भक्तपुर, चैत १४ ,
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रममा आफ्नो नाम दर्ता गराउन भक्तपुरका ग्रामीण क्षेत्रका नागरिकहरु उत्साहित हुँदै सहभागी भइरहेका छन्।
जिल्ला निर्वाचन कार्यालयले जिल्लाका दुई नगरपालिका र १६ गाविसमा तीनदिनका दरले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रममा नगरमा भन्दा ग्रामीण क्षेत्रका बासिन्दा उत्साहित हुँदै मतदाता नामावली सङ्कलनमा आएको जिल्ला निर्वाचन अधिकृत चुरामणि पन्थीले जानकारी दिए ।
अहिलेसम्म जिल्लाको झौखेल, छालिङ, बागेश्वरी, चाँगुनारायण, दुवाकोट, सुडाल, भक्तपुर नगरपालिका का र मध्यपुरथिमि नगरपालिकाका केही वडा गरेर १८ स्थानमा मतदाता सङ्कलन कार्य सम्पन्न भएको छ।
अठार स्थानमा एक हजार ३०० को फोटोसहितको मतदाता नामावली सङ्कलन गरेको र जिल्लामा १० हजारसम्म नामावली थप हुन सक्ने पन्थीले बताए ।
भक्तपुरमा हालसम्म एकलाख ४२ हजार जनाको फोटोसहितको मतदाता नामावली दर्ता भइसकेको र हाल चलिरहेको सङ्कलन केन्द्रमा पनि यो सङ्ख्या थप हुँदै गएको छ।
नगरपालिका क्षेत्रमा मतदाता नामावली सङ्कलन गर्न आउनेको सङ्ख्या कम भए पनि ग्रामीण क्षेत्रमा भने विशेषगरी महिला र किशोर किशोरी बढी उत्साहित हुँदै नामावली दर्ता गराउन आएको पन्थीले जानकारी दिए ।
चैतको २७ गतेसम्म जिल्लाका दुवै नगरपालिका र गाविसका नामावली सङ्कलन जारी रहने बताउँदै उनले यसका लागि जिल्लाभर ५० जना प्राविधिक टोली खटाइको छ।
नगरपालिकाको एक वडा र गाविसमा पनि तीन तीन दिनका दरले नामावली सङ्कलन कार्य भइरहेको छ। नामावली सङ्कलनमा कतिपय गाविसमा तीनदिनको समय नपुगेर समय थप गर्नुपरेको उनले बताए । रासस;