फोहर व्यवस्थापनमा काम गर्नेको बिमा तथा स्वास्थ्य जाँच

काठमाडौं, चैत ३०,

फोहर व्यवस्थापनका क्षेत्रमा काम गरिराखेका अनौपचारिक कामदारहरूको पहिलोपटक स्वास्थ्य बिमा तथा नियमित स्वास्थ्य जाँच सुरु गरिएको छ। उपत्यकाभित्रका पाँचवटै नगरपालिकाका सहरी क्षेत्रको फोहर व्यवस्थापनमा आफ्नो स्वास्थ्यको जोखिम सहेर काम गरिरहेका कामदार सो स्वास्थ्य बिमा तथा नियमित स्वास्थ्य जाँचमा सहभागी हुनेछन्। 

युरोपेली युनियनका वातावरण र जलवायु परिवर्तन कार्यक्रमका प्रबन्धक रञ्जनप्रकाश श्रेष्ठले सो कार्यका लागि कोरिया-नेपाल मैत्री अस्पतालका प्रमुख अधिकृत भिमसेन थापालाई रु सात लाख ३८ हजार ७५० बिहीबार प्रदान गरी सो कार्यको यहाँ शुभारम्भ गरे। युनियनको आर्थिक एवम् प्राविधिक सहयोगमा प्राक्टिकल एक्सन र एकीकृत सहरी विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित फोहर व्यवस्थापन क्षेत्रका अनौपचारिक कामदारको गरिबी न्यूनीकरण परियोजना (प्रिज्मा) ले सो कार्यका लागि सहयोग गरेको हो। 

बिमा तथा नियमित स्वास्थ्य जाँचअन्तर्गत अस्पतालले आफ्ना सेवामा त्यस्ता कामदारको स्वास्थ्य परीक्षण, प्रयोगशाला तथा शल्यक्रियामा ५० प्रतिशतसम्म छुट दिनेछ। पहिलो चरणमा मध्यपुर ठिमी तथा भक्तपुर नगरपालिकाका सहरी क्षेत्रमा फोहर व्यवस्थापनका क्षेत्रमा आफ्नो स्वास्थ्य जोखिममा राखी काम गरिराखेका ५०० कामदारको यो कार्यमा सहभागिता रहने परियोजनाका प्रमुख नवीनविकास महर्जनले जानकारी दिए। 

यसका लागि कामदारको स्वास्थ्य व्यवस्थापन समिति समेत गठन गरिएको छ। फोहर व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएका कामदारको स्वास्थ्यस्थिति अत्यन्त जोखिममा रहेको जनाउँदै परियोजनाले बिमाको कार्यक्रम सुरुवात गरेको परियोजना प्रमुख महर्जनले बताए। परियोजनाले फोहर सङ्कलन तथा प्रशोधनका क्षेत्रमा काम गरिरहेका कामदारको स्वास्थ्य स्थितिलाई ध्यान दिँदै उनीहरूलाई पञ्जा, मास्क, ज्याकेट, चस्मा, बुटलगायतका सुरक्षित सामग्री प्रदान गर्न सुरु गरिसकेको छ। 

फोहर व्यवस्थापन क्षेत्रका अनौपचारिक कामदारको गरिबी न्यूनीकरण गर्ने उद्देश्यले सन् २०११ देखि उपत्यकाका पाँचवटै नगरपालिकामा सो परियोजना लागू भएको थियो। परियोजनाको सर्भेक्षणअनुसार उपत्यकाभित्र करिब पाँच हजार कामदार फोहरमैला व्यवस्थापनमा अनौचारिक कामदारहरू छन्। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com