बझाङ भाद्र १२,
जगत खड्गा : भाइरल ज्वरोका कारण बझाङमा १५ दिनमा पाँच जनाको मृत्यु भएको छ। यहाँको काँडा–४ का आठ वर्षीय भूपेन्द्र बोहराको शुक्रबार र सात महिनाकी ललिता बोहराको आइतबार भाइरल ज्वरोले मृत्यु भएको स्थानीय गोरख बोहराले जानकारी दिएका छन्। यसअघि काँडा– ४ का ३५ वर्षीय चन्दमल बोहरा र ४३ वर्षीय दीर्घ बोहरा तथा काँडा–३ की ५३ वर्षीया मन्धरादेवी बोहराको मृत्यु भएको थियो।
जिल्ला स्वास्थ्य कार्यालयले भाइरल नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली गाउँ पठाएको छ। जिल्ला अस्पतालका डाक्टर दिनेश उप्रेतीसहित ६ जनाको टोली मंगलबार गाउँमा पुगेको स्वास्थ्य कार्यालयका निमित प्रमुख भानुभक्त जोशीले जानकारी दिए। काँडास्थित स्वास्थ्य चौकी एक वर्षदेखि स्वास्थ्यकर्मीविहीन थियो।
राज्यले जिल्ला अस्पतालका बिरामीलाई ४०, प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा ३५ र स्वास्थ्य चौकीमा २५ प्रकारका औषधि निःशुल्क दिने गरेको भए पनि काँडामा स्वास्थ्यकर्मी नहुँदा सिटामोलसमेत पाउन सकेका छैनन्। 'जिल्ला स्वास्थ्य र प्रशासन कार्यालयलाई गाउँमा भाइरल ज्वरोले सताएको जानकारी गाविसको सिफारिससहित लिखित र मौखिक रूपमा गराए पनि सुनुवाइ नभएको स्थानीयले बताएका छन्।
भाइरल फैलिएपछि एक साताका लागि विद्यालयसमेत बन्द गरिएको धलौना माध्यमिक विद्यालयका शिक्षक ध्वज विष्टले जानकारी दिए। 'विद्यार्थी लाइनमै ढल्न थालेपछि विद्यालय बन्द गराएका हौं,' उनले भने। काँडा गाविस सदरमुकाम चैनपुरदेखि तीन दिनको पैदल यात्रामा पुग्न सकिन्छ।