अँगालो मारेर विश्व कीर्तिमान

 काठमाण्डौ फागुन ०१,

मान्छेले विभिन्न अनौठा र साहसिक काम गरेर आफ्नो नाम संसारमा चिनाउन चाहन्छन्। अमेरिकाका एक मानिसले पनि यस्तै अनौठो काम गरेर विश्व कीर्तिमान राख्ने प्रयास गरेका छन्। क्यालिफोर्निया का एक युवाले एक दिनमा सबैभन्दा बढि जनासँग अँगालो मारेर विश्व कीर्तिमान राख्ने प्रयास गरे, तथापि उनी सफल भने हुन सकेनन्। 

२५ वर्षे डेभिड प्यार्सनले आफ्नो मिल्ने साथीको सम्झनामा आलिंगनमा उत्रिएका छन्। उनकी मिल्ने साथी शारोनको दुई बर्षअघि अर्बुद रोगका कारण मृत्यु भएको थियो। जनवरी २० गते राति ११ बजेदेखि २१ गते राति १०ः५९ बजेसम्म लगातार मान्छेहरुसँग अँगालो मार्दा उनले १ हजार जनाभन्दा बढि मान्छेसँग अँगालो मारे। उनको यो संख्या विश्व कीर्तिमान कायम गर्न निकै कमजोर साबित भयो। 

एक दिनमा सबैभन्दा धेरै जनासँग अँगालो मारेको कीर्तिमान अहिले जोनाथन सेक्स्टनको नाममा छ। उनले २४ घण्टामा ८ हजार ७ सय ९ जनासँग अँगालो मारेर सन् २०१० मा विश्व कीर्तिमान बनाएका थिए। पहिलो पटकमा आफूले एक हजारभन्दा बढि जनासँग अँगालो मारेको र आफू भविष्यमा सबैभन्दा बढि जनासँग अँगालो मार्ने कीर्तिमान राख्न सफल हुने दाबी डेभिडको छ। 

मान्छेको लागि सबैभन्दा प्रिय बस्तु भनेको माया तथा सद्भाव भएको र अँगालो मार्नुले माया र सद्भाव प्रकट गर्ने भन्दै उनले आफू यही सन्देश फैलाउन अँगालो मार्ने अभियानमा होमिएको बताए। अँगालो मार्ने अभियानबाट एक लाख डलरभन्दा बढि रकम संकलन गरी अर्बुद रोग (क्यान्सर) पीडित बालबालिकाको उपचारमा सहयोग गर्ने धोको उनको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com