विहेमा सहयोगी बनि अठ्ठाइस हजार लिएर टाप

काठमाण्डौ बैशाख १५,

बैशाख महिना विवाहको लगन हुने महिना नै हो । विवाहको बन्धनमा बाधिनेहरूका लागी बैशाख महिना निकै नै उपयुक्त महिना पनि हो । अहिले विवाह गर्नेहरू चहलपहल पनि निकै बढेको छ । काठमाडौका पार्टी प्यालेस, बन्क्वेटहरू अहिले प्राय विवाहका उत्सवहरूका लागि भरिभराउ छन् । विवाहमा जाने र त्यसको पार्टीमा जाने अहिले लहर नै चलेको छ । 

यसैबिच, शुक्रबार राजधानीको सामाखुसीस्थित एक पार्टी प्यालेसमा विवाहका क्रममा भएको एक घटनाले सबैलाई चकित समेत बनाएको छ । विवाहमा चकित बनाउनुको कारण बेहुला-बेहुली या उनका आफन्त नभई एक चोरले गरेको कर्तुत हो । विवाहका क्रममा विवाहमा आएर सहयोगीको रूपमा जग्गेमा काम गर्दै दुलाहा-दुलहीलाई गर्नुपर्ने कामलाई अर्थ्याउँदै, र पण्डितले भनेका कुराहरू गर्न लगाउँदै अन्त्यमा लगनगाँठो नै चोरेर भागेका छन् । 

दुलाहा-दुलहीले लगनगाँठो समातेर जग्गे घुम्ने बेलामा मात्र थाहा भयो कि अघिसम्म आफूलाई सहयोग गर्ने व्यक्ति न त केटा पक्षका, नत केटी पक्षका, न त पण्डित पक्षका, ती त रहेछन् एक चोर । जग्गे घुम्ने बेला लगनगाँठो खोज्दा लगनगाँठो पनि भेटिएन र ती सहयोगी बनेका मान्छे पनि नदेखेपछि बल्ल थाहा भयो ती कसैको आफन्त या सहयोगी नभएर चोर रहेछन् । विवाहमा रहेका कसैलाई पनि छनक नै भएन की ती व्यक्ति चोर हुन् । सबैले सोचे कोही आफन्त होलान् र विवाहमा सघाइरहेका होलान् । 

तर, जब उसले मौका पायो लगनगाँठो नै चोरेर त्यहाँबाट टाप ठोक्यो । ती चोरले दुलहीका आमालाई समेत लगनगाँठोमा धेरै पैसा राख्न उक्साएका थिए । यही उक्साईमा दुलहीकी आमाले पनि १४ हजार राखेकी थीइन् भने दुलही पक्षले राखे जती नै पैसा राख्नुपर्ने चलन रहेकाले दुलाहा पक्षकाले पनि सोही बराबरको रकम राखेका थिए । 

सो लगनगाँठोमा त्यसपछी २८ हजार रकम भएको थियो । ती चोरले उपयुक्त मौका कुरिरहेका थिए । उनले खाना खाने बेलामा सबै त्यसतर्फ लागेका बेला मौका छोपेर भागेका हुन् । यस घटनापछी प्रहरीलाई बोलाइयो र हल्ला गरियो तर चोर त्यहाँ नजिकै भेटिएन । क्यामराबाट चोरको अनुहार त पत्ता लाग्यो तर चोर भने गाडि चढेर भागेको बताइएको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com