समाजमा महिला, हिँसा र नामेट चुनौती I

नेपाली समाजको गम्भीर चुनौतीका रूपमा विद्यमान महिला हिंसाका अनेक रूपले वर्तमान अवस्थामा ठूलै पखेटा फिँजारेको छ । पत्रपत्रिकाका पानाहरू त्यस्तै समाचारले रङ्गएिका छन् र समाजको नाङ्गो यथार्थले विवेकशील आमजनताको मनमस्तिष्कमा क्रूर प्रहार गरेको छ । 

बलात्कारपछि हत्या, बाबुद्वारा बलात्कार, सामूहिक बलात्कार, पाँच वषर्ीया बालिका बलात्कृत, बोक्सीको आरोपमा मलमूत्र ख्वाई अमानवीय यातनाजस्ता समाचार शीर्षकहरूले हरेकको मथिङ्गलमा एक प्रकारको तरङ्ग ल्याएकै हुनुपर्छ। 

यस्तो परिवेशमा महिला अस्मिता वा सम्मानको प्रश्न सुरक्षित रहनेमा शङ्का गर्नु स्वाभाविक हो जसले नेपाली समाजको मानसिकतामाथि नै गम्भीर प्रश्न खडा गर्छ। आखिर महिला हिंसा हुनुका कारण के हुन् त ? उत्तर अनेकौं आउलान् । कसैले पितृसत्ता त कसैले दण्डहीनतालाई कारण मान्लान् भने कसैले मुलुकको संक्रमणकालीन अवस्थालाई दोष देलान् । कसैको विचारमा महिला नै दोषी ठहरिएलान् त कसैले यसलाई सञ्चार माध्यमहरूको प्रचारबाजी पनि भन्लान्। 

यहाँ प्रश्न उत्तरका लागि होइन महिला समस्याका लागि हो भन्ने कुराचाहिँ कतिको मनमा होला ? नेपाली महिलाका समस्या अनेकौं छन् । आर्थिक परनिर्भरता, चेतनाको कमी, तुलनात्मक रूपले जिम्मेवारीको बोझजस्ता धेरै कुराले महिलालाई पछि पारेका छन् र उनीहरूमाथिको प्रताडना जो होचो उसको मुखमा घोचो भनेजसरी चरितार्थ भएको छ । प्राकृतिक रूपले नै बढी जिम्मेवारी पाएका नारी जातिलाई यथोचित सम्मान दिन नजान्ने अचेतन पुरुष चरित्रहरूका कारण महिला हिंसामा बल मिलेको छ तसर्थ महिलाहरू हरेक अवस्थामा विशेष सम्मान दिन योग्य हुन्छन् भन्ने कुरा आम रूपमा बोध हुन नसकुन्जेल महिला हिंसा रोकिने छैन । 

त्यसैले सरोकारवाला निकायहरूले चेतनाको विस्तारमा आफूलाई केन्दि्रत गराउनु आवश्यक छ । महिला हितका क्षेत्रमा काम गरिरहेकाहरूले समस्याका हाँगाबिँगा छिमल्नतिर मात्र नलागी मूल जरो नै उखेल्ने कार्यमा केन्दि्रत हुनु जरुरी छ । आम नारी-पुरुष दुवैमा अझ भनौं समाजका हरेक तह र तप्कामा समान रूपमा चेतनाको विकास हुन सके हिंसाजन्य समस्याहरू अवश्य पनि निराकरण हुनेछन् र चुनौतीका रूपमा विद्यमान महिला हिंसा समाप्त भएर जानेछ । सामाजिक चेतनाको स्तर माथि उठाउने कार्य त्यति सरल नभए पनि सम्बन्धित पक्षको इमान्दारीपूर्ण प्रतिबद्धता भयो भने पटक्कै असम्भव छैन । त्यसैले सबै मिलेर सभ्य समाज निर्माणका लागि चुनौतीका रूपमा रहेको महिला हिंसालाई निर्मूल गर्नु नै आजको आवश्यकता हो ।नारी!!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com