कविता- "स्वीकार छ मृत्यु दण्ड" By, कल्पना राई"खुशी" I



अस्त-ब्यस्त समय
परिवर्तित सोचका लहरहरु,..
भावनाको चट्टानमा घरि-घरि ठोकिदा,
ध्वनि हुदै प्रति-ध्वनि गुन्जन्छ,
मन,मुटु र मस्तिष्कका भित्ताहरुमा,
ठुल-ठुला अवाज दिएर,..
शान्ति,....शान्ति,...शान्ति,.....

एक्कासी ज्यान मार्न पुग्छु,
अशान्तिको,
असत्यको,
कु-बिचारको,..
निर्मम हत्या गर्छु/
पटक- पटक धारिलो खुकुरी प्रहार गर्दै,
सैतान रुपी रिस नमरुञ्जेल,
त्यस माथी म प्रहार गरिरहन्छु,
रक्ताम्य हुन्छु/
मेरा आखाँहरु राता-रात हुन्छन/
श्वास-प्रश्वास तेज संग बढ्छ/
दन्त र दाराहरु एक अर्कामा खाप्पिएका छन्/
धरातलको चट्टान झैँ,...

एक हुल प्रहरी मलाई घेरा हाल्छ/
म ज्यानमारा घोषित हुन्छु/
कानुनले कब्जा गर्छ/
म अबोध बनेर हत्या कबुल गर्छु/
निश्चिन्त साथ् कैदी बन्छु/
फेरिन्छन मेरा वस्त्रहरु,...
फेरिन्छ बातावरण,
अध्यारो कोठा भित्र चिसो छिडीमा,
फलामका मोटा-मोटा छड भित्र कैद हुन्छु/
एक सुगा जस्तो/

एक सिपाही सोध्छ,
केहि चाहिए भन्?
हत्त न पत्त म बोल्छु,
एक कलम,
जो-कहिले न-रित्तियोस,....
एक खाली पाना,
जो कहिले न-सकियोस,......

जहाँ लेख्न सकूँ सु-बिचार,
जहाँ पोख्न सकूँ मानवता ,
अनि,
समानताको रेखा तान्दै
कोर्न सकूँ शब्दका पुष्प गुच्छाहरु,....

बन्द जेल बाट,
म कैदीको सोचहरु,....
अध्यारो छिचोल्दै,
संसार सामु पुर्याउन सकूँ,
मेरो युद्धको संदेश,
शान्तिको उपदेश,
सृजना गर्न एक समान परिवेश,....

घृणा गर्लान यो कैदी लाई,..
यो बिचारलाई,...
यो हत्यारालाई,...
शिर झुकाई कबुल छ/
हत्याराको तक्मा,...
सिरोपर गर्छु कर्तुत,...

तर!
संसारले बुझुन,
दुनियाले सुनुन,
हरेक प्राणीले मनन गरुन,
अनि,प्रकृतिले पनि,....

हो!म .......
अ-शान्तिको हत्यारा हुँ/
कु-बिचारको हत्यारा हुँ/
अ-सत्यको हत्यारा हुँ/
म अनि म भित्र सत्यताको लेप लाग्नु,
भुल हो भने,
गल्ति हो भने,
खुशी साथ स्वीकार्छु/
मृत्यु दण्ड पनि,.........


कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com