सुची फेरी लीग फर एनएलडीमा चयन

फागुन ३०,

आंग सान सुची फेरी पनि बर्माको विपक्षी दल नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) को नेता चयन भएकी छिन् । उनको यो चयन पार्टीको पहिलो अधिवेशनमा भएको हो । 

सन् १९९० मा भएको आम निर्वाचनमा एनएलडीले भारी बहुमतले विजय प्राप्त गरे पनि त्यहाँको सैनिक शासनले एनएलडीका गतिविधिहरुमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि बर्माका सैनिक सरकारले गरेका केही सुधार पश्चात् एनएलडीले गत वर्ष भएको संसदीय निर्वाचनमा अत्यधिक बहुमत ल्याएको थियो । सु चीको ध्यान अब सन् २०१५ मा हुने राष्ट्रपतयि निर्बाचनमा केन्द्रीत छ । 

सुची एनएलडीको पन्ध्र सदस्यीय कार्यकारी समितिका चार महिला सदस्य मध्येकी एक हुन् । ६७ वर्षीय सु चीले केही दिन अघि रंगुनमा आयोजित कार्यकर्ता भेलामा एकताका लागि अपील गरेकी थिइन् । उनले पार्टीभित्रको गुटबन्दी र मतभेदका कुरालाई स्वीकार्दै युवाहरुलाई देशको विकासमा योगदान दिनका लागि एक भएर अघि बढ्न आह्वान गरिन् । 

अधिवेशनमा भाग लिइरहेका नौ सय प्रतिनिधिहरुलाई सम्बोधन गर्दै नोबेल पुरस्कार विजेता सु चीले भनिन्, “हामी देशको हितका लागि एकजुट भएर लाग्नु पर्छ ।” बर्मामा एनएलडीका करिब १२ लाख कार्यकर्ता छन् । पार्टीले गएको सन् १९९० को आम निर्वाचनमा बहुमतले जित हासिल गरेको थियो । तर सेनाले उसलाई सत्ता सम्हाल्न दिएन । 

त्यस लगत्तै सेनाले सु चीलाई उनकै घरमा नजरबन्दमा राखेको थियो । एनएलडीले सन् २०१० मा भएको संसदीय चुनावमा भेदभाव भएको भन्दै त्यसको विरोध गरेको थियो । तर २०१२ मा राष्ट्रपति थीन सीनको नागरिक सरकारका तर्फबाट शुरु गरिएको सुधार अन्तरगत भएको चुनावमा पार्टीले ४३ सिटमाथि जित हासिल गरेको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com