काठमाडौ, असार २२ ,
महिलाहरू आकर्षक देखिन हाइहिल लगाउने गर्छन् । तर यस्तो अभ्यासले स्वास्थ्यलाई हानि पुर्याइरहेको हुन्छ ।
कलेज अफ पोडिएट्रीको एउटा नयाँ सर्वेक्षणमा अनुसन्धानकर्ताहरूले दाबी गरेअनुसार, हाइहिलवाला जुत्ताचप्पल लगाएको सवा एक घन्टा पछिदेखि नै खुट्टा दुख्न थाल्छ । यसबाट थुप्रै गम्भीर रोग हुन सक्ने सम्भावना हुन्छ ।
उक्त सर्वेक्षणमा सहभागी करिब आधा महिलाले हाइहिल लगाउनाले खुट्टामा समस्या उत्पन्न भएको स्वीकार गरे । एक तिहाइ महिलाले फेसनको नाममा यस्ता जुत्ताचुप्पल लगाउने गरेको जानकारी दिए, जो खुट्टामा 'फिट' नै हुँदैनन् । 'हाइहिलवाला जुत्ताचप्पल लगाउनाले खुट्टाको हाड भाँचिने, नसा बाङ्गिने समस्या उत्पन्न हुन सक्छ,' उक्त अध्ययनका प्रमुख अनुसन्धानकर्ता माइक्रोसपmट ओ निलले चेतावनी दिएका छन् । उनका अनुसार, यस्तो समस्या गम्भीर भएपछि शल्यक्रिया गर्नुपर्ने अवस्थासमेत आउन सक्छ ।
अध्ययनमा देखिए अनुसार, हाइहिल लगाएको औसतमा सवा घन्टापछि खुट्टा दुख्न थाले पनि २० प्रतिशत महिलाले त्यस्ता जुत्ताचप्पल लगाएको १० मिनेटदेखि नै समस्या सुरु हुने गरेको जनाए ।
सामान्यतः महिलाहरू हाइहिलवाला स्यान्डिल लगाएर क्लब वा पबमा जान्छन् । तर खुट्टा दुख्ने भएकोले नाच्न पाउँदैनन् । त्यसपछि खाली खुट्टै नाच्ने रहर पूरा गर्छन् । सर्वेक्षणमा सहभागी २८ प्रतिशत महिलाले यो कुरा स्वीकार गरे ।
यस्तै एक तिहाइ सहभागीले पीडा बढ्नुको कारण कहिलेकाहीं स्यान्डिल फुकालेर नांगा खुट्टा हिँड्नुपरेको समेत खुलाए ।
अध्ययनमा सहभागी ९० प्रतिशत महिलाले कुनै न कुनै समय खुट्टासम्बन्धी समस्या सामना गर्नुपरेको बताए । खुट्टाको धेरै समस्या २० प्रतिशत महिलामा सबैभन्दा बढी थियो ।
विडम्बना के छ भने, हाइहिलले यतिका समस्या दिँदासमेत १९ प्रतिशत महिलाले यसलाई गम्भीरतापूर्वक लिएनन् । उनीहरू खुट्टा दुखे पनि उपचार गराउँदैनन् ।
अध्ययनअनुसार, सबैभन्दा ठूलो संख्यामा युवतीहरूले हाइहिल लगाउने गरेका छन् । १८ देखि २४ वर्ष उमेर समूहका २० प्रतिशत युवती ६ इन्च अग्ला जुत्ताचप्पल लगाउँदासमेत आत्तिँदैनन् । यस्तै, २५ देखि ३४ वर्ष उमेर समूहका १० प्रतिशत र ३५ देखि ४४ वर्ष उमेर समूहका तीन प्रतिशत महिलाले यति नै अग्ला स्यान्डिल लगाउने गर्छन् । एजेन्सी: