छोरीले गरिन बाबुको काजकिरिया

रुकुम, फागुन ५ ,

पुरुष मात्र काजकिरियामा बस्नुपर्छ भन्ने परम्परागत मान्यतालाई तोड्दै चुन्वाङ गाविस–१ गैरीगाउँमा एक महिला बुबाको काजकिरियामा बसेकी छन् । चुन्वाङ १ निवासी ८५ वर्षीय दलबहादुर बुढाको निधन भएपछि जेठी छोरी सावित्री बुढा काजकिरियामा बस्नुभएको हो ।

बाबुको शवलाई पाँच बहिनी छोरी सावित्री बुढा, विष्णु बुढा, पूर्णा बुढा, कल्पना बुढा र सपना बुढाले घरदेखि घाटसम्म बोकेर पुर्‍याएका थिए । शवलाई छोराले मात्र बोक्नुपर्छ भन्ने मान्यतालाई गलत सावित गर्न बुबाको शवलाई पाँच बहिनीले नै घाटसम्म पुर्‍याएको कल्पनाले बताउनुभयो ।

सबै विधि पुर्‍याएर १३ दिनपछि सुद्धारी गर्ने तयारी मृतक बुढाको परिवारले गरेको छ । बुढाको निधन गत माघ २४ गते भएको थियो । पछिल्लो समय जिल्लाभर छोरीले काजकिरिया गर्ने चलन बढेको छ ।

छोरा नभएका अधिकांशका छोरीले आफ्ना बुबा–आमाको काजकिरिया गर्ने चलन स्थापित गर्दै गएका छन् । यहाँ बुहारीले पनि काजकिरिया गरेका उदाहरण देखिन थालेका छन् । रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com