काठमाडौँ उपत्यकामा२४ घण्टाभित्र करिब ९ मिलिमिटर वर्षा
काठमाडौँ, फागुन ५ ,
मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकामा गएको २४ घण्टाभित्र करिब ९ मिलिमिटर वर्षा भएको जनाएको छ।
महाशाखाका अनुसार डडेल्धुरा र दिपायलमा २०/२० मिलिमिटर वर्षा भएको र ओखलढुङ्गामा सबैभन्दा कम १ मिलिमिटर वर्षा भएको छ।मङ्सिर १५ देखि फागुन १५ सम्म रहने जाडो मौसममा काठमाडौँ उपत्यकामा औसतमा १८ मिलिमिटर वर्षा हुनुलाई सामान्य मानिन्छ।
आजको वर्षा तीन महिनाको अवधिमा काठमाडौँ उपत्यकामा भएको तेस्रो वर्षा हो। वर्षाका कारण काठमाडौँको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसमा झरेको छ। केही दिनअघि यो तापक्रम २७ डिग्रीको हाराहारीमा रहेको थियो।
महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले पश्चिमी वायुको प्रभाव भोलिसम्म जारी रहने र काठमाडौँ उपत्यकामा बदली भई क्षणिक वर्षा हुन सक्ने बताए । सोमबारदेखि घाम लाग्ने महाशाखाको अनुमान छ।
रसुवा, जुम्ला, मुगु, ताप्लेजुङ्गलगायतका उच्च पहाडी भेगमा हिमपात भएको जानकारी पनि उनले दिए । रासस