैयक्तिक अस्तित्वले लछार पाटो लगाउदैन भन्ने होसमा ल्याई दिएका छन् । प्रजातन्त्रमा छलफल र बिचार बिमर्श द्वारा हरेक कुराको निकास निकाल्ने समयमा आफ्नो अस्त्तित्वलाई आफैले मुल्यांकन गरि दलले आग्रह गरेको र सारा शुभ चिन्तकले गरेको निबेदनलाई अस्विकार गरि चुनाबमा केहि मुट्ठीभरका आसेपासेले हौस्याएको कारण घगडान नेताहरुहरुसंग टक्कर लिदा चित खेलाई दिइएका छन् । प्रख्यात हिन्दि शोले चलचित्रमा धर्मेन्द्रले रेलमा द्वन्द्ध गर्दा गर्दै 'विरू से टक्कर '' भनेको जस्तै सारा जीवन राजनीतिमा व्यतित गरेकालाई कपालको रौ पनि हल्लाउन सकेनन र जनताले गोप्य मातदान द्वारा धुलो चटाई दिए ।
हुन त आफ्ना कार्यकर्तालाई सदैब झोला बोकाई र भजन गाउन लगाउने नेताहरुको सौतिनी ब्यबहार पनि कम छैन र प्रतिभाशाली र दलको नेतृत्व हाक्न सक्ने नेतालाई किनारा लगाउने दलको प्रवृति हटेको छैन । यी वागी उम्मेदवारहरुका आफ्ना व्यथा र कथा पनि न भएका हैनन । दललाई सेवा गर्दा गर्दा जीवन नै सकिन्छ कि भन्ने भयले घुर्की स्वरुप वागी पनि दिएको हुन् सक्दछ । राजनीतिमा लागेको मानिसले धैर्य र शान्त हुन् सकेन भने उ राजनीतिमा नलागे पनि हुन्छा,प्रजातन्त्र प्राप्त गर्न १९४७ देखि अविरल रुपमा लागेको दलको नेतृत्व वर्गसंग जोरी खोज्नु भनेको हास्यास्पद मानिन्छ ।
६ दशक पार गरि सकेका प्रजातन्त्रका आदर्श र सिद्धान्तमा चलेको दललाई प्रजातन्त्र प्राप्त गर्न ४० बर्ष कुर्नु परेको थियो भने हिजो जन्मने बितिकै आज नै कुर्शीको दाउ ,सत्ता लिप्सा र पदको लोलुपता ताक्ने प्रवृतिलाई यसरि नै जनताले निरुत्साहित गर्दै गए भने यस्ता बागी उम्मेदवारहरुले सात जन्म सम्म पनि सोच्न बाध्य हुने छन् । हिन्दीमा उखान छ '' ऊट पहाडके नीचे '' ऊट लाई आफु ठुलो हु भन्ने घमण्ड हुन्छ अरे ,जब उ बिशाल पहाडको मुनि उभिन्छ र पहाड भन्दा सानो देख्दछ ।
अब यी वागी उम्मेदवारहरुले यहि ऊटको शिक्षा लिन आवश्यकता छ । आफै आत्मालोचना गरि सार्वजनिक रुपमा आम माफी माग्न सके सहानुभूति पाउन झिनो आशा हुन सक्दछ नत्र एक्लो बृहस्पति भईन्छ । दल बिना कुनै पनि राजनीति गर्ने मानिसको अस्तित्व हुदैन तर कहिले काही कागताली पनि पर्न सक्छ । केहि दिन अगाडी मात्र एक दल त्यागी अर्को दलमा प्रवेश गरेका एक वागी उम्मेदवारले बिजयी भएका छन् ।
ईतिहास हेर्ने हो भने केहि नेताहरुलाई जनताले साथ दिएको ईतिहासले देखाएको छ र कहिले भाग्यले पनि साथ दिन्छ । सधै भरि जनता बेवकूफ हुदैनन र यसपाली यस्ता नेतालाई पनि बाघे झापु दिएका छन् । गाठी कुरा धैर्यता ,अनुशासन ,प्रतिबद्ध ,आचार संहिता ,त्याग ,बलिदान र ईमान्दारी हुन् सके जनताले साथ् दिन्छन नत्र यहि गाई जात्रा हेर्न टुडीखेल गै रहनु पर्दैन । सबैमा यो चेतना जागोस ।.......................................................................अस्तु