बेइजिङ कार्तिक ७ ,
चीन र भारतले दुई मुलुकबीचको सीमामा शान्ति र सदभावना कायम राख्नका लागि बुधबार सीमा रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापछि दुई देशले एकअर्काप्रति विश्वास हासिल गर्ने उपाय लागू गर्नेछन् । यसबाहेक दुई देशले अन्य आठ सम्झौताका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
तिनमा नालंदा विश्वविद्यालय, सीमा वारपारका नदी, सडक र बिजुलीमा सहयोग बढाउने छन् । यसअघि बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको थियो । रुस भ्रमण सकेर भारतीय प्रधानमन्त्री सिंह मंगलबार बेइजिङ पुगेका हुन् ।
चीन र भारत दुवै मुलुकले सहयोग र मित्रता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सीमा सुरक्षा सम्झौताबारे विस्तृत विवरण दिइएको छैन ।
यसमा दुई सैनिकबीच राम्रो सञ्चार सम्पर्क कायम गर्ने प्रावधान भएको अनुमान गरिएको छ ।
भारतीय प्रधानमन्त्री सिंहले चीन तथा भारतको जनसंख्या दुई अर्ब ५० करोड भएको र दुई मुलुकले हात मिलाउँदा विश्वको ध्यानाकर्षण हुने उल्लेख गरे । यस सम्झौताबाट सीमामा शान्ति, स्थिरता, पूर्वानुमानका लागि एक औजार थपिने उनले उल्लेख गरे ।
सन् १९६२ मा छोटो समयका लागि युद्ध गरेका यी दुई मुलुकबीचको सीमा कहिल्यै राम्रोसम्म खिचिएको छैन । यस वर्षको अपि्रलमा भारतले चिनियाँ सेना आफ्नो सीमाको २० किलोमिटरभित्र पसेको आरोप लगाएको थियो । चीनले भने उक्त आरोपको अस्विकार गरेको थियो ।
चिनियाँ प्रधानमन्त्री लीले दुई पक्षले चीनको दक्षिण-पश्चिमी भागमा आतंकवादविरोधी तालिममा भाग लिने र यसले आतंकवादविरुद्ध युद्ध गर्न सहयोगलाई बलियो बनाउने उल्लेख गरे ।
चीन भारतको सबैभन्दा ठूलो व्यापार साझेदार हो र दुई मुलुकबीच सन् २००१-०२ मा २.१ अर्ब अमेरिकी डलर बराबर व्यापार भएकोमा गत वर्ष यो बढेर ६७.८३ अर्ब अमेरिकी डलर बराबर व्यापार भएको थियो ।
भारतको चीनसँगको व्यापार घाटा सन् २००१-०२ मा १.०८ अर्ब अमेरिकी डलर भएकोमा गत वर्ष ४०.७७ अर्ब अमेरिकी डलर बराबर पुगेको थियो । भारतीय प्रधानमन्त्री सिंहको यो चीन यात्रा प्रधानमन्त्रीको रूपमा सम्भवतः अन्तिम हो । एजेन्सी :