राष्ट्रिय स्वाधीनताका कुरा गर्नेहरू खोइ ?

 काठमाण्डौ फागुन ४,

झमक  घिमिरे : अहिले राष्ट्रिय स्वाधीनताको नाममा राजनीतिक दलहरूले कोकोहोलो मच्चाइरहेको देखिन्छ । साँच्चै राष्ट्रिय स्वाधीनताको सवालमा हाम्रा राजनीतिक दलहरू कति संवेदनशील छन् ? राष्ट्रिय स्वार्थलाई कहिल्यै विचार नगर्ने हाम्रा राजनीतिकर्मीहरू अहिले किन राष्ट्रिय स्वाधीनताको मुद्दा उरालिरहेका छन् यो आश्चर्यको विषय हो । 

नेपालीको आफ्नो पसिना, रगतले नेपाल बनाउने चाहनामाथि यिनले सधैं कुठाराघात गरिरहे । नेपालको सानोभन्दा सानो आन्तरिक समस्यालाई समाधान गर्न हाम्रा राजनीतिकर्मीहरू आफैं प्रयास गर्नुको सट्टा कोही भारततिर दौडिन्छन्, कोही चीनतिर । जतिसुकै राष्ट्रवादी कुरा गरे पनि हाम्रा नेताहरू विकसित र ठूला मुलुकका गोटी हुन् । केवल क्यारेमबोर्डका गोटी ! जसले जहाँबाट चलाए पनि हुने, जसले जताबाट हाने पनि हुने । क्यारेमबोर्डका गोटी चलाउँदा पनि कुनै नियमभित्र चलाउने वस्तु नपर्ने, हान्दा पनि जुनसुकै दिशामा हाने पनि हुने । 

कुनै निश्चित दिशामा हान्नु नपर्ने यो कस्तो स्वच्छन्दता ? स्वतन्त्रता ? देखादेखी नेपाली भूमि सयौं बिघा मिचिन्छ, सीमास्तम्भ रातारात उखेलिन्छ, सारिन्छ सीमापारिबाट मान्छे लुटिन्छन्, कुटिन्छन् । त्यतिबेला राष्ट्रिय स्वाधीनताका कुरा गर्नेहरू खोइ कहाँ बिलाउँछन् ? नेपाली नागरिकहरू सीमापारिकाबाट प्रताडित हुँदा बोल्ने राष्ट्रवादी भन्ने कहाँ छन् ? यिनको खोक्रो राष्ट्रवाद खोइ कहाँ दुलो पर्‍यो ? आफ्ना नागरिकहरू लुटिँदा, ठगिँदा यिनीहरू चुँ बोल्न सक्छन् ? यहाँसम्म कि नेपाली महान् विभूति गौतम बुद्ध भारतमा जन्मेको भन्ने दाबी गरिरहँदा नेपाली सामान्यजनहरूले बुद्ध नेपाली भूमिमा जन्मेको खुल्लमखुला भनिदिए । 

तर राजनीतिक दलहरूले कसैले पनि आफ्नो स्वार्थ पूर्ति हुन नसक्ने त्रासले चुँ बोलेनन् । यिनीहरूले कहिल्यै पनि बुझ्न सकेनन् राजनीतिक स्वार्थभन्दा राष्ट्रिय स्वार्थ महत्त्वपूर्ण हुन्छ । राष्ट्र अतिक्रमणमा पर्नु भनेको आफ्नो अस्मिता, अस्तित्व र स्वाभिमानमाथि आक्रमण हुनु हो । जुन नेपाली राजनीतिक दलका नेताहरूले बुझेकै छैनन् या बुझेर पनि निदाएका हुन् । यिनीहरू यो निद्राबाट कहिले ब्युझिने हुन् पत्तो छैन । तर नेपाली भूमिका महत्त्वपूर्ण भाग मिचिनु देशलाई सरासर बलात्कार गर्नु हो, यो बलात्कार भएको हेरिरहन वषर्ाैंदेखि बाध्य छन् निरीह नेपालीहरू । 

राष्ट्रिय स्वाधीनताका लागि सुरुङ युद्ध लड्ने भन्नेहरू अहिले सत्तामा पुगेका छन् । यिनले अलिकति पनि ती पीडितजनहरूको दमित मन मस्तिष्कमा आशाका तरंग छोड्न पटक्कै सकिरहेका छैनन् । जुन तन्त्रले देशमा राज गरे पनि जुन राजनीतिक दल सत्तामा पुगेपछि सीमा क्षेत्रका नेपालीका दर्द, पीडा उस्तै छ । उनीहरूको मनको घाउ पनि उस्तै छ, आँखाका आँसु सुक्न सकिरहेका छैनन् । उनीहरूले आफ्नै देशमा पनि सुरक्षित महसुस गर्न सकिरहेका छैनन् । उनीहरूका लागि आफ्नो राज्यको उपस्थिति खोइ ? उनीहरूको लागि सुरक्षाको प्रत्याभूति खोइ ? वास्तवमा सीमा क्षेत्रका नागरिकहरूसँग देश त छ तर देशको प्रत्याभूति छैन । 

जसले आफ्नो घरभित्र रहेर पनि घरको अनुभूति छैन । त्यहाँ अज्ञात आतंक छ । त्रास छ । उनीहरूले आफ्नो भूमि भन्न पाएका छैनन् । सीमापारिबाट रातारात त्यो भूमि अर्काको हुन्छ । यो कस्तो विडम्बना ? कस्तो अन्याय ? यस पंक्तिकार केही समयअगाडि ताइवान कुनै प्रसंगमा पुगेका बेला त्यहाँका केही संग्रहालय घुम्ने क्रममा त्यो घुमाउने एउटी महिला कर्मचारीले मलाई बौद्ध संग्रहालयको परिचय गराउने क्रममा भनिन्, 'भगवान् बुद्ध भारतमा जन्मेका हुन् ।' 

बस् मैले तत्काल बहस गर्नु उचित ठानिनँ । तर मसँगै गएकी दोभाषेले आफ्नो आक्रोश पोख्दै भनिन्, 'बुद्ध नेपालमा जन्मेको कुरा यिनलाई थाहा रहेनछ ।' म स्तब्ध भएँ हाम्रा महान् विभूतिहरूलाई आज अर्काले किन खोसिरहेको छ ? नेपालका सुन्दर वस्तुहरूमाथि किन अरूका आँखा गडिरहेको छ ? यी प्रश्नहरूको जवाफ खोइ ? मैले भोलिपल्टको एउटा कार्यक्रममा ताइवानी शिक्षामन्त्रीलाई प्रत्यक्ष रूपमा भनिदिएँ, 'बुद्ध नेपालमा जन्मेका हुन् ।' अहिले राष्ट्रिय स्वाधीनताका मुद्दा उठाउनेले यो सोचुन् । (इकान्तिपुर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com