गुप्तचरका कारण संसारका नेताहरु नतावमा तर भारतीय ढुक्क I

नयाँदिल्ली  कार्तिक ९ ,

अमेरिकाको गुप्तचरीका कारणले एसिया र युरोपका थुप्रै मुलुकका शीर्षथ नेताहरू अशान्त बने पनि भारतीय प्रधानमन्त्री मनमोहन सिंह भने ढुक्क छन् । सिंहसँग व्यक्तिगत मोबाइल फोन र फोन र इमेल ठेगाना नहुनु यसको कारण हो । उनको कार्यालयले शुक्रबार उक्त जासुसी काण्डसँग सिंहले तर्सनुपर्ने स्थिति नरहेको जनाएका छन् । 

बेलायती पत्रिका गार्डियनले शुक्रबार अमेरिकी जासुसहरूले विश्वका ३५ नेताको फोन टेप गरेको सार्वजनिक गरेपछि भारतीय सञ्चारमाध्यमहरूले सिंहबारे पनि चासो राखेका थिए । उक्त सूचीमा चीन र रुसका नेताहरू हुने अनुमान गरिए पनि गार्डियनले नेताहरूको नाम सार्वजनिक गर्ने हिम्मत गर्न सकेन । हुन त एक मुलुकले अर्कोको गुप्तचरी गर्नु खुल्ला गोप्य भइसकेको छ । तर, अमेरिकी अधिकारीहरूको दादागिरी शैलीमा काम गर्ने तरिकाले विश्वमै मानसिक आतंक सिर्जना गरेको छ । प्रधानमन्त्री सिंहसँग मोबाइल फोन र इमेल एकाउन्ट नभएकोले यस बारेमा चिन्ता गर्नु नपर्ने भारत सरकारले जनाएको छ । शक्तिशाली मुलुक भारतका प्रधानमन्त्री सिंहले कार्यालयको मेल ठेगाना र फोनबाट सम्पर्क गर्दै आएका छन् । भारतमा गत दशकमा मोबाइल फोनको प्रयोग व्यापक भएको छ । 

दूरसञ्चारका राष्ट्रिय नियमक संस्थाका अनुसार १ अर्ब २० करोड जनसंख्या भएको यस मुलुकमा ८७ करोड ६० लाख फोन छन् । यो उद्योग नै प्रधानमन्त्री सिंहको प्रशासनले भोगेको भ्रष्टाचार काण्डका आरोपको प्रमुख स्रोत पनि बनेको छ । सन् २००८ को एक काण्डबाट मुक्त हुनपूर्व दूरसञ्चारमन्त्री ए.राजा निकै प्रयास गर्दै छन् । भारतीय दूतावास तथा उसका न्युयोर्कस्थित राष्ट्रसंघको नियोगका कम्प्युटर तथा टेलिफोन ह्याक भएको आरोप लागेपछि भारतले वासिङ्टनसँग यस विषयमा स्पष्टीकरण लिने बताएको छ । एक वर्षका लागि रुसले शरण दिएको अमेरिकी गुप्तचर एड्वर्ड स्नोडेनले उपलब्ध गराएको गोप्य दस्तावेजको आधारमा युरोपेली पत्रिकाहरूले यसबारे निरन्तर खबर छापिरहेको छ । अमेरिकाले स्नोडेनविरुद्ध आपराधिक मामिलामा मुद्दा चलाउन चाहिरहेको छ । 

अमेरिकी गुप्तचरीलाई लिएर जर्मनीकी चान्सलर एन्जेला मर्केल, फ्रान्सका प्रधानमन्त्री फ्रान्स्वाँ होलान्ड र ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफले आक्रोश प्रकट गरिसकेका छन् । यो प्रकरणमा अमेरिका र अन्य युरोपेली मुलुकबीच तिक्तता बढ्ने सम्भावना छ । युरोपियन युनियनको सम्मेलनमा भाग लिन ब्रसेल पुगेकी मर्केलले मित्रबीच गुप्तचरीको गुन्जायस नहुने गरेको बताएकी छन् । सम्मेलनमा डिजिटल अर्थव्यवस्था, आर्थिक पुनर्बहाली र आप्रवासीको मुद्दामा छलफल हुने भनिए पनि अमेरिकाको जासुसी मुख्य मुद्दा बन्न पुगेको छ । युनियनका नेताहरूले गुप्तचरीलाई लिएर अमेरिकाविरुद्ध बढेको विश्वासले आतंकवादविरोधी युद्धलाई क्षति पुर्‍याउने बताएका छन् । 

उनीहरूले आतंकवादको मुद्दा कहिल्यै ओझेलमा पर्न दिन नहुने बताउँदै अरूको व्यक्तिगत गोपनीयताको कदर गर्दै अगाडि बढ्नुपर्ने अमेरिकालाई सुझाव दिएका छन् । अमेरिकातर्फ कटाक्ष गर्दै मर्केलले आफ्नो सहयोगी र मित्रमाथि विश्वास राख्नुपर्ने भनेकी छन् । उनले अमेरिकाका राष्ट्रपति बाराक ओबामासँग प्रष्ट रूपले आफ्नो धारणा राखिसकेको खुलाइन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले यस्तो कुनै गतिविधि नभएको बताइसकेका छन् । अन्य मुलुकझैं अमेरिकाले पनि गोप्य सूचना संकलन मात्र गरेको ह्वाइट हाउसका प्रवक्ता जे कार्नीले बताएका छन् । 

अमेरिका र अन्य मुलकका नागरिकबीच व्यक्तिगत गोपनीयतालाई लिएर बढेको चिन्तालाई कम गर्न हरसम्भव प्रयास गर्ने उनले स्पष्ट गरेका छन् । अमेरिकाले गर्दै आएको निगरानीमाथि अन्य युनियनका अन्य मुख्य सदस्यहरूले पनि चिन्ता व्यक्त गरेका छन् ।फ्रान्स र इटालीले पनि यसबारेमा असन्तुष्टि व्यक्त गरेका छन् । फ्रान्सका राष्ट्रपति होलान्डले यसबारेमा अमेरिकासँग वार्ताको पहल गरिने बताएका छन् । यो आपसी सहयोग र स्पष्ट सोचको दिशामा केन्दि्रत हुने एवं अन्य युरोपेली मुलुक सहभागी हुन चाहेमा स्वागत गरिने होलान्डले धारणा राखेका छन् । एजेन्सीहरू :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com