विभिन्न स्थानमा नेपाल बन्दको प्रभाव


 काठमाण्डौ फागुन ८,


ठाउँ ठाउँमा तोडफोड
नेकपा– माओवादीले गरेको नेपाल बन्दका कारण देशैभरिको जनजीवन प्रभावित भएको छ । बन्दकर्ता माओवादीका कार्यकर्ताले सवारी साधन चल्न दिएका छैनन् भने बजार र पसल पनि बन्द गराएका छन् ।

बिभिन्न जिल्लामा मुख्य बजार क्षेत्रमा भेला भएका नेकपा माओवादीका कार्यकर्ताले रोक लगाएपछि शिक्षण संस्था, वित्तिय संस्था, यातायात, बजार खुलेका छैनन् । प्रधान न्यायधीशको नेतृत्वमा चुनाबी सरकार बनाउन मुख्य दलहरुले गरेको सहमति र पत्रकार डेकेन्द्रराज थापा हत्याको आरोपमा दैलेखमा आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा नेकपा माओवादीले नेपाल बन्दको आह्वान गरेको हो ।

धनकुटा
धनकुटामा नेकपा–माओबादीका कार्यकर्ताहरुले ३ वटा गाडीमा तोडफोड गरेका छन् । धरानबाट धनकुटा आइरहेका ३ वटा ट्रकलाई धनकुटा नगरपालिकाको ढाट नजिकै नेकपा–माओबादीका कार्यकर्ताहरुले तोडफोड गरेको धनकुटाका डिएसपी विष्णु कार्कीले बताउनुभयो ।

मंगलबार विहान धरानबाट कुखुराको चारो लिएर आएको को १ ख २१९४ को मिनिट्रक, खाद्यन्न लिएर आएको ना ४ ख ५६९ नम्बरको ट्रक र इँटा लिएर आएको ना ३ ख ४४१७ नम्बरको ट्रक तोडफोड भएको प्रहरीले बताएको छ ।

त्यसैगरी माओबादी बन्दको कारण धनकुटामा बजार, पसल, शैक्षिक संस्था र यातायात बन्द भएका छन् । बजार बन्द गराउन माओबादी कार्यकर्ताहरु बजारमा घुमिरहेका छन् भने प्रहरी समेत बाक्लो परिचालन गरिएको छ ।

सुनसरी
बन्दका कारण सुनसरीको इटहरी, धरान, इनरुवा, दुहवीमा यातायतका साधन चल्न सकेका छैनन् । बन्द सफल पार्न बिहानैदेखि माओवादी कार्यकर्ताहरु सडकमा बसेका छन् । सुनसरीमा बजार पसल समेत बन्द भएको छ । बन्दका कारण शैक्षिक संस्था बन्द छन् भने बैङ्क बित्तीय सस्था पनि बन्द छन् । एम्वुलेन्स , पत्रकारका गाडी लगायत अत्यावश्यक सवारीका साधन भने चल्न दिने माओवादीले जनाएको छ ।

गोरखा
वन्दका कारण मंगलबार गोरखाबाट जिल्ला वाहिर चल्ने लामो तथा छोटो दुरीको र जिल्लाका ग्रामीण भेगहरुमा चल्ने कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । बन्दको अबज्ञा गरेको भन्दै प्रदर्शनकारीले मंगलबार विहान ३ वटा मोटरसाइकलको चावी खोसेका छन् । जिल्लाका सरकारी तथा निजी विद्यालयहरु र कलेजहरुमा पठनपाठन हुन सकेको छैन ।  गोरखा सदरमुकामको विभिन्न चोकहरुमा प्रहरी परिचालन भएका छन् ।

अर्घाखाँची  
अर्घाखाँचीको सन्धिखर्कमा बन्दकर्ताले ३ वटा जिप र ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएका छन् । सडकमा सवारी साधन गुडेका छैन्न भने बजार पसल, शिक्षण संस्था, कलकारखाना पनि  ठप्प छन् । बन्दकर्ताहरु चोक चोकमा जम्मा भएर बन्द गराउदै हिडेका  छन् । प्रेस र सुरक्षाकर्मीका सवारी साधनमात्र चलेका छन् । नेकपा माओवादीका कार्यकर्ताले मंगलबार दिनभरि जिल्लाका विभिन्न मागमा माइकिङ गरेर बन्द सफल बनाउन आग्रह गरेका थिए ।

कपिलवस्तु
कपिलबस्तु सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, जितपुर, पकडी लगायत जिल्लाका शैक्षिक संस्था, यातायात, कलकारखाना, प्रभावित बनेको छ । वन्दकै कारण कृष्णनगर भन्सार क्षेत्र समेत प्रभावित भएको छ । । वन्दका कारण कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । सरकारी कार्यालयहरुमा पनि वन्दका कारण सेवाग्राहीहरुको न्यून उपस्थिति रहेको छ । वन्दकर्ताहरुले कपिलवस्तु बहुमुखी क्याम्पसमा सञ्चालित स्नातक तहको परीक्षालाई भने कुनै असर पारेका छैनन् ।

इलाम
इलाममा लामो तथा छोटो दूरीका कुनै पनि गाडी सञ्चालन नहुँदा यात्रुलाई समस्या परेको छ । वजार र बिद्यालय समेत वन्द छन् । मोटरसाइकल भने चलेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । (स्रोत-नेपालब्रिटेन)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com