डाइनोसरका अन्डा पाँच सय भारतीय रुपैयाँमा किनबेच

इन्दौर, माघ २२,

करोडौं वर्षअघि पृथ्वीबाट लुप्त डाइनोसरका अन्डा पाँच सय भारतीय रुपैयाँमा किनबेच भइरहेको कसले पत्याउला र! तर छिमेकी देश भारतको मध्य प्रदेशको जीवावशेष क्षेत्र पाडल्यामा पाँच सय भारुमा डाइनोसोरका जीवावशेष अन्डा धमाधम बिक्री भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

मध्य प्रदेशको धार मन्डला जिल्लाको पाडल्यामा ८९ हेक्टर क्षेत्रलाई भारतको पुरातत्व विभागले जीवावशेष क्षेत्र घोषणा गरेको थियो। करोडौं वर्षअघि पृथ्वीबाट लोप भएका डाइनोसोर र अन्डाका जीवावशेष पाडल्या क्षेत्रमा प्रशस्त पाइन्छ। जीवावशेष अध्ययनकर्ता वैज्ञानिकबीच पाडल्यामा पाइने डाइनोसोर र अन्डा जीवावशेषको निकै माग छ। 

अन्तर्राष्ट्रिय बजारमा डाइनोसोरका अन्डाको जीवावशेषको मूल्य एक करोड भारु पर्छ। तर पाडल्यामा भने डाइनोसोरका अन्डाको जीवावशेष पाँच सय भारुमा बिक्री भइरहेको छ। पाडल्यामा डाइनोसोर जीवावशेषको गैरकानुनी किनबेच भइरहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सन् २००७ पछि पाडल्या क्षेत्रका जीवावशेष असुरक्षित हुन थालेका हुन्। अन्तर्राराष्ट्रिय बजारमा डाइनोसोर र अन्डाका जीवावशेषको निकै माग भएकाले पाडल्याबाट जीवावशेषको तस्करी भइरहेको छ। 

१४ करोड ५० लाखदेखि छ करोड ६० लाख वर्ष पुराना जीवावशेष निकालेर पाडल्यामा खुलेआम बिक्री गरिँदा समेत त्यहाँको पुरातत्व विभाग सुतिरहेको सञ्चारमाध्यमले जनाएका छन्। महाराष्ट्र, गुजरात र राजस्थानबाट जीवावशेष तस्कर धार मन्डला जिल्लाको आदिवासी क्षेत्रमा आएर बहुमूल्य जीवावशेष गैरकानुनी रुपमा कौडीको भाउमा किनेर लैजाने गरेका छन्। 

डाइनोसोर र अन्डाको जीवावशेषको तस्करी व्यापक भएपछि अहिले भने मध्य प्रदेश राज्य सरकारले फसिल प्रिजेर्भेसन एक्ट पारित गर्ने तयारी गरेको छ। राज्यको वन विभागका वरिष्ठ अधिकारीले यसबारे कानुनी मस्यौदा कानुन विभागमा पठाइएको बताए। मध्य प्रदेशका वनमन्त्री सरताज सिंहले अहिलेसम्म तस्करी भएका डाइनोसोरका अन्डा जीवावशेषको कुनै हिसाब नभएको बताए। उनले तस्करी रोक्न सरकारी तवरमा अहिलेसम्म कुनै पहल नभएको उल्लेख गरे। 

उनले बहुमूल्य जीवावशेषको तस्करी रोक्न राज्य सरकारको ध्यान नपुगेकोले असफल भएको बताउँदै कानुन बने तस्करी रोक्न सकिने आशा व्यक्त गरे। अहिले प्रस्तावित कानुनमा कुनै पनि जीवाश्म जीवावशेष क्षेत्रबाट बाहिर लान नपाउने प्रावधान राखिएको छ। साथै तस्करी रोक्न सरकारले त्यस क्षेत्रमा कडा निगरानी गर्ने भएको छ। त्यस क्षेत्रबाट कुनै पनि जीवाश्म बाहिर लैजान सम्बन्धित निकायको अनुमती लिनु अनिवार्य बनाइन लागेको छ। 

जियोलोजिकल सर्भे अफ इन्डियाका पूर्वमहानिर्देशक डक्टर अर्जुन सोनकियाले जीवाश्म संरक्षणमा गुजरातले नमुना काम गरेको बताए। मध्य प्रदेशमा आर्थिक स्रोतको अभाव भएकाले जीवाश्म संरक्षणमा कसैले चासो नदिएको सोनकियाले औंल्याए। उनले तस्करी भइरहेका डाइनोसोरका अन्डाको जीवावशेषको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति गोटा एक करोड भारु पर्ने जानकारी दिए।एजेन्सी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com