भाको बारीको पाटो बेचेर
पुर्खौली आफ्नो माटो बेचेर
तिमी गएथ्यौ
सम्पन्न मरुभूमीमा
सुनका बालुवा सोहर्न ।
स्वप्निल रेखामा बिभाजित भै
आपसमा पृथक हुदा पनि
समानन्तर रेखामा उभिएर
समान नियति भोगि नै रह्यौं ।
यता म
चिमाल फुल्दा पनि
हिमाल खुल्दा पनि
केवल अनिकाल नै ब्यहोरीरहे
उता तिमी
कहरका कचिया टेक्दाटेक्दै
जिन्दगीसंगै हारेछौ
भवितव्य अंगाल्दै
आफुले आफैलाई मारेछौ ।
बिना धुरी बिना छानो
ऐलानीतिर अगेना थाप्न
कुन ढुङ्गाका चुलोचौका गाडुँ म ?
भोक कै भकारी बाँधेर
कुन सामल तुमलले छोराछोरी पालुँ म ?
हे प्यारा नानीका बा
तिम्रो लास ढाक्ने कात्रोको रुपमा
मसंग अब
यही अर्धनो फरिया सिवाय केही छैन
मेरा स्वामी तिमी नै भन
म आफ्नो लाज ढाकुँ
वा...
तिम्रो लास ढाकुँ ?
अति मुखिया
काठमान्डू नेपाल,