मलेसिया पुगेका सप्तरीका आठ युवा अलपत्र

सप्तरी, वैशाख १०,

करिब एक वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सप्तरीका आठ युवा त्यहाँ अलपत्रमा परेका छन्। सम्झौताअनुसारको पारिश्रमिक दिनुपर्ने माग गरेका कारण कम्पनीले राहदानी जफत गरी कामबाट निष्कासन गरेपछि उनीहरु अलपत्रमा परेका हुन्। 

कम्पनीले एक्कासी कामबाट निष्कासन गरेपछि सप्तरीको राजविराज नगरपालिका-१० निवासी शिवशङ्करप्रसाद शर्मा, सोही ठाउँका भरत नारायण यादव, राजेश चन्द्र यादव, जयनारायण साह, राजविराज नगरपालिका-९ निवासी रञ्जित कुमार यादव, राजविराज नगरपालिका-८ निवासी प्रमोद कुमार साह, सप्तरीको बेल्ही चपेना गाविसका गुलनारायण मुखियाँ र खडकपुर अमरैयणका जितेन्द्र साहु अलपत्रमा परेका हुन। 

काठमाडौँको सुभास ह्युमन रिसोर्सेस प्रालिका स्थानीय एजेण्ट सप्तरीको बेल्ही चपेना गाविस निवासी परशुराम यादवमार्फत मलेसियाको ...ताई सन लिम कि फुड्स इण्डस्ट्रिज' मा काम गर्न पुगेका उनीहरुलाई अचानक आज बिहान कम्पनिले निष्कासन गरेपछि अलपत्रमा परेका छन्। बिहानै कम्पनीले कामबाट निकाली दिएपछि आफूहरु मलेसियाको सडकमै भोकभोकै बस्न बाध्य भएको उनीहरुले टेलिफोनमार्फत बताएको बिच्चलीमा परेका युवकहरुको परिवारजनले बताएका छन्। 

वैदेशिक रोजगारीमा जानुअघि कम्पनिले दैनिक आठ घण्टा अनिवार्य काम र तीन घण्टा ओभर टाईम गरेबापत आठसय ५३ मलेसियन रिङ्गेट दिने सहमतिपत्रमा उल्लेख भएपनि सोअनुसार कम्पनीले पारिश्रमिक नदिने गरेको बिच्चलीमा परेको आफ्ना छोराले टेलिफोनमा बताएको शिवशङ्करका पिता राजकुमार शर्माले बताए । 

सहमतिअनुसार पारिश्रमिक दिनुपर्ने माग गरेपछि कम्पनिले आफूहरुलाई कामबाट निष्कासन गरेको शिवशङ्करलाई उद्धत गर्दै उनका पिता राजकुमारले भने, 'निष्काशन गरेको कम्पनीले एक हजार ८० मलेसियन रिङ्गेट तिरेमात्र नेपाल फर्काउने बताएपछि उनीहरु थप चिन्तामा डुबेका छन्।' विच्चलीमा परेकाहरुको उद्धार गरी न्याय दिलाई दिन पीडित युवकहरुका परिवारजनले स्थानीय प्रशासन र सरकारसँग आग्रह गरेका छन्। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com