अध्यक्ष रेग्मीले गरे ललितपुर महोत्सव अवलोकन

ललितपुर, चैत १९ ,

चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आज ललितपुर महोत्सव अवलोकन गरेका छन् । अध्यक्ष रेग्मीले आज अपराह्न पाटनढोकामा गणेशको मूर्ति अवलोकन गर्नाका साथै मङ्गलबजारस्थित भण्डारखाल बगैंचामा राखिएका व्यावसायिक स्टलहरुको अवलोकन गरी जानकारी लिएक थिए ।

त्यसैगरी अध्यक्ष रेग्मीले पाटनको च्यासलस्थित ज्यापु प्रज्ञा भवनमा पुगेर त्यहाँको सङ्ग्रहालयको अवलोकन समेत गरे । ललितपुरको परम्परागत कला, संस्कृति र सम्पदाको प्रवर्द्धन तथा स्थानीय जनताको सामाजिक-आर्थिक विकास गर्ने उद्देश्यले आयोजित महोत्सवमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको छ।

निकै लामो समयदेखि हुन नसकेको अष्टमातृका नाच ललितपुर महोत्सवका अवसरमा देखाइएको छ। सो नाच दशैंको बेलामा मात्र देखाइने गरिन्थ्यो। भूत प्रेतबाट राज्य र जनताको सुरक्षाका लागि भनेर लिच्छवी राजा गुणकामदेवले सो नाच चलाउन सुरु गरेको बताइन्छ।

उनले सुरुमा १२/१२ वर्षमा यो नाच चलाउन थालेको भएपनि करिब सात सय वर्षअघिदेखि वर्षमा एक पटक नाच देखाउने परम्परा सुरु गरिएको हो। नाच पूर्णतया तान्त्रिक भएकाले दशैंको बेलामा मात्र प्रदर्शनी गरिनु पर्नेमा हाल विभिन्न अवसरमा देखाइँदा नाचको महत्व घटेको ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताए । 

ललितपुर उद्योग वाणिज्य सङ्घ, ज्यापू समाज र ललितपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको सो महोत्सवमा करिब ७ लाखभन्दा बढीले महोत्सवको अवलोकन गरिसकेका छन्। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com