ए. एन.ए. साहित्य प्रतिष्ठानबाट अन्तर्राष्ट्रिय कविता महोत्सव, २०१२ का विजयी पुरस्कृत

भर्जिनिया अमेरिका ,चैत्र १६,

विजय थापा : गत चैत १४ गते ए.एन.ए. नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले अन्तर्राष्ट्रिय कविता महोत्सव, २०१२ मा विजयी भएका कविहरुलाई काठमाडौँमा आयोजित कार्यक्रमबीच पुरस्कृत गरेको छ । महोत्सवमा प्रथम हुने भोजपुरका कवि गणेश खड्कालाई एक हजार अमेरिकी डलरको हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कारबाट पुरस्कृत गरियो । 

यसैगरी द्वितीय हुने रामेछापका जीवन खत्रीले ३०० अमेरिकी डलर र तेस्रो हुने रुपन्देहीका श्रीजन शर्मा र नुवाकोटका कृष्णकिशु न्यौपानेलाई पनि तीन सय अमेरिकी डलरको पुरस्कार दिइयो । उक्त पुरस्कार आज काठमाडौँमा आयोजित कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले प्रदान गर्नुभएको थियो । कवितामा दिइने नेपाली पुरस्कारमा अत्यधिक राशि एक हजार डलर (US$ 1000) को भनेर मानिँदै आएको ए.एन.ए. नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको "अन्तरराष्ट्रिय कविता महोत्सव-२०१२" का पुरस्कारहरू एक समारोहका बीच ३ जना कविहरूलाई प्रदान गरिएको थियो।

त्यस महोत्सवका नेपाल संयोजक विश्वबिमोहन श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुरस्कार प्रमुख अतिथि कुलपति कवि बैरागी काइँलाले प्रदान गर्नुभएको थियो । अन्तरराष्ट्रिय कविता महोत्सव-२०१२"मा यस पालि देश विदेश छरिएर रहेका ५ जनाले पुरस्कार पाएको भए तापनि पुरस्कृत कविहरू मध्ये ३ जना गणेश खड्का, जीवन खत्री र कृष्णकिसु न्यौपानेमात्र हाल नेपालमा उपस्थित हुनुभएको हुँदा यस समारोहमा उहाँहरूलाई मात्र पुरस्कार दिइएको थियो भने बाँकीका २ जनालाई पुरस्कार जुलाई ४-६ मा अमेरिकाको न्युयोर्कमा हुने ए.एन.एक़ो ३१ औ सम्मेलनमा आयोजना गरिने बिशेष साहित्य सम्मेलनको कार्यक्रममा प्रदान गरिने कुराको जानकारी नेपाल संयोजक विश्वबिमोहनले दिनु भएको थियो । 

उक्त कार्यक्रममा पुरस्कृत कविहरूले आ-आफ्ना पुरस्कृत रचनाहरू वाचन पनि गरेका थिए। "अन्तरराष्ट्रिय कविता महोत्सव-२०१२"का अर्का नेपाल संयोजक श्रीओम रोदनले स्वागत भाषण गर्दै नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष वसन्त श्रेष्ठले अमेरिकाबाट पठाउनुभएको मन्तव्य पनि पढेर सुनाउनुभएको थियो । कथाकार तृष्णा कुँवरको उदघोषणमा संचालित कार्यक्रम सफलताका साथ सम्पन्न भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com