मङ्सिर ७,
कालिकास्थान ४ डोटिकि तारा बिक १० सन्तानकि आमा हुन् । यसमध्ये २ जनाको मृत्यु भएको छ । २ पटक गर्भपतनसमेत गरेकि छिन् । भारतमा काम गर्ने ताराका श्रीमान् दशैंमा मात्र घर आउछन् । लामो समयको अन्तरालमा घर आएका कारण श्रीमान्ले कण्डम प्रयोग गर्न मान्दैनन् ।
थप बच्चाको चाहाना नभएपनि गर्भधारण गर्नु परेको ताराको भनाई छ । परिवार नियोजनका अन्य अस्थाई साधनबारे उनलाई जानकारी छैन । अस्थाई साधनबारे जानकारी नभएका कारण उनी अनिच्छित गर्भधारण बाध्य छिन् । घरमा सुत्केरी हुन नसके पछि गत माघमा मौवानगरदह स्वास्थ्य चौकी, डोटि आएकि ४२ वर्षे ताराको गर्भमै शिशुको खुट्टा बाहिर निस्किएका थिए । सिमित श्रोतसाधनमा पनि डोटिकि ‘डाक्टर्नी दिदी’ यशोदाले जटिल अवस्थाको प्रसुती गरि आमा र बच्चा दुबैको ज्यान जोगाईन् । उमेर ढल्केकि आमा, त्यसमा पनि उल्टो गर्भ, दुबैको ज्यान जोगाउनु सामान्य चुनौती थिएन ।
तारा बिक
महादेवस्थान ३ डोटिकि मालि बिष्ट ३ सन्तानकि आमा हुन् । ३० वर्षमै पाठेघर खसेकि मालिका २ छोरी र एक छोरा छन् । उनी एक छोराबाट ढुक्क छैनीन् । पाठेघर खसेकै अवस्थामा पनि छोराको चाहनाले गर्भधारण गर्न पुगिन् । ‘एउटा छोराको के भरोसा’ मालिले भनिन् ‘मेरो ज्यान गएजाला अर्को छोरा त चाहियो नी ।’ गत साउन २३ गते मालिको इच्छा पुरा भएको छ । तर उनी थलिएकि छिन् । बच्चा जन्माउन नसकेर झण्डै उनको ज्यान गएन । ‘डाक्टर्नी दिदी’ यशोदाले पाठेघर खसेकि सुत्केरी र बच्चा दुबैको ज्यान जोगाईन् ।
दशैंको टिकाको दिन पनि सुत्केरी गराएर मात्र उनले टिका लगाएकि थिईन् । ‘डाक्टर्नी दिदी’ यशोदालाई सलाम !
नियमित स्वास्थ्यकर्मि नुहुन, परिवार नियोजनका साधनबारे जानकारी नहुनु र नियमित गर्भजाँचबारे महिलालाई चेतना नभएका कारण मातृमृत्यु हुने गरेको करीब ४ हजार सफल सुत्केरी गराएकि ‘डाक्टर्नी दिदी’ यशोदा बताउछिन् ।
१५ वर्ष अघि हातमा कण्डम र पिल्स बोकेर परिवार नियोजनबारेमा जानकारी दिदै गाँउगाँउ डुल्दा यशोदालाई ‘फलानाकी श्रीमती बिग्रिई, लाज पनि मान्दिन !’ भन्दै गाँउलेले कुरा काट्थे । परिवार नियोजनसम्वन्धी जानकारी दिदै हिड्ने यशोदा अहिले तीनै कुरा काट्नेहरूकी ‘डाक्टर्नी दिदी’ भएकी छन् ।
रेडक्रसको परिवार नियोजन शाखामा ‘फिल्ड वर्कर’ भएर स्वास्थ्य सेवामा प्रवेश गरेकी ‘यशोदादिदी’ अहिले डोटी सदरमुकाम सिलगढीदेखि ११ कोस पर मौवानगरदह स्वास्थ्य चौकीमा सि. अनमी छिन् । गाउँमा कसैको टाउको दुख्दा होस् वा सुत्केरी गराउँदा उनले हात नलगाएसम्म बिरामीलाइ सन्चो भएको भान पर्दैन ।
कण्डम बाँड्दै गाउँगाउँ डुल्दाको अनुभव सुनाउँदै यशोदाले भनिन्,‘काम गर्ने अल्छीले गाउँगाउँ डुल्छे भन्दै कुरा काट्थे ।’ पछि उनले श्रीमानसँग सल्लाह गरिन् । अनमी पढेरै गाउँको सेवा गर्ने कुरामा श्रीमान्ले सहयोग गरे । अनमी पढ्ने उनको ईच्छा दिपायल–सिलगढी नगरपालिकाले पुरा गरिदियो ।
नगरपालिकाको छात्रवृत्ती कोटामा उनले सेती प्राविधीक शिक्षालयबाट अनमी पास गरिन् । त्यसपछि २०५६ कार्तिक १० गते मौवानगरदह स्वास्थ्य चौकीमा अनमी पदमा नियुक्त भईन् ।
बुवा केदारनाथ जोशी र आमा रुकणीको जेठो सन्तानका रुपमा २०३० चैत ३० गते पचनाली ८ कोटीगाउँमा जन्मिएकी यशोदाको बाल्यकाल दुःखजिलोमै बितेको थियो । ‘वाल्यकाल देखिनै छोरीको स्वास्थ्यकर्मी बन्ने रहर थियो’ बुबा केदारनाथले भने, ‘गाउँमा अरूभन्दा फरक स्वभावकी थिई । सबैलाई सहयोग गर्थी ।’
सुरुमा काम गर्दा धेरैले कुरा काटेकाले नै अनमी नै बनेर जीवनभर सेवा गर्ने भित्री ईच्छा जागेको यशोदा बताउँछिन् ।
‘अहिले कुरा काट्नेहरू नै घरमै आएर स्वास्थ्य सल्लाह लिन्छन्,’ उनी भन्छिन् । गाउँमा पहिलो पटक सुत्केरी गराउँदा असजिलो महसुस भएको उनको अनुभव छ । भन्छिन्, ‘गाउँमा सुत्केरीलाई छुनुहुँदैन भन्ने अन्धविश्वास कायमै छ ।’ सुरुवाती दिनमा सुत्केरी गराउँदा धेरैले आफूले छोएको पानी पनि नचलाएको तितो अनुभव उनले संगालेकी छिन् । अझै कतिपय पुराना मानिसले सुत्केरी गराउँछे भन्दै आफूलाई छुन नमान्ने गरेको उनी सुनाउँछिन् ।
आफ्नो कर्ममा कहिल्यै धरमर नभएर लागेकी यशोदाकै सक्रियतामा २०६२ सालदेखि मौवानगरदह स्वास्थ्य चौकीमा सुत्केरी गराउने व्यवस्था भयो ।
उनले त्यही वर्ष ६ जनालाई सुत्केरी गराइन् । त्यसयता उनले मौवानगरदह स्वास्थ्य चौकीमा २ हजार ४ सय २९ जना महिलाले सुरक्षित सुत्केरी गराएकि छन् । उनले हालसम्म करीब ४ हजार सफल सुत्केरी गराईसेकेकि छिन् ।
यशोदाको कर्म र क्रियाशिलताका कारण निकैको ज्यान जानबाट जोगिएको छ । यसबाट उनीमात्रै संतुष्ट छैनन, उनका श्रीमान शिक्षक धर्मराज ओझा पनि दंग छन् । सहकर्मी अहेव दिपक पनि सि. अनमी यशोदाको उपस्थितिले स्वास्थ्य चौकीमा सुत्केरी महिला र परिवार नियोजनसम्बन्धी जानकारी लिने महिलाको संख्या बढेकोमा उत्सुक छन् ।
महादेवस्थान १ हिन्नेकाँडास्थित निवासबाट हिँडेरै सेवा दिन पुग्ने यशोदाको सक्रियतादेखि आफन्त र गाउँले पनि खुशी छन् ।
यही लगनशिलताको कदर गर्दै उनलाई स्वास्थ्य खबरपत्रिकाले ‘ उत्कृष्ठ स्वास्थ्यकर्मि हेल्थ अवार्ड २०६९’ले सम्मान गरेको थियो । यसबाहेक एनएसआई कोनिक्स साईमन ईन्सिच्यूट र नेपाल सरकार स्वास्थ्य सेवा विभाग अनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले संयुक्त रुपमा सम्मानित समेत गरिसकेको छ । दुर्गम क्षेत्रमा काम गर्ने कर्मशील कर्मचारी भन्दै उनलाई गत फागुन २८ गते ‘नेस्नल अवार्ड’ प्रदान गरिएको थियो । सम्मान स्वरुप ५० हजार नगद र प्रमाणपत्रका साथ दोसल्ला ओढाईएपछि उनमा थप उर्जा पलाएको छ । उनले जिल्ला स्तरमा थुप्रै सम्मान,पुरस्कार थापिसकेकी छिन् । पाइएका पुरस्कार र सम्मान भन्दा पनि हिजोका दिनमा छोइछिटो गर्ने समाज नै आज आफ्नो सहयोगी बनेकोमा उनी ठूलो उपलब्धि देख्छिन् । (स्वास्थ्य खबर बाट)