माघ २०,
'भिन्नै भाषा, शैली, प्रस्तुति र भाव वहन गर्ने तरिकाका कारण अलग विधाको रूपमा कवितालाई हेरिने गरिएको छ । मूल रूपमा मानिसको भावसँग यसले खेल्ने गर्छ । कविताको लोकप्रियता वा अलोकप्रियता कविमा ज्यादा निर्भर हुने गर्छ'- यो निष्कर्ष शनिबार विराटनगरमा सम्पन्न 'कविताको शक्ति र सीमा' विषयक बहसको हो ।
साझा प्रकाशनले पूर्वाञ्चलमा पहिलो पटक आयोजना गरेको बृहद् पुस्तक प्रदर्शनी तथा कला साहित्य मेलाको नवौं दिन साझा मञ्चको दोस्रो सत्रमा कविताका विषयमा दुई घन्टा बहस चल्यो । साहित्य संचार प्रतिष्ठान इटहरीले गरेको कार्यक्रम कवि मनु मञ्जिलको संयोजनमा भएको थियो, बहसमा कवि ज्योति जंगल, देवान किराती, लीला अनमोल र विवश पोखरेल थिए ।
बहसमा कविता के हो ? यो किन अलोकपि्रय हुन्छन् ? समाजले कवि र कवितालाई किन अर्कै नजरले हेर्छ ? जस्ता चोटिला प्रश्नको जवाफ खोज्ने प्रयास भएको थियो । कवि पोखरेलले पछिल्लो समय कवि र पाठकबीचको दूरी घट्दै गएको बताउँदै लक्ष्मीप्रसाद देवकोटाको 'मुना मदन', गोपालप्रसाद रिमालको 'आमाको सपना' देखि कृष्णभूषण बलको 'भोलि बास्ने बिहान' सम्मका कविता कालजयी रहेको दाबी गरे ।
दशकौंसम्म भूपी, देवकोटा, वैरागी काइँला, मोहन कोइलाहरूको कविता झन् लोकपि्रय हँुदै जानुको पछाडि कवि किरातीले त्यतिबेलाको संकुचित परिधिभित्र युगको आवाज र भूगोलको यथार्थलाई कविताले बोकेकाले कालजयी भएको दाबी गरे । कविता र साहित्यलाई नै समाजका एकथरीले अनुत्पादक क्षेत्र भनेको छन् नि ? भन्ने सवालमा कवि अनमोलले 'साहित्य नबुझ्नेले त्यस्तो भन्ने' गरेको आरोप नै लाइन् ।
कवि जंगलले 'कविताभित्र पसेपछि मात्र कविता बुझिने' बताइन् । उनले 'कविताको भावभित्र छिरेपछि मात्र यो केही हो' भन्ने लाग्ने बताइन् । समाजले कवितालाई अनुत्पादक भन्न नसक्नेतर्फ उनको थियो । वेद, गीता लगायत सदियौंदेखि पढिँदै आएका पुस्तक पनि कविता नै भएको बताउँदै जंगलले भनिन्, 'हरेक मानिसमा कवित्व हुन्छ ।'
शनिबारै गजल वाचन पनि राखिएको गरियो । बहर र छन्दमा मात्र वाचन गरिएको कार्यक्रम मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठानले गरेको थियो । गण्डकी पुत्रले संयोजन गरेको कार्यक्रम बीएफएम र पूर्वाञ्चल एफएमले प्रत्यक्ष प्रसारण गरेको थियो । प्रभाती किरण, सुरेश सुवेदी, रूपक अलंकार, जय गौडेल, शैलेन्द्र अधिकारी, केशव भट्टराई, जेबी थुलुङ, टीका आत्रेय, मधु पोखरेल, हेमन्ता क्षितिज, सीमा आभास र घनश्याम पथिकले गजल सुनाएका थिए ।
पहिलो सत्रमा १८ विद्यालयको सहभागितामा पठन संस्कृतिमाथि हाजिरीजवाफ समेत भएको मेलाका मूल संयोजक सुमन पोखरेल बताए । ४० हजारको पुस्तक एकैजनाले पुस्तक मेलाको नवौं दिन भोजपुर घोडेटारका शिक्षक बुद्धिमान् राईले सञ्चयकोषमा रहेको ४० हजार रुपैयाँ झिकेर पुस्तक किनेका छन् । सगरमाथा उच्च मावि घोडेटारका स्रोतव्यक्ति समेत रहेका उनले निजी खर्चमा १८ विद्यालयका शिक्षकलाई पुस्तक बाँड्ने बताए । पहाडबाट पटक-पटक तराई र्झन नपाइने भएकाले एकै पटक किनेको उनले सुनाए । स्रोत-पुस्तक संसार;