मिर्गौला प्रत्यारोपणको अर्को अस्पताल बुधबार बाट संचालनमा

भक्तपुर, फागुन ३,

दीपक दाहाल :मिर्गौला प्रत्यारोपण गर्ने मुलुककै तेस्रो अस्पतालका रूपमा मानवअंग प्रत्यारोपण केन्द्रले बुधबारदेखि औपचारिक बहिरंग सेवा (ओपिडी) सुरु गरेको छ। भक्तपुर अस्पताल परिसरमा रहेको सय शैयाको यो केन्द्रमा ओपिडीसँगै डायलसिस र प्रत्यारोपण सेवा उपलब्ध हुनेछ। 

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द श्रेष्ठका अनुसार सुरुका पाँच शल्यक्रियाको शुल्क मिनाहा गरिएकोमा दुईवटा भइसकेको छ। मिर्गौला प्रत्यारोपण अहिलेसम्मकै सहुलियत दरमा गराउने उनले दाबी गरे। अहिले वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्दा एकमुष्ठ पाँच लाख रुपैयाँ खर्च लाग्छ भने शिक्षण अस्पतालमा ६ देखि ८ लाख पर्छ। औषधीसमेत अस्पतालकै फार्मेसीमार्फत् उपलब्ध गराएर भए पनि वीर र शिक्षणमा भन्दा कम शुल्कमा प्रत्यारोपण सेवा दिने अस्पताल विकास समितिका सदस्य सचिवसमेत रहेका श्रेष्ठले बताए। 

'झन्डै साढे तीन लाख मै प्रत्यारोपण गर्न सकिन्छ,' उनले भने। यो केन्द्रले कात्तिकदेखि हेमोडाइलसिस सेवा र माघ ५ देखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको थियो। मन्त्रिपरिषद्ले २०६७ असोज ११ गते मानव अंग प्रत्यारोपण अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो। भक्तपुर अस्पताल परिसरमा एक गैरसरकारी संस्थाले बनाइदिएको भवनमा तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले पूर्वाधार नबन्दै दुई वर्षअघि नै अस्पतालको उद्घाटन गरेका थिए। 

सरकारले गत वैशाख ११ गते स्वास्थ्यसचिवको अध्यक्षतामा मानव अंग प्रत्यारोपण विकास समिति गठन गरेको थियो। सोलगतै मानव अंग प्रत्यारोपण केन्द्रमा कात्तिक २७ गतेदेखि हेमोडाइलसिस र माघ ५ गतेदेखि प्रत्यारोपण सुरु भएको थियो। हाल मिर्गौला मात्रै प्रत्यारोपण सुरु गरिए पनि पाँच वर्षभित्रमा लिभर, प्यानवि्र्कयाज र विस्तारै मुटु, फोक्सो र बोनम्यारोको प्रत्यारोपण सेवासमेत सञ्चालन गर्ने योजना रहेको कार्यकारी निर्देशन श्रेष्ठले बताए। 

यो केन्द्र दुइटा प्रत्यारोपण शल्यकक्ष, २० वटा डायलसिस मेसिन र ६ वटा पोस्टट्रान्सप्लान्ट आइसियु छ। एचआइभी, हेपाटाइटिस बी र सी संक्रमितका लागि छुट्टै मेसिनमार्फत डायलसिस सेवा उपलब्ध गराइने केन्द्रले जनाएको छ। केन्द्रमा एक प्रत्यारोपाण शल्य चिकित्सकसहित चार सर्जन, दुई मिर्गौला रोग विशेषज्ञ र सात मेडिकल अधिकृत छन्। मिर्गौला दातासम्बन्धी व्यवस्था खुकुलो भए, प्रत्यारोपण यथेष्ठ गर्न सकिने चिकित्सकहरू बताउँछन्। नेपालमा मधुमेह, उच्च रक्तचाप, दुर्घटनाजस्ता कारणले मिर्गौलाका रोगी बढिरहका छन्। 

उपयुक्त दाता भेटिए, मिर्गौला प्रत्यारोपण गर्दा जीवन सहज हुने चिकित्सक बताउँछन्। अहिलेसम्म वीर र शिक्षणमा यो सेवा भए पनि धेरै संख्यामा मानिस भारत जान बाध्य छन्। भारतमा मिर्गौला प्रत्यारोपणमा झन्डै २० लाख रुपैयाँ खर्च लाग्छ। दातासम्बन्धी प्रावधान कडा भएकाले ठूलो संख्यामा नेपाली यसरी विदेशिने गरेको डा. श्रेष्ठले बताउँछन्।नागरिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com