लिबियाको राजधानी त्रिपोलीस्थित फ्रान्सेली राजदूतावासमा मंगलबार बिहान शक्तिशाली बम आक्रमण भएको छ । दूतावासका दुईजना सुरक्षाकर्मीसहित थुप्रै स्थानीय घाइते भएका छन् । अज्ञात व्यक्तिबाट बम राखिएको कार दूतावासमा ठोक्काइएको थियो ।
बमको छर्रा लागेर दूतावासको भवन भत्किएको छ । भित्री परिसरमा राखिएका सम्पत्तिमा पनि क्षति पुगेको छ ।
वरिपरि राखिएका सवारीसाधन पनि ध्वस्त भएका
छन् । यसको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । यस विषयमा दूतावासले अनुसन्धान थालेको जनाएको छ ।
फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ होलान्डले स्वीकार्नै नसकिने यो आक्रमणविरुद्ध शीघ्र कारबाही गर्न अपिल गरेका छन् । उनले यो घटनालाई आतंकवादविरुद्ध ऐक्यबद्ध सम्पूर्ण मुलुकहरूमाथिको आक्रमणको रूपमा लिएका छन् ।
यो राजधानी त्रिपोलीस्थित दूतावासमा भएको अहिलेसम्मकै सबभन्दा ठूलो आक्रमण हो ।
लिबियाका विदेशमन्त्री मोहम्मद अब्देल अजिजले यो घटनाको कडा शब्दमा निन्दा गरेका छन् । उनले यो आक्रमण आतंकवादीहरूले गराएको बताए । लिबिया र फ्रान्सका बीचमा मैत्रीपूर्ण सम्बन्ध छ ।
यसअघि सन् २०११ मा लिबियामा भएको आन्दोलनमा पनि फ्रान्सले सहयोग गरेकोले आन्दोलनका विरोधीहरूबाट यो आक्रमण भएको अजिजले बताएका
छन् । उनले खोजी गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।एएफपी: