इज़रायल फागुन २४,
नारी भन्ने बित्तिकै हामी त्यो संवेदनालाई अनुभूति गर्छौँ जसले यो सिङ्गो संसारको निर्माण र पालन पोषणको द्धोतक हुन । त्यसैले नै नारीलाई सृजनाकी जननी मानिएको हो । महिला परिवारको एक मजबुत खम्बा मात्रै होइनन उनी आफ्नो परिवार र समाजको लागि एउटा पथ प्रदर्शक पनि हुन । जुन घरकी नारी शिक्षित सबल हुन्छे त्यो घर स्वर्ग हुन्छ । नारी हुनुको गर्व यहीनिर स्पष्ट हुन्छ कि नारीहरुनै यो प्राणी जगतको उच्च व्यक्तित्व (हर्ताकर्ता) हुन् र रहिरहनेछन् ।
समग्र सृष्टि सञ्चालनको विधिलाई हेरेर जसरी हामी नारीलाई धर्ती र प्रकृतिको रूपमा सहजकताकासाथ स्वीकार्छौं त्यस्तै हाम्रो मानवीय पक्ष पनि त्यसरी नै मानव समाज भित्रको नारी अर्थात् महिलाको महत्वपूर्ण भूमिकालाई सम्झनु पर्छ भन्ने मेरो भनाइ हो । नारी समग्रमा सृष्टि सञ्चालनको एउटा पूर्ण विधि त हुन् नै, त्यसको साथसाथै हामी मानव समाजको विकासका लागि पनि उत्तिनै महत्वपूर्ण हिस्सा हुन् भनेर बिर्सनु हुदैन ।
नारी दिवस प्रसङ्गको उठान गर्ने हो भने अन्तराष्ट्रिय महिला दिवस पहिला उत्तरी अमेरिका र यूरोप बाट सुरु भएको पाइन्छ । १९०९ को फेब्रुवरी १९ मा संयुक्त राज्य अमेरिकामा पहिलो पटक राष्ट्रिय महिला दिवस मनाइएको थियो । सन् १९१० मा सोशलिस्ट इंटरनेशनल, कोपेनहेगन अन्तराष्ट्रिय महिला दिवसको स्थापना भएको थियो । त्यस्तै १९७५ मार्च ८ देखि मात्र अन्तराष्ट्रिय महिला दिवस मनाउन सुरु भयो दुई वर्ष पछि डिसेम्बर १०७७ मा महासभाको एक प्रस्ताव पारित भयो ।
महिलाहरुको अधिकार र अन्तराष्ट्रिय शान्तिको लागि ऐतिहासिक अनि राष्ट्रिय परम्परा अनुसार, संयुक्त राष्ट्र दिवस को रूपमा घोषणा भयो । अहिले हामी १०२ औ अन्तराष्ट्रिया नारी दिवस मनाउदै छौ । नेपालमा यो वर्ष "महिला हिंसा बन्द गरौ, कुरा होइन काम गरौ" भन्ने नाराको साथ त्यसैलाई मनाउदैछौ । महिलाको हकहित, चेतना र समता सम्झाउने कडीको रूपमा मनाउदै छौ ।मानव जीवनको आदिम कालदेखि आजको अवस्थासम्म आइपुग्दा विकास वा प्रगतिका चरणहरु नारी पुरुषको समान उत्तदयित्वका कारण ले गर्दा नै सम्भव भएको हो ।
विगतका समयहरुमा चाहे मानव समाजको मातृसत्ताको कुरा होस् या पितृसत्ताको नै किन नहोस्, जुनसुकै सत्तात्मक आरोह-अवरोह भए पनि एकापसको सम्बन्धले आजको मानव समाजले यति विघ्न फड्को मारेको हो । हरेक काल खण्डमा महिलाहरुले हरेक सामाजिक परिवर्तनका लागि आफ्नो भूमिका बेखुबी निर्वाह गरेका थुप्रै उदाहारण छन् । चाहे पूर्वीय संस्कृति बाट होस् या चाहे पश्चिमा संस्कृतिबाट होस् नारीले समय समयमा खेलेका अनुकरणीय भूमिकालेनै आजको विश्वले यहाँसम्मको गति लिनसकेको हो जस्तो मलाई लाग्छ ।
आम नारीलाई हेर्ने दृष्टिकोण आदिमा काल पछि विशेष तह वर्वर युगले चिनिएको मध्ययुगिन सामन्ती मानव धर्म र त्यस धर्मले निर्माण गरेको मानव संरचनाले नै आज सम्म आइपुग्दा सम्ममा हरेक देश र जातिका लागि अतीतमा नमीठा घटना बनेर कालो छाप छाडेर गएका छन् । समाजले जति सुकै विकासमा फड्को मार्यो भने पनि यद्पी अझै हाम्रा पवित्र भनिएका धर्म ग्रन्थ र सामाजिक परम्पराले अझै नारी लाई अपमान गर्न छाडेका छैनन् । यो वा त्यो समाज र सम्प्रदाय भन्दा पनि तत्कलिन भौगालिक परिवेश को सामाजिक समरचनाले गर्दा अझै विश्वमा नारीहरूको अवस्था दयनिय नै छ ।
हाम्रा देशलाई हेरेर यहाँको धर्म र कुरुति तथा सामाजिक संरचन दोषी देखिन्छन भने यहाँ बाट अर्को पाटोलाई हेर्दा पनि त्यहाँ त्यस्तै नारीहरूको दयनीय अवस्था देखिन्छ ।रूप र सारमा फरक देखिए पनि नारीलाई हेर्ने दृष्टिहरू चाहे पश्चिमा होस् या पूर्वीय या यो धर्म होस् या त्यो धर्म सबै समाज र परम्पराले नारी हुनुको मर्म,पीडाको अनुभूति मात्र देखाएको छ । जति सुकै समाजले फड्को मार्यो भने पनि , शून्य सहनशीलताको नारा घन्काए पनि र जति सुकै नियम र कानुनको हवाला दिए पनि समय काल र परिवेश अनुसार नारी हिंसा र अपराधहरु जस्ताका तस्तै छन् । हाम्रो समाजमा महिलाहरू जन्मैदेखि लैगिक विभेदको सिकार छन् ।
सानो उमेरदेखि नै समाजले छोरा र छोरीलाई भिन्न व्यवहार सिकाएको हुन्छ । बुवा, श्रीमान् वा छोरा जुनसुकै किन नहून्, महिला पुरुषको अधीनमा रहनुपर्छ भन्ने मान्यता राख्छन्। महिलाहरू विभेदकारी सामाजिक मान्यताको अनुसरण गर्ने, घरपरिवार सञ्चालन गर्ने, बच्चा जन्माउने तथा परिवार र पुरुषको आवश्यकता पूर्ति गर्ने साधनका रूपमा प्रयोग हुँदै आएका छन् । हाम्रो देशको संविधानमा महिला हिंसालाई दण्डनीय अपराधका रूपमा परिभाषित गरी आधारभूत मानव अधिकारको ग्यारेन्टी गरिए पनि महिलाविरुद्धको हिंसा निराकरण हुन सकिरहेको छैन । आर्थिक स्वतन्त्रता प्रदान गर्न सक्ने सामाजिक क्रियाकलापहरू पुरुषका लागि मात्र सुरक्षित छन् ।
निजी सम्पत्ति, पारिवारिक सङ्गठन तथा पुरुषको हैकममा आधारित समाजमा महिला केवल प्राकृतिक जिम्मेवारी पूरा गर्ने हदसम्म सीमित छन् । १९५४ को साधारण सभाले समेत जाति, वर्ण वा लिङ्गका आधारमा महिलामाथि हिंसा नगर्ने महत्वपूर्ण प्रस्तावहरू पारित गरेको थियो । सन् १९६९ को संयुक्त राष्ट्रसंघको ३२ औं साधारण सभाले पनि महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी घोषणा पत्रसमेत पारित गरेको छ । संविधानले समेत नागरिकको सम्मानपूर्वक जिउन पाउने अधिकारको रक्षा गरेको छ भने महिला हिंसालाई दण्डनीय अपराधका रूपमा समेत परिभाषित गरेको छ तर यहाँ बोक्सी लागेको आरोपमा मलमूत्र कोच्याइन्छ, दाइजो नल्याएको र छोरा नपाएको निहुँमा घरभित्रै जलाइन्छ।
जिउधनको रक्षा गर्ने एवं मानव अधिकार हनन् र हिंसाबाट नागरिकलाई जोगाउने दायित्व बोकेका प्रहरीहरूले नै कार्यालयभित्रै महिला प्रहरीलाई बलात्कार गर्छन् । शोषण भैरहेको छ फरक त्यत्ति हो कहीँ सोच को विधि पुरानो संयन्त्रमा छ भने कहीँ सोचको संयन्त्र नयाँ र विकसित तरिकाले छ । आखिर जहाँ जे जसरि भए पनि आज को यो अत्याधुनिक युगमा पनि नारी समस्याहरू जस्ताको तस्तै हुनु भनेको हदै सम्मको लाजमर्दो कुरा हो महिला हिंसाको श्रृंखला, शिवा हसामी देखि विन्दु कुमारी ठाकुर सम्म यी सबै घटनालाई यो नारी दिवसले यसलाई सम्बोधन गर्नु पर्छ । महिला भनेका अन्याय र अत्याचार सहन जन्मेका हुन् महिला भनेको पीडाका पुंन्ज हुन भन्ने अब कसैले नसोचून !
सहरिया र गाउँका , विकसित र अल्पबिकशित , धनी र गरिब बिचमा फरक पर्दै गएको विशाल खाडल ले नारीमा पनि बर्गीय सोच का कुरा आउन थालेका छन् । विभिन्न एन न जी ओ र आई येन जी ओ चलाएर नारीका लागि भनेर आएको सहयोग र सम्भावनाहरू केवल सम्भ्रान्त सहरिया महिलाको चंगुलमा मात्र पर्नु र एक थरी महिलाहरु राज्यको सुख सुविधा देखि समाजका सम्पूर्ण गतिविधिमा एकलौटी बर्चस्व राखेर गरिब र निमुखा नारीहरूको हक अधिकारमा राज गर्नु पनि अर्को सोच को सुरुआत हो ।
पुरुष प्रधान समाजले गरेको शोषण सँगै अब सम्भ्सान्त शहरिया नारीबाट नारीकै नाउँमा हुने आजकलको शोषण भनेको हिजो नन्द र भाउजु अर्थात् सासु र बुहारी भित्रको शोषण भन्दा अझ डरलाग्दो रूप हो । त्यो बेला सासु र बुहारी, नन्द र भाउजुमा हुने सङ्घर्षमा कतै न कतै पुरुष समाज हाबी थियो भने अहिले विशुद्ध सहरिया सम्भ्रान्त र राजनैतिक हैसियत मा पहुँच पुगेका नारीबाट हुने सोचमा फरक छ । .यो नारी दिवसले यसलाई पनि एउटा छुट्टै सम्बोधन गर्न जरुरी छ ।सञ्चार जगतमा मान्छेले गरेको उन्नतिबाट नारीहरूले त्यसको प्रयोगले उनीहरूलाई पनि पक्कै सहयोग गरेको छ तर नारी खेलौनाको स्रोत मात्र होइनन भन्ने कुरा यो समयमा भुल्न हुँदैन ।
सञ्चार जगतको व्यापक प्रयोग र यसले गरेको भौतिक सम्पन्तामा नारीहरूले पनि भोग्न पाउनु पर्छ भन्ने हो । सूचना र सञ्चारमा नारीहरूलाई यथेष्ट पहुँच पुर्याउन सकियो भने यसको व्यवसायिकतामा नारीहरूलाई समावेश गरियो भने यसलाई चाहिने आम प्राविधिक पक्ष पनि त्यति नै बलियो हुन्छ । जुन देश प्राविधिक पक्षम कम्जोर हुन्छ त्यो देशले गति लिन सक्दैन भन्ने कुराको उदाहारण हाम्रै मुलुक हो ।
छोरीलाई सम्पति भन्दा पनि शिक्षित,उधमशील व्यवसायिक बनाउन सके मात्र नारी आफ्नै खुट्टामा उभिन सक्ने हैसियतमा हुन्छे । जबसम्म हामी महिलाहरु परनिर्भर भएर वा अर्काको हात समातेर हिडछौ तबसम्म हामी कमजोर नै हुन्छौ ! किनकि अरूको हात समाउनु भनेको आफ्नो हात कमजोर बनाउनु हो । सक्षम नारीनै आजको आवश्यकता हो भन्ने कुराको संदेश अब यो नारी दिवसले दिन सक्नुपर्छ । त्यसैले अब निन्न बुदाहरुमा सबैको ध्यान आकर्षण हुन अत्यन्तै जरुरी छ जस्तो मलाई लाग्छ ।
१. अब बन्ने संविधानमा नारी अधिकारको प्रशस्त प्रत्याभूति गर्ने सकिने खालको हुनुपर्छ ।
२. अहिलेसम्म भएगरेका नेपाली नारीहरुप्रतिको जघन्य हिंसाको लेखाजोखा \भै तथ्यांक सार्वजनिक गरिनुपर्ने र अपराधीलाई कडाभन्दा कडा सजाय हुनुपर्ने
३. भोजपुरकी सीता, राई,शिवा हास्मी... लगायतका महिलाहरु माथि भएको यौंन दूर्व्यबहारको फेहरिस्त आउनुपर्ने, र बलात्कारीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने । साथै, बलात्कारजस्तो जघन्य अपराध रोक्ने कानुन बनाउनुपर्ने र त्यसको कार्यान्वयन हुनुपर्ने ।
४. नेपाली पाठ्यक्रममा नारी विषयक पाठहरू राखिनुपर्ने । सीता र गार्गी मात्र नभई सामान्य नारीहरूको योगदानलाई समेत पाठ्यक्रममा समावेश गरिनुपर्ने ।
हाम्रो मुलुकको वर्तमान परिवेशलाई नै नियाल्ने हो भने पनि गरिबी, अशिक्षा, धर्म तथा सांस्कृतिक हिसाबले समेत अधिकांश महिलाहरु यद्धपि धेरै पछि छन् । त्यसो हुनुमा महिलाहरु स्वयम पनि केही हदसम्म जिम्मेवार देखिन्छन । यो महसुस स्वयम महिलाहरुले पनि गरेकै हुन । तर कतिन्जेलसम्म नेपाली महिलाहरुले यावत समस्याहरुका वावजुद पनि मौन बस्ने ? कहिलेसम्म यो सिलसिला सहेर बस्ने ? यो कुराको निरुपरणका लागि स्वयम महिलाहरुनै जागरुक हुनुपर्ने अवस्था छ ।
अब महिलाका समस्या र अधिकारका लागि महिलाले नै आवाज उठाउनुपर्छ । जब हामी आम महिलाहरु स्वयम जागरुक र सचेत हुँदैनौ तबसम्म हामीले चाहेर पनि समाज र महिला माथिको सामाजिक दृष्टिकोणलाई बदल्न सक्दैनौं । त्यसैले भोलीका दिनहरूमा यस्तो गाउँ घर र परिवार नहोस् जहाँ अझै पनि आफ्ना मनका कुरा अर्कैले लेखिदिन परोस वा अर्कैले बोलिदिनु परोस । हाम्रो समाजमा त्यस्ती आम वा दिदि-बहिनी नहुन जो शिक्षाबाट वन्चित हुन र काला अक्षेर भैंसी बराबर बनोस् ।
यस्ती छोरी नहुन जसले भाइको पुस्तक देखेर आफ्नो पिठ्यूको डोको नाम्लो खूर्पेटो हेर्दै रुन परोस । अनि त्यस्ती बुहारी पनि नहोस जसले आफ्ना खसमसँग कुरा गर्न एउटा मोबाइलको नम्बर अर्कैलाई थिच्न लगाउन परोस र माइतिबाट प्रशस्त दाईजो नल्याएकै आधारमा मृत्युवरण गर्न परोस । अनि त्यता एकल नारी नहुन् जस्ले विधवा भएकै भरमा वा कुरुप भएको भरमा बोक्सीको आरोपमा विविध यातना सहेर मारिन नपरोस ।
अन्तमा यो नारी दिवस केवल औपचारिकता निर्वाहाका लागि मात्रै नबनोस । बरु त्यो भन्दा बढी यो दिनले आम नारीहरूको हित र अधिकारको संरक्षण तथा संवर्धनमा काम गर्न सकोस् ।आम महिलाहरुको वेदना र पीडा बुझ्न सकोस् र उनीहरूको वेदना निरुपणमा सहायक बन्न सकोस् । विश्वका महिलाहरुले समानता, स्वतन्त्रता र शान्तिका लागि गरिएको ऐतिहासिक सङ्घर्षका अतीतका तिता मिठा अनुभवहरूलाई याद गर्दै महिला शशक्तिकरण र महिला जागरणको लागि निरन्तर दिए झैँ जस्तै हाम्रो मुलुकमा पनि महिलाको सम्मानका लागि यो दिवसले प्रयाप्त बिषयहरुलाई सम्बोधन् गर्न सकोस् । तब मात्र यो नारी दिवस मनाइनुको सार्थकता रहन जाने मैले बुझेकी छु ।
भगवती बस्नेत
हाल: हाइफा ,इजरायल