फेसन परिबर्तनको कुची

काठमाण्डौ बैशाख १९,

फेसनको सम्बन्ध मानिसहरूको जीवनसँग छ। फेसन त्यस्तो कुची हो जसले मानिसको व्यक्तित्वमा आमूल परिवर्तन ल्याइदिन्छ। धेरैजसोले आफूलाई फेसन परेडमा उभ्याउन चाहन्छन्। र्‍याम्पमा देखाइने पहिरन तथा त्यसलाई सिर्जना गर्ने डिजाइनरको तालमेल हेर्ने हो भने केही समययता फेसन जगत्ले ठूलो फड्को मारेको अनुभव हुन्छ। 

गत महिना सम्पन्न चार दिने फेसन सप्ताह त्यस्तै अनुभव छोडेर गएको छ। केही समययता बर्सेनि आयोजना हुँदै आएको यस प्रकारको फेसन शो यसपटक होटल सोल्टी क्राउन प्लाजाको मेघा मल्हार प्रेक्षालयमा सम्पन्न भएको थियो। फेसन शोमा उत्कृष्ट शैलीका पहिरनका साथ नेपाली तथा भारतीय मोडलहरू उत्रिए। शोमा प्रदर्शन गरिएका परिधानहरूले दर्शकहरूको प्रशंसा पाए। 

ती डिजाइनर पहिरनहरू धेरैको क्यामेरामा कैद भए भने कतिले केही डिजाइन मन पराएर खरिद गर्ने मनसाय पनि व्यक्त गरे। चार दिन चलेको शोमा नेपालका उपल्लो वर्गको बाक्लो उपस्थिति देखिन्थ्यो। शोको चारै दिन रोमाञ्चक तथा नौलो प्रतीत हुन्थ्यो। हरेक दिन नयाँ-नयाँ डिजाइन प्रस्तुत भएको उक्त शोमा नेपालका विभिन्न क्षेत्रका सेलिब्रेटी पनि र्‍याम्पमा उत्रिएका थिए। फेसन सप्ताहभरि नै फेसन डिजाइनर, मेकअप आर्टिस्ट, हेयर डे्रसर, कोरियोग्राफर, एमसी, मोडलहरूले निकै मेहनत गरेर सप्ताहलाई सफल बनाए। 

फेसन सप्ताहमा विशेष गरी गाउन, स्कर्ट, साडी, लेहेंगा, कुर्ता-सुरुवाल, वान पिस आदि विविध शैली समेटिएको थियो। फेसन सप्ताह डिजाइनरहरूका लागि राम्रो प्लेटर्फम पनि बनेको थियो। शोमा विवेक कपूर, प्रेम देव, रीमा गुरुङ, खुश्बु डंगोल, झरना थापा, समा बानु, नीलिमा मादेन लिम्बू आदि डिजाइनरका परिधानलाई सबैले रुचाएका थिए। यस वर्षको फेसन विकमा हलुका खालका फेबि्रक तथा उज्याला रंगको बाहुल्य पाइयो। नारी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com