पढेलेखेका, धनीभन्दा गरिबले बाबुआमालाई बढी माया र सम्मान दिन्छन

काठमाण्डौ फागुन ३०,

सहरका भन्दा गाउँका, पढेलेखेका भन्दा नपढेका तथा धनीभन्दा गरिबले आपना बाबुआमालाई इज्जत एवं सम्मानका साथ पालनपोषण गरिरहेको एक अनुसन्धानले देखाएको छ । सबैभन्दा बढी थारू समुदायका ज्येष्ठ नागरिकले आपmना सन्तानबाट सम्मान पाउने अध्ययनले पुष्टि गरेको छ ।

ज्येष्ठ नागरिकको मानव अधिकार तथा सामाजिक सुरक्षाको पक्षमा वकालत गर्दै आएको संकल्प नेपालले मुलुकका १० जिल्ला, १३ वटा आश्रम तथा वृद्धाश्रममा गरेको अनुसन्धानबाट यस्तो जानकारी प्राप्त भएको हो । कोही र केही नभएकाहरूले शरण लिने वृद्धाश्रम अहिले सन्तान, घर-सम्पत्ति सबै भएका तर परिवार तथा सन्तानबाट इज्जत, सम्मान एवं माया नपाएर घर छाड्न बाध्य बनाइएकाहरूको आश्रयस्थल बनिरहेका छन् ।

मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेका वृद्धाश्रममा गरिब परिवारको तुलनामा मध्यम तथा उच्च परिवारका ज्येष्ठ नागरिकको बाहुल्य छ । घरमा हेरचाह गर्ने कोही नभएको, परिवारमा कचिंगल हुने गरेको, स्वास्थ्य समस्या र उपचारका लागि खर्च नभएका कारणले वृद्धाश्रममा शरण लिन बाध्य भएको त्यस्ता आश्रममा बस्ने ज्येष्ठ नागरिकहरूले बताए । यद्यपि मुलुकका ८० प्रतिशत वृद्धवृद्धा आपmना सन्तानसँगै बस्दै आएको अनुमानित तथ्यांक छ । ज्येष्ठ नागरिकमध्ये करिब ३ प्रतिशत छोरीहरूसँग बस्दै आएको सर्वेक्षणले देखाएको छ ।

पछिल्लो समय १७ प्रतिशत घरका मुली मात्र ज्येष्ठ नागरिक रहेको भेटिएको छ । खासगरी नेपाली समाजमा मौलाएको सहरी जीवनशैली एवं पश्चिमा मुलुकको अन्ध नक्कलले एकाघर वा सगोलमा बस्ने र ज्येष्ठ नागरिकलाई सम्मान गर्ने नेपाली मौलिक संस्कृतिमाथि चुनौती बढिरहेको छ । उक्त अध्ययनअनुसार २३ प्रतिशत वृद्धाश्रम सरकारी सहायतामा, ३८ प्रतिशत धार्मिक संघसंस्थाले, १२ प्रतिशत सेवा संस्था र व्यक्तिले तथा १५ प्रतिशतलाई कर्पाेरेट कम्पनीले सहयोग गरिरहेका छन् । वृद्धाश्रममा शरण लिनेले धेरै आश्रममा निःशुल्क सेवा पाइरहेका छन् भने केही सेवा केन्द्रमा शुल्क तिरेर पनि ज्येष्ठ नागरिक बस्दै आएका छन् ।

छोराले विवाह गरेपछि सँगै बस्न नमानेको र नातिनातिना बढ्दै गएपछि कोठा नपुगेर वृद्धाश्रममा आउनुपरेको गुनासो पनि धेरैले गरेको अध्ययनले देखाएको छ । सहरी ज्येष्ठ नागरिकको तुलनामा ग्रामीण भेगका ज्येष्ठ नागरिकले परिवारको काममा सघाउने भएकाले बढी सम्मान पाउँछन् । आश्रममा पुगेका धेरैजसो ज्येष्ठ नागरिकसँग नागरिकताको प्रमाणपत्र नभएकाले सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता लिनबाट समेत वञ्चित पाइएको छ ।

पछिल्लो समय रोजगारी एवं अध्ययनको सिलसिलामा विदेश पुग्ने र उतैतिर बस्ने प्रवृत्ति बढ्दै गएकाले समेत वृद्धावस्थामा सन्तानबाट पाउने सुखबाट धेरै सहरिया ज्येष्ठ नागरिक वञ्चित हुँदै गएका छन् । गाउँको तुलनामा सहरबाट त्यसरी विदेसिनेको संख्या धेरै भएकाले सहरी क्षेत्रका ज्येष्ठ नागरिकहरू वृद्धावस्थामा एक्लिएको महसुस गर्न बाध्य छन् ।

धरानका राई, लिम्बू तथा कास्कीका गुरुङ समुदायमा विदेशी सेनामा जागिर खाने चलन भएकाले त्यतै जागिरमा गएका र निवृत्तिभरण भएकाहरू पनि त्यहीँ बस्ने क्रम बढेकाले ती समुदायका वृद्धवृद्धा मात्र गाउँमा देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । संकल्प नेपालले अब छिट्टै समाजका हरेक परिवारले ज्येष्ठ नागरिकप्रतिको दायित्व पूरा गरेका छन् कि छैनन् भन्ने विषयमा गाउँ, टोलटोलमा पुगेर अनुगमन गर्ने तथा ज्येष्ठ नागरिकले सामाजिक भत्ता प्राप्त गरे-नगरेको निगरानी गर्ने अध्यक्ष कमला पराजुलीले जानकारी दिइन् । नारी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com