भ्रष्टाचारी ठहर भपछि तालुमा हात राख्दै लालु I

पटना आश्विन १५ -,

भारतको केन्द्रीय जाँच ब्युरो (सीबीआई) को विशेष अदालतले सरकारका एक क्षेत्रीय सहयोगी राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादव र पूर्वमन्त्री जगन्नान मिश्रसहित ४४ जनालाई चारो खरिदमा भ्रष्टाचार गरेको आरोपमा सोमबार दोषी ठहर गरेको छ । अदालते सात दोषीलाई ३/३ वर्ष सजाय सुनाइसकेको छ । यादवसहित ३८ ले कारागारभित्रै आउँदा बिहीबार 'भिडियो कन्फेन्सिङ' मार्फत सजाय सुन्ने छन् । 

यादवलाई विशेष खाले बिहारी एवं चुट्किला शैलीमा बोल्ने नेताको रूपमा चिनिन्छ । उनको चरित्रको दुरुस्त नक्कल गरेर थुप्रै धारावाहिक र फिल्ममा दृश्यहरू राखिसकिएको छ । पटना विश्वविद्यालयमा छात्र नेताको रूपमा राजनीति सुरु गरेका कमेडियन स्वभावका यादवको अब नराम्रो दिन सुरु भएको छ । अदालतको फैसलालगत्तै उनलाई राँचीको बिरसा मुन्डा जेल लगिएको थियो । उनको अनुहारको चमक गायब भएको थियो भने उनका सहयोगी पूर्वमन्त्री मिश्र हनुमान चालिसाको पाठ गरिरहेका थिए । लालु रिहा हुने आशमा पटाका बोकेर तिहार मनाउन आएका समर्थकहरू उनको पक्षमा नाराबाजी गर्दै रित्तै फर्केका थिए । १७ वर्षपछि अदालतले यो फैसला सुनाएको हो । उनीबाहेक अन्य ३७ दोषीलाई पनि जेल चलान गरिएको छ । 

यादवको दलले २००५ सम्म यस राज्यमा १५ वर्षसम्म शासन चलाएका थिए । यादव पछि संघीय रेलमन्त्री भएका थिए । सन् १९९७ मा उक्त चारा काण्ड देखापरेपछि यादवले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले सन् २००५ सम्म उक्त पदमा पत्नीलाई राखेर शासन चलाएका थिए । उनको सरकारमाथि अस्तित्वमा नभएको कम्पनीलाई चारा आपूर्तिको नाउँमा ९ सय ५० करोड भारतीय रुपैयाँ भुक्तानी गरेको आरोप लागेको थियो । पटना हाई कोर्टले यो मुद्दा सीबीआईलाई सुम्पेको थियो । यो घोटलामा यादव सन् २००० मा पक्राउ परेर अस्थायी जमानतमा छुटेका थिए । भारतमा अपराधीलाई संसद्मा रहन प्रतिबन्ध लगाउने सर्वोच्च अदालतको नयाँ निर्णयअनुसार सांसद पद गुमाउने उनी पहिलो राजनीतिज्ञ हुने पंक्तिमा छन् । यादव भारतका पूर्वसंघीय मन्त्री हुन् । ६६ वर्षे यादवको दलले सत्ताधारी गठबन्धनलाई समर्थन गरिरहेको छ । चारा खरिदमा भ्रष्टाचार भएको सन् १९९६ मा पहिलोपटक सार्वजनिक भएको थियो । 

भारतको सर्वोच्च अदालतले हालै राष्ट्रिय तथा प्रान्तीय सांसदहरू गम्भीर अपराधमा दोषी प्रमाणित भएमा सांसद हुन अयोग्य हुने फैसला गरेको थियो । बिहारमा गरिब गाउँलेका वस्तुभाउलाई चारो उपलब्ध गराउन ३८ करोड रुपैयाँ बराबरको खरिद हुँदा भ्रष्टाचार भएको आरोप लगाइएको थियो । त्यतिबेला यादव राज्यका मुख्यमन्त्री थिए । केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) का वकिल एके सिंहले लालु षड्यन्त्र, भ्रष्टाचार तथा जालसाँजको अभियोगमा दोषी प्रमाणित भएको जानकारी दिए । झारखण्डको राँचीमा सीबीआई विशेष अदालतबाट प्रहरीले लैजाँदै गर्दा यादवले कुनै प्रतिक्रिया दिएनन् । सन् २००० सम्म झारखण्ड बिहारको एक भाग थियो । उनीविरुद्ध बिहीबार फैसला आउने छ । अदालतले दण्डसजाय सुनाउनुअघि यी वरिष्ठ राजनीतिज्ञलाई प्रहरीले थुनामा राखेको थियो । यादवलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुनका जानकारहरूले बताएका छन् । 

सर्वोच्चले जुलाईमा फौजदारी अभियोगमा दुई वर्षभन्दा बढी काराबासको सजाय भोगेकालाई सांसद हुन प्रतिबन्ध लगाएपछि भारतको राजनीतिमा विवाद उत्पन्न भएको छ । यादवले कुनै गल्ती नगरेको दाबी गरेका छन् । प्रधानमन्त्री मनमोहन सिंहको सरकारले अदालतको उक्त निर्णयका विरुद्ध सांसद बचाउको व्यवस्था गर्दै अध्यादेश तयार गरी राष्ट्रपतिको हस्ताक्षरका लागि पठाएको थियो । यसो भए पनि कंग्रेेस पार्टीका उत्तराधिकारी ठानिएका राहुल गान्धीले शुक्रबार सरकारको यस अध्यादेशलाई अर्थहीन बताएका थिए । 

यसपछि अब यस अध्यादेशमा राष्ट्रपतिबाट हस्ताक्षर हुने स्पष्ट भएको छ । अध्यादेश जारी हुन नसकेमा यादव संसद्बाट यसरी फ्याँकिने पहिलो व्यक्ति हुनेछन् । कंग्रेसका सांसद रसिद मसुदले पनि अर्को एक मुद्दामा आफ्नो पद गुमाउने स्पष्ट छ । यादवका उत्तराधिकारी तेजश्वीले बाबुले यस सजायका विरुद्ध पुनरावेदन दिने बताउँदै फसाइएको बताए । दलका प्रवक्ता मनोज झाले यस्तो फैसला आउने पूर्वअनुमान गरिएकोले पार्टी एक जुट भएको र अन्ततः लालु निर्दोष प्रमाणित हुने बताए । एएफपी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com